दुवै चुनाव एकैपटक मंसिर १० मा


 

सुनील महर्जन, काठमाडौं
प्रदेशसभा र संघीय संसद्को चुनाव आगामी मंसिर १० गते आइतबार हुने भएको छ। निर्वाचन आयोगसँगको लगातारको परामर्शपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

यसअघि आयोगले प्रदेशसभा र संसदीय चुनाव एकै दिन गरे पनि हिमाली र उच्चपहाडी जिल्ला र अन्य जिल्लामा गरी दुई चरणमा गर्ने प्रस्ताव राखेको थियो। तर सरकारले संसद् र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको थियो। आयोगले दुई चरणमा चुनाव गर्ने गरी मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो। तर, प्रमुख दलहरूको सुझावमा सरकारले एकै चरणमा चुनाव गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भन्नुभयो– ‘एक चरण, दुई चरण भनिएको छैन। मंसिर १० गते दुवै तहको चुनाव गर्ने भन्ने निर्णय भएको छ।’

सो निर्वाचनबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ र प्रदेशको प्रत्यक्षतर्फ ३ सय ३० जना सदस्य चयन हुनेछन्। त्यसै गरी प्रतिनिधिसभाको समानुपातिकतर्फ १ सय १० सदस्य र प्रदेशतर्फको समानुपातिकका लागि २ सय २० जना सदस्य निर्वाचित गर्नेछ। मिति घोषणासँगै आयोगले निर्वाचनसम्बन्धी कार्यतालिकालाई अन्तिम रूप दिने निर्वाचन आयुक्त नरेन्द्र दाहालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। आयोगले तयार गरेको कार्यतालिकालाई मध्यनजर गरेर सरकारले प्रदेश र प्रतिनिधिसभाको मिति घोषणा गरेको छ। ‘अब कार्यतालिकामा केही हेरफेर गरेर अन्तिम रूप दिने छौं।’ –उहाँले भन्नुभयो।

निर्वाचनको मिति घोषणा भइसकेपछि अब मतपत्रका लागि कागज खोज्ने, मसी खोज्नेलगायत मतदानका लागि सामग्री जुटाउने काममा लाग्ने पनि आयुक्त दाहालले बताउनुभयो। ‘अहिलेका लागि सबैभन्दा आवश्यक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी कानुन हो। ती कानुन चाँडोभन्दा चाँडो उपलब्ध गराउन पनि सरकारसमक्ष माग गर्दछौं।’

–आयुक्त दाहालले भन्नुभयो।आयोगले क्षेत्र निर्धारणसम्बन्धी प्रतिवेदन पनि चाँडो बुझाउन सरकारसमक्ष माग गरेको छ।

आयोगले शुरूमा प्रदेशको निर्वाचन असोज मसान्त र प्रतिनिधिसभाको मंसिर पहिलो साता गर्ने कार्यतालिका बनाएको थियो। तर निर्वाचनसम्बन्धी कानुन नबनेको र क्षेत्र निर्धारण समितिको प्रतिवेदन तयार नभएकाले मंसिर १० गते एकै दिन प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने सरकारले निर्णय गरेको हो। संविधानमा २०७४ माघ ७ गतेभित्र प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्ने उल्लेख गरिएको छ। समयको चाप बढ्दै गएकाले पनि सरकारले दुईवटै निर्वाचन एकै दिन गर्ने निर्णय गरेको हो। एकै दिन प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदा एक जना मतदाताले दुईवटा मतपत्रमा चारपटक स्वस्तिक चिह्न छाप लगाउनुपर्ने हुन्छ। आयोगले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई खण्ड एकै मतपत्रमा, प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फ दुई खण्ड एकै मतपत्रमा छाप्ने बताइएको छ।

आयोगले चाँडै नै प्रदेश र प्रतिनिधिसभाको भाग लिन चाहने राजनीतिक दललाई आयोगमा दर्ता गर्ने आह्वान गर्ने आयोगले जनाएको छ। सोहीअनुरूप दर्ता भएका दलहरूको चुनाव चिह्नको सूची राखेर आयोगले समानुपातिकतर्फको मतपत्र छाप्ने र पछि मात्र प्रत्यक्षतर्फको मतपत्र छाप्ने आयोगले जनाएको छ।