भिड्न थाले सेनाविनाका सेनापति


 

लेखनाथ अधिकारी, काठमाडौं
सन् १९९० दशकको अन्त्यमा विश्वभरि लोकतन्त्रको लहर चलेको बेलामा सानो दक्षिण एसियाली मुलुक भुटानमा भने जातीय सफायाको एउटा चक्रव्युह रचियो। नेपालका तत्कालीन शासकको गल्तीले झन्डै १ लाख भुटानी शरणार्थीको पीडा खेप्न नेपाल लामो समयसम्म बाध्य भयो। त्यसको पीडा केही कम भए पनि अझै पूर्ण रूपमा निको भइसकेको छैन।

त्यति बेला झन्डै ४० प्रतिशतको संख्यामा रहेका नेपाली भाषी भुटानी अर्थात् स्थानीय भाषामा ल्होत्साम्पा भनिनेहरूलाई त्यहाँबाट लखेट्ने गरी भुटानले नयाँ नीति ल्यायो– स्थानीय जोङ्खा भाषा बोल्नुपर्ने र बख्खु लाउनुपर्नेलगायतका। सन् १८८५ मा तत्कालीन भुटानी राजा उगेन वाङचुकले निर्माण श्रमिकका रूपमा त्यति बेला बोलाएअनुसार केही भारतीय र पूर्वी नेपालका केही नेपाली त्यता गएका थिए। उनीहरू बहुमतमा पुग्न लागे भन्ने डरले १९९० दशकको अन्त्यमा उनीहरूप्रति कडा नीति लिइएपछि जातीय सफाया भाग–१ शुरू भयो र नेपाल यति लामो समयसम्म अल्मलिनुपर्यो। लामो कसरतपछि सन् २००७ बाट नेपालमा रहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा लग्ने बारेमा नेपाल सरकार, यूएनएचसीआर र दातृ निकायबीच सहमति भएको थियो। त्यसपछि विभिन्न चरणमा गरेर ८ वटा मुलुकमा भुटानी शरणार्थी गएका छन्।

भुटानी नेता टेकनाथ रिजालका अनुसार पछिल्लोपटक भारतको दार्जिलिङ र सिक्किममा भएको आन्दोलनको नकारात्मक प्रभाव भुटानमा पनि पर्न थालेको छ। उनका अनुसार भुटान सरकारले अहिले त्यहाँ बाँकी रहेका नेपालीलाई पुनः पेल्न थालेको छ। तीमध्ये केही छिटपुट रूपमा अहिले भारत हुँदै नेपाल नै आइसकेका छन्। रिजालले नेपाल समाचारपत्रसँगको कुराकानीमा भने– ‘केही मकहाँ आएर रुन्छन्। मैले के गर्ने ? केही गर्न सक्ने अवस्था छैन।’ उनका अनुसार उताबाट त्यसरी पेलिएर आएकाहरू शिविरमा बाँकी रहेका भुटानी शरणार्थीसँग केही मिसिएका छन् भने केही नेपालमा रहेका आफन्तकोमा पाहुना लागेर बसेका छन्।

यस्तै हो भने यो क्रम बढ्दै जाने उनी बताउँछन्। उनका अनुसार करिब ८० हजार नेपाली भाषी भुटानी अहिले भुटानभित्र छन्। उनीहरूलाई अहिले भुटान सरकारले अनावश्यक दुःख दिन थालेको छ। र, अति नै पेलाइमा परेकाहरू अहिले नेपाल छिर्न थालेका छन्। भारत हुँदै नेपाल आएका ती भुटानीको नेपालीसँग अनुहार मिल्ने भएकाले नेपालको प्रशासनले पनि खासै वास्ता गरेको पाइएको छैन। नेपाल आइसकेका भुटानीले भनेअनुसार भुटानको प्रशासनले अहिले भन्न थालेको छ– ‘तिमीहरूका आफन्त त अहिले युरोप, अमेरिका पुगेका छन्। तिमीहरू गयौ भने त्यही मौका पाउन सक्छौ।’
अर्थात् भुटान अहिले फेरि जातीय सफाया भाग –२ को मञ्चन गर्ने तयारीमा लागेको छ। यसअघि लखेटिएकाहरू सधैंका लागि लखेटिने अवस्था सिर्जना भएकाले अहिले त्यहाँको सरकार उत्साहित हुन थालेको भुटानी नेताहरूको अनुमान रहेको छ।

पटक–पटकको नेपाल–भुटान मन्त्रीस्तरीय वार्तापछि सन् २००७ मा अन्तर्राष्ट्रिय समुदायको पहलमा शरणार्थीलाई तेस्रो मुलुकमा लगिएको थियो। नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएचसीआर) का अनुसार ८ वटा देशमा गरेर अहिलेसम्म १ लाख १० हजार शरणार्थी त्यसतर्फ गइसकेका छन्। यूएनएचसीआरको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा ९३ हजार ३ सय २५, अस्टेलियामा ६ हजार ६ सय १, न्युजिल्यान्डमा १ हजार ८४ जना, क्यानडामा ६ हजार ८ सय २४ जना, नर्वेमा ५ सय ७० जना, डेनमार्कमा ८ सय ७५, बेलायतमा ३ सय ५८ र नेदरल्यान्डस्मा ३ सय २९ शरणार्थी गएका छन्। पूर्वी नेपालमा यसअघि रहेका ७ वटा शरणार्थी शिविरमध्ये ५ वटा अहिले बन्द भइसकेका छन्। अब दुई शिविर शनिश्चरे र बेलडाँगीमा शरणार्थी बस्दै आएका छन्। अहिले जम्मा ९ हजार ३ सय ९१ जना बाँकी रहेका छन्।

बाँकी रहेकामध्ये केही विभिन्न घटनाक्रममा संलग्नता र नेपाल तथा भारतमा विवाह भएका कारणले तेस्रो देशमा जान नपाई यतै अल्झिएर बसेका छन्। यसअघि चर्चामा रहेका र स्वदेश फिर्तिको आन्दोलनमा रहेका भुटानी नेताहरू अहिले विदेशतर्फ लागिसकेका छन्। बाँकी रहेका एकाधबीच पनि सम्बन्ध निकै तीतो छ। कतिपयबीच त बोलचाल पनि छैन। यस हिसाबले शरणार्थी आन्दोलन पूर्णरूपमा छिन्नभिन्न अवस्थामा पुगेको छ। भुटानमा अहिलेका राजाका पिता जिग्मे सिंगे वाङ्चुकको पालामा उनको सल्लाहकार भइसकेका टेकनाथ रिजाल अहिले नेपालमा रहे पनि तेस्रो देशमा नजाने भन्ने उनको अभियानमा उनकै छोराहरूले समेत साथ दिएनन्। उनका तीन छोरा अहिले क्यानडामा रहेका छन्।

छोराहरूसँग समेत उनको राम्रो सम्बन्ध छैन। मरिचमानसिंह श्रेष्ठ नेपालमा प्रधानमन्त्री भएका बेलामा उनलाई भुटान सरकारको मागअनुसार नेपालमा पक्रेर भुटानलाई बुझाइएको थियो। केही वर्ष थुनामा परेका उनी छुट्दा मात्रै पनि नेपालका सञ्चारमाध्यममा ब्यानर समाचार बन्ने अवस्था थियो। तर, अहिले उनी झापामा गुमनाम जीवन बिताइरहेका छन्। सन् १९९० को दशकमा भुटानमा आन्दोलन गरेर चर्चामा आएको भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल पनि नेपालमै छन्। पौडेल र रिजालबीच बोलचाल बन्द भएको वर्षौं भइसकेको छ। पौडेलले नेपाल समाचारपत्रसँगको कुराकानीमा रिजाललाई आरोप लगाउँदै भने– ‘रिजालको पारा देख्दा उनी भुटान सरकारको जासुसको रूपमा काम गरिरहेको जस्तो लाग्छ। उनी यतिसम्म गर्छन् कि कुनै बाटोमा आइरहेका छन् भने हामीलाई देख्यो भने फरक्कै फर्केर आएकै बाटोतिर लाग्छन्। कुनै सम्पर्क नै नभएको ३ वर्ष जति भयो।’

उनले रिजाल तीन ‘स’ को पछि लागेको आरोप लगाए। उनकै भाषामा भन्दा ती तीन ‘स’ सुरा, सुन्दरी र सौगात हुन्। पौडेलले भने– ‘नेपाल सरकारले दिएको ३६ लाख रुपियाँ शरणार्थी आन्दोलनका लागि हो। तर, उनले एक पैसा पनि खर्च नगरी सबै रकम आफैंले राखेर आन्दोलनलाई धोका दिए। आन्दोलनको स्रोत सबै ओगटेर बस्ने अनि कामचाहिँ केही पनि नगरेर उनले भुटानी शासकलाई नै मद्दत गरिरहेका छन्।’

यसबारेमा रिजालले भने– ‘म के सुरा–सुन्दरीमा लाग्नु रुझेको ढुकुरजस्तो भएर बसेको छु। पौडेल अमेरिका जानका लागि भएको सरसामान बेचविखन गरेर खुट्टा उचालेर बसेका थिए। तर, सन् १९९० तिर भुटानमा उनको आतंकपूर्ण गतिविधिमा संलग्नताका कारण अमेरिकाले भिसा दिन मानेनछ। त्यही भएर मसँग निहुँ खोज्न थालेका हुन्।’

नेपालमा रहेका यी दुई नेताहरूको गालीगलौजको शैली हेर्दा यी अब मिल्ने सम्भावना देखिएको छैन। भुटानी शासकलाई सघाएको भन्ने आरोपको खण्डन गर्दै रिजालले भने– ‘त्यो गलत कुरा हो। म यसरी दुःख पाएर बसेको छु। त्यस्तो हो भने किन यसरी दुःख पाउँथे ?’

उनले नेपाल सरकारले दिएको सहयोग दुरूपयोग भएको भन्ने आरोपका सन्दर्भ कोट्याउँदा भने– ‘तिमीलाई गोप्यरूपमा केही सहयोग गर्छौं। बाहिर नभन भनेर त्यतिबेला गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) ले केही लाख रुपियाँ दिनुभएको हो। किनकि अरूले त यूएनएचसीआरबाट सबै व्यवस्था भएको छ। मेरो त त्यो व्यवस्था पनि छैन। शिविरभन्दा बाहिर नै बसिरहेको छु। मलाई नै बस्नका लागि सहयोग होस् भनेर उहाँले दिनुभएको हो। मैले त्यो रकम यूएनएचसीआरको सहयोगमा बसिरहेका अरूलाई दिन जरुरी नै होइन। बेकारका कुरा गर्छन्।’

भुटानी नेताहरू आफ्ना कार्यकर्ता सबै विदेश गएका कारण सेनाबिनाका सेनापति जस्ता भएका छन्। बाँकी रहेका दुई शीर्ष नेताबीचको यो काटोछिनोले गर्दा भुटानी आन्दोलन लगभग समाप्त नै भएको छ। बाँकी रहेका केही भुटानी शरणार्थीलाई नेपालले नै राख्नुपर्ने पनि विगतमा कतिपय दातृ निकायले आग्रह गरेको भए पनि नेपालले त्यो निर्णय गरेको छैन। बाँकी रहेकाहरूलाई आगामी डिसेम्बर महिनाबाट यूएनएचसीआरले सहयोग नगर्ने र त्यसपछि के गर्ने होला भनेर अहिले बाँकी रहेका शरणार्थीबीच चर्चा परिचर्चा र आतेसको अवस्था रहेको छ। विभिन्न कारणले गर्दा तेस्रो देशमा जान लागेका शरणार्थीहरूको पछिल्लो समयमा भीसा नै नलागेको समेत बताइएको छ। त्यसले गर्दा जान नपाउनेहरूको पीडा एकातिर छ भने खाद्यान्नलगायतको सहयोग भएन भने के गर्ने भन्ने त्रास पनि उनीहरूमा रहेको पाइएको छ। रिजालले आफूले काठमाडौं गएर गृह मन्त्रालयका अधिकारीहरूसँग बुझ्दा पनि यूएनएचसीआरले डिसेम्बरबाट सहयोग छोड्न लागेको बताएको जनाए। बाँकी शिविरमा रहेका शरणार्थीहरूमा यो त्रास फैलिएको सम्बन्धमा यूएनएचसीआरको नेपालस्थित कार्यालयका प्रवक्ताले त्यो कुरा गलत भएको बताए। प्रवक्ता दीपेश श्रेष्ठको भनाइ थियो– ‘डिसेम्बरबाट हामीले छोड्ने भन्ने कुरा गलत हो। समश्याको दीगो समाधान नभइकन हामी छोड्ने छैनौं।’

नेपालमै बाँकी शरणार्थीलाई समायोजन गर्न यूएनएचसीआरले सुझाव दिएको भन्ने कुरा पनि गलत भएको उनको कथन थियो। त्यस्तो होइन के गर्ने भन्ने बारेमा त नेपालले नै निर्णय गर्ने कुरा हो। बाँकी रहेकामध्ये केही भुटान नै फर्किन इच्छुक रहेको र केही विवाह गरेर यतै बस्न चाहेको पनि बताए।
ठूलो संख्याका शरणार्थी नफर्किने गरी तेस्रो मुलुकमा गइसकेको, शरणार्थी विषयमा अभियन्ताको रूपमा रहेका र बाहिरी विश्वसँग सम्पर्क गर्न सक्ने नेताहरू पनि अहिले बाहिरिइसकेको अनि सम्भावना बोकेका रिजाल र पौडेल जस्ता नेता आफैं भिडन्तमा उत्रेर शरणार्थी आन्दोलन पूर्णरूपमा छिन्नभिन्न भएको अवस्थालाई भुटानले आफ्नो करिब तीन दशकअघिको जातीय सफाया भाग–१ सफल रहेको मान्नु स्वभाविक हो। नेपालले अहिले सतर्कता अपनाएर छिटपुटरूपमा आइरहेकालाई नरोक्ने हो भने फेरि जातीय सफाया भाग–२ को मञ्चन हुने खतरा बढ्दै गएको पाइएको छ।