विपन्नलाई सीतारामको किरिया खर्च सहयोग

0
Shares

 

तराईमा बाढीपीडितको राहात र उद्धारमा सक्रिय भएका सीताराम कट्टेल ‘धुर्मुस’ ले दुई विपन्न परिवारलाई किरिया खर्च सहयोग गरेका छन्। बाढीका कारण आफन्त गुमाएका मोरङका दुई विपन्न परिवारलाई उनले २५ हजारका दरले किरिया खर्च उपलब्ध गराएका हुन्।

बाढीले विराटनगर महानगरपालिका १९, घिनाघाट दलित बस्ती पूरै बगाउँदा उरा ऋषिदेवले आफ्नी आमा गुमाएका थिए। पाल टाँगेर बसिरहेका उनीसँग आमाको किरिया गर्ने खर्चसमेत नभएपछि सीतारामले धुर्मुस–सुन्तली फाउन्डेसनका तर्फबाट बस्तीमै पुगेर उनलाई २५ हजार रुपियाँ प्रदान गरेका हुन्। सो बस्तीका अधिकांश घर खोलाले बगाएपछि खान र बस्नसमेत निकै अभाव रहेको फाउन्डेसनका अध्यक्ष सीतारामले जानकारी दिएका छन्। यस्तै, मोरङ बुढीगंगा गाउँपालिकाका उमेश नेपालको किरिया गर्नका लागि पनि फाउन्डेसनले उनको परिवारलाई २५ हजार रुपियाँ किरिया खर्च उपलब्ध गराएको छ। पत्रिका बेच्ने काम गर्दै आएका छोरो नै गुमाएको नेपाल परिवारलाई उनको घरमै गएर उक्त रकम प्रदान गरिएको हो।
बाढी पश्चात् तराईका थुप्रै बालबालिका, वृद्ध र महिला बिरामी छन्। उनीहरुको स्वास्थ्य उपचारका लागि मोरङमा फाउन्डेसनले विराटनगर जेसिस र अन्नपूर्ण मिडिया नेटवर्कसँगको सहकार्यमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको फाउन्डेसनका पोजेक्ट संयोजक अर्जुन न्यौपानेले बताएका छन्। यस्तै, फाउन्डेसनका अध्यक्ष कट्टेल विराटनगर विमानस्थलको हिलो सफा गर्न खटिएको नेपाली सेनालाई सघाउन र हौसला दिनसमेत पुगेका थिए। बाढीका कारण तराईले राहत र उद्धारको ठूलो आवश्यकता महसुस गरिरहेको समयमा धुर्मुस तराई झरेका हुन्। भूकम्पपछि एकीकृत बस्ती निर्माणमा सक्रिय फाउन्डेसन बाढीपीडितलाई राहत वितरणमा पनि सक्रिय भएपछि सहयोगी मनको सहयोग आउने क्रम पनि बढेको छ।