म्याग्दीबाट वार्षिक ६ हजार केजी जडिबुटी निकासी, साढे दुईलाख राजश्व सङ्कलन


प्रताप बानियाँ, म्याग्दी । विभिन्न किसिमका स्वास्थ्यबद्र्धक जडिबुटीहरुको सम्भावना बोकेको पहाडी जिल्ला म्याग्दीबाट एक वर्षको अवधिमा झण्डै ६ हजार केजी जडिबुटी निकासी भएको छ । गएको आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न १६ प्रकारका गरी कुल ५ हजार ९८४ दशमलब ७ केजी जडिबुटी निकासी गरिएको हो । गतभन्दा अघिल्लो आर्थिक वर्षमा १५ प्रकारका जडिबुटीको निकासी भएको थियो ।

जिल्लामा रहेको निजी तथा सामुदायिक वनबाट शक्तिबद्र्धक एवं महत्वपूर्ण जडिबुटीहरुको निकासी भएको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ । गत वर्षमा गैरकाष्ठ वनपैदावर अन्तर्गत १६ प्रकारका जडिबुटीहरु निकासी भएको निमित्त जिल्ला वन अधिकृत राजकुमार ठाकुरले बताउनुभयो ।

 

गैरकाष्ठ वन पैदावारमध्ये सबैभन्दा धेरै विषजरा १ हजार ५ सय केजी, अल्लो १ हजार २ सय केजी, भीरमह ६४० र नागवली पाउडर ६ सयकेजी निकासी भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पदमचाल ४५० केजी, सतुवा ४४९, सुगन्धवाल ३००, साधारण च्याउ २८६, नीरमसी २१७, कुट्की २००, सिलाजीत ५०, मैन ३०, अतिस २२, वन लहसुन २०, लौठसल्ला १६ र यार्सागुम्बा ३ दशमलब ७ केजी निकासी भएको छ ।

 

जिल्ला वन कार्यालयले दिएको जानकारी अनुसार सबैभन्दा धेरै १५ सयकेजी विषजरा नामक जडिबुटी र सबभन्दा कम ३.७ केजी मात्रै महत्वपूर्ण मानिने यार्सागुम्बा निकासी भएको छ । सस्तो मुल्यमा पाइने विषजरा जडिबुटी हिमाली भेगमा मात्रै पाइन्छ । त्यसैगरी १२ सयकेजी अल्लोपुवा निकासी भएको छ भने यसको प्रयोगबाट विभिन्न किसिमका कपडाहरु बनाउने गरिन्छ ।

 

जडिबुटीहरुमध्ये सबैभन्दा बढी महङ्गो र बहुचर्चित जडीबुटी यार्सागुम्बा गतवर्ष पनि न्युन मात्रामा सङ्कलन भएको वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यार्सागुम्बा सङ्कलनका लागि ५ जनाले पुर्जी लिएको र उनीहरुले जम्मा ३ केजी ७ सय ग्राम यार्सागुम्बा सङ्कलन गरेको निमित्त जिल्ला वन अधिकृत ठाकुरको भनाई छ । जडिबुटी सङ्कलनका लागि न्युनतम पाँच रुपैयाँदेखि २५ हजारसम्म राजश्व जिल्ला वन कार्यालयलाई तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । गतवर्ष निकासी भएका जडिबुटीहरुबाट कुल दुईलाख ५१ हजार ९०५ रुपैयाँ राजश्व सङ्कलन भएको वन कार्यालयको लेखा शाखाले जनाएको छ ।

आधा जीव र आधा वनस्पतिको रुपमा पाइने शक्तिबद्र्धक जडिबुटी यार्सागुम्बा गएको वर्षको हिउँदको समयमा पानी नपर्नुलगायतका कारणले गर्दा वनजङ्गलमा पर्याप्त मात्रामा नपाइएको बताइएको छ । यार्सागुम्बा सङ्कलनका लागि प्रतिकेजी २५ हजार रुपैयाँ राजश्व तिर्नुपर्ने व्यवस्था रहेको छ । जिल्लाको विकट क्षेत्र गूर्जामा अमलवेद, सतुवा, वनलसुन जस्ता जडिबुटीहरुको भण्डार रहेको छ ।

जिल्लामै मुदी र गूर्जा यार्सागुम्बा धेरै पाइने क्षेत्रका रुपमा चिनिन्छन् । राम्रोसँगै खोजतलास गर्ने हो भने करिब २० केजीसम्म यार्सा मात्रै सङ्कलन गर्न सकिने पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–१ गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।