सोना र केपी सिमेन्टको बदमासी


सोनाको धुवाँ, धूलो र लेदो पानीले सर्वसाधारण बिरामी, केपीको विक्रीवितरणमा रोक

प्रशान्त वली, काठमाडौं
दाङको तुलसीपुर उपमहा नगरपालिका–१८ दुधरासमा स्थापना भएको सोना सिमेन्ट उद्योगका कारण स्थानीयहरू हैरान भएका छन्। उद्योगबाट निस्कने धूलो, धुवाँ र उद्योगको कच्चा पदार्थ ल्याउने सडक खन्दा निस्किएको माटोको कारण पानी शुद्धीकरण ट्याङ्कीमा समस्या भएपछि पानीका कारण प्रभावितहरू बिरामी भइरहेका छन्।

निपेश टायल, सोना सिमेन्टका सञ्चालक

दाङ जिल्लाको तुलसीपुर उपमहा नगरपालिका–१८ दुधरासमा स्थापना भएको सोना सिमेन्ट उद्योगका कारण स्थानीयहरू धुवाँ र धूलोको सिकार हुनुपरेको छ भने पानीका मुहानहरू फुट्दा धमिलो पानी पिउन बाध्य हुनुपरेको छ।

नजिकै घनाबस्ती र सामुदायिक वनको बीचभागमा २०६५ सालमा स्थापना भएको उद्योगका कारण यहाँका नागरिक निकै अप्ठ्यारोमा परेका छन्। उद्योग स्थापना भएपछि स्थानीय र सिमेन्ट उद्योगबीच पटक–पटक सहमति भए पनि सो उद्योगले स्थानीय बासिन्दासँग भएको सहमतिलाई बेवास्ता गर्दै आएको छ।

उद्योगले अत्यधिक मात्रामा धूलो र धुवाँ फ्याँक्न थालेपछि त्यहाँका जनप्रतिनिधि र उद्योग प्रशासनबीच तत्काल धूलो धुवाँ नियन्त्रण गर्ने मेसिन जडान गर्ने सहमति भएको थियो।


उद्योगले धूलो नियन्त्रण गर्न नसकेको भन्दै स्थानीयले उद्योगविरुद्ध उजुरी दर्ता गराएका थिए। उद्योगलाई धूलो न्यूनीकरणका लागि पटक–पटक आग्रह गरे पनि उद्योग प्रशासनले आफूहरूको माग बेवास्ता गरेपछि जिल्ला प्रशासनमा निवेदन दिएको स्थानीय धनबहादुर बस्नेतले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उद्योगमा जडान गरिएको ब्याग फिल्टर च्यातिएपछि स्थानीयहरू दिन प्रतिदिन धूलोको शिकार हुनुपरिरहेको छ। करिब १ हजार ८ सयवटा ब्याग फिल्टर सो उद्योगमा जडान गरिएको थियो। ती जडान गरिएका ब्याग फिल्टरहरू ठाउँ–ठाउँबाट च्यातिएपछि धूलोले नजिकका घरपरिवारलाई निकै प्रभावित पार्दै आएको छ।

यसले स्थानीय बालबालिका तथा वृद्धवृद्धालाई निकै ठूलो समस्या सृजना भइरहेको स्थानीय पीडितहरूले बताएका छन्। पटक–पटक अत्यधिक धूलो बढ्दै गएको भन्दै उद्योग प्रशासनसँग गुनासो गरे पनि प्रशासनले पटक्कै चासो नदिएको स्थानीयको आरोप छ।

उद्योगले पटक–पटक विभिन्न सार्वजनिक सुनुवाइमा आफूहरूलाई आश्वासन दिए पनि आश्वासन बोलीमा मात्रै सीमित गरेको भन्दै अब माग पूरा नभए उद्योग नै बन्द गरिदिने अवस्थामा आफूहरू पुगेको स्थानीयले गुनासो गर्दै आएका छन्।

उजुरी पत्रमा उद्योगले धूलो–धुवाँ बढाएको र नियन्त्रणका लागि पहलकदमी नचालेको भन्दै यस विषयमा गम्भीर हुन उद्योग प्रशासनलाई आग्रह गरिएको विषय उल्लेख छ। छलफलबाट ७ दिनभित्र धूलो नियन्त्रण गर्ने सहमति भएको थियो। सहमतिअनुरूप उद्योगलाई अहिले सर्ट डाउन गरेर धूलो तथा धुवाँ नियन्त्रणका लागि आवश्यक पर्ने मेसिन मर्मत गर्ने कार्य भइरहेको स्थानीय बस्नेतले बताउनुभयो। साढे ५ अर्ब लगानीमा स्थापना भएको उद्योगले १ हजार ५० मेट्रिक टन उत्पादन गर्ने क्षमता भए तापनि हाल मागअनुसार ४ सय ५० मेट्रिक टन उत्पादन गर्दै आएको छ।

उद्योगको कच्चा पदार्थ ल्याउने सडक खन्दा निस्किएको माटोका कारण बेलझुण्डी खानेपानी सरसफाइ उपभोक्ता तथा सरसफाइ संस्थाले १ करोड ५० लाख रुपियाँमा निर्माण गरेको पानी शुद्धीकरण ट्याङ्कीमा समस्या देखिएको छ। लेदो माटो सीधै ट्याङ्कीमा आउँदा समस्या परेको खानेपानीका उपभोक्ता गोकर्ण पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो– ‘लेदो पानी खाएकै कारण म बिरामी हुनुपर्यो। ज्वरो र रुघाखोकी लागेर करीब ५ हजार रुपियाँ खर्च भयो। उद्योगले निकै लापरबाही गरिरहेको छ। संस्थाको सडक खन्ने क्रममा रिचे र गोदेको मुहानमा प्रत्यक्षरूपमा असर परेको देखिएको छ।’

सडक डिभिजन कार्यालय, खानेपानी डिभिजन कार्यालय, उद्योग प्रशासन र खानेपानी संस्थाबीच स्वच्छ पानी वितरण गर्नका लागि छलफल भए तापनि खासै उपलब्धिमूलक हुन सकेको देखिँदैन। सडक खन्ने क्रममा उद्योगले वातावरणीय प्रभाव मूल्याङ्कनमा खानेपानीका मुहानको बारेमा स्पष्ट नतोकिएको हुँदा समस्या भएको बताइएको छ। उद्योग प्रशासनले उद्योग बन्द नभएको तर क्लीङ्कर मेसिन बन्द गरेर मर्मत कार्य भइरहेको उद्योगका सञ्चालक निपेश टायलले बताउनुभयो। उहाँले भन्नुभयो– ‘ब्याग फिल्टर नयाँ जडान गर्ने भन्ने हुँदैन। मर्मत गर्ने हो। अहिले मर्मत कार्य भइरहेको छ।’

यस्तै उद्योग विभागले केही समयअघि सो उद्योगको अनुगमन गरेको थियो। अनुगमनबाट के निष्कर्ष निकाल्नुभयो भन्ने प्रश्नमा उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले भन्नुभयो– ‘स्थानीयले रातिको समयमा अलि बढी समस्या हुन्छ भन्ने गुनासो गर्नुभयो। हामीले औद्योगिक क्षेत्रभित्र धूलो धुवाँ नउड्ने मेटालिक रोड बनाउन निर्देशन दियौं।’

स्मरणरहोस् स्थानीय बासिन्दाले आपत्ति जनाएपछि १६ वर्षअघि काठमाडौंको चोभारस्थित हिमाल सिमेन्ट उद्योग बन्द गरिएको थियो। यस्तै, गुणस्तर तथा नाप तौल विभागले अनुगमनका क्रममा धादिङको नौबिसेमा सञ्चालनमा रहेको केपी सिमेन्ट उद्योगको सिमेन्ट गुणस्तरहीन देखिएपछि गत असारदेखि विक्रीवितरणमा रोक लगाएको छ। उद्योगबाट २८ दिनको अन्तरमा तीन पटकको क्युबमा रहेको सिमेन्टको नमुना परीक्षण गर्दा गुणस्तरहीन देखिएपछि विक्रीवितरणमा रोक लगाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘उत्पादन हुँदै गर्दा क्युबमा रहेको नमुना परीक्षण फेल भएपछि उत्पादनमा रोक लगायौं। कम्तीमा पनि उद्योगहरू न्यूनतम मापदण्डभित्र रहेर सञ्चालन हुनुपर्ने हो।’ २०७२ सालको भूकम्पपछि सर्वसाधारण जनता कम गुणस्तरका सिमेन्ट प्रयोग नगर्न सचेत हुनुपर्ने अवस्था रहेको छ।