प्रदेश–२ को तयारी, निर्वाचन अधिकृतको कार्यालय खोलिँदै


 

सुनील महर्जन, काठमाडौं
निर्वाचन आयोगले प्रदेश नम्बर २ मा स्थानीय तहमा निर्वाचन गराउन मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी अघि बढाएको छ।

तराई–मधेसका आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनलाई लक्षित गर्दै सो तयारी अघि बढाएको आयोगले जनाएको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय स्थापनाको लागि तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

आयोगले आठ जना मुख्य निर्वाचन अधिकृतसहित १ सय २८ जना निर्वाचन अधिकृतहरूको तालिम सिमरा र जनकपुरमा आइतबार सञ्चालन गरेको थियो। दुईदिने तालिमपछि आउँदो बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय र यही भदौ १२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोगले जनाएको छ।
कार्यालय स्थापना भएपछि जिल्लास्तरबाटै निर्वाचन तयारी अघि बढ्ने आयोगले जनाएको छ।

यस अघि दोस्रो चरणमा तय भएको तराई–मधेसका ८ जिल्लाको स्थानीय तहको निर्वाचन असोज २ गते सरेपछि खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू कार्यालय बन्द गरी धमाधम आफ्नो काममा फर्किएका थिए। यसले गर्दा पुनः निर्वाचन कार्यालय स्थापना गर्नुपरेको हो।

स्थानीय तहको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको ऐनअनुसार प्रत्येक जिल्लामा आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमार्फत् निर्वाचनका लागि आवश्यक व्यवस्था मिलाउनेछ। सोहीअनुरूप सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृतहरूमा नियुक्ति गरी कार्यालय स्थापना गर्न लागेको हो।

मुख्य निर्वाचन अधिकृतले जिल्लाभित्रको स्थानीय तहको निर्वाचनसम्बन्धी कामको समन्वय र सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने अधिकार रहेको छ। त्यसै गरी निर्वाचन गराउने सम्पूर्ण काम कारबाही स्वच्छ र स्वतन्त्ररूपमा गर्नु र गराउनुपर्ने निर्वाचन अधिकृतहरूको कर्तव्य हुने ऐनमा उल्लेख गरिएको छ।

मुख्य निर्वाचन अधिकृत विशेषतः जिल्लामा स्थानीय प्रशासन, सुरक्षा निकाय, जिल्लाका निर्वाचन कार्यालयका प्रमुखसँग समन्वय गर्ने, निर्वाचन अधिकारी निर्वाचन अधिकृतहरू खटाउने, मतदान अधिकृतहरू तोक्नेलगायत आवश्यक जनशक्ति र निर्वाचन सामग्रीको व्यवस्थापनको काम गर्ने र निर्वाचनको प्रक्रिया अघि बढाउने निर्वाचन आयुक्त नरेन्द्र दाहालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

यसअघि सुरक्षा निकायको जिम्मामा छाडेको मतपत्र, मतपेटिकाहरू सम्बन्धित मतदान केन्द्रमा पठाउने व्यवस्था पनि निर्वाचन अधिकृतले गर्ने आयोगले जनाएको छ।

‘निर्वाचनका लागि आवश्यक ६४ प्रकारका सामग्रीमध्ये १२ प्रकारका सामग्री कार्यालयबाटै व्यवस्थापन गर्ने गर्दछ। त्यस्तै मतपेटिका, मतदाता शिक्षाका लागि सामग्रीको प्रबन्ध, निर्वाचनको लागि रेखदेख गर्ने काम पनि मुख्य निर्वाचन अधिकृत गर्ने गर्दछ’ –आयुक्त दाहालले भन्नुभयो। मुख्य निर्वाचन अधिकृतअन्तर्गत निर्वाचन अधिकृत कार्यालय स्थापनापछि जिल्ला र स्थानीय तहमा कार्यालय स्थापना गरिनेछ।

संशोधन आज निर्णयार्थ पेस हुने

काठमाडौं, (नेस)
संविधान संशोधन विधेयक सरकारले आज निर्णयार्थ व्यवस्थापिका संसद्मा पेस गर्ने भएको छ। सरकारले लामो समयदेखि संसद्मा छलफलका लागि पेस हुन नसकेको संविधान संशोधन विधेयक दफावार छलफलका लागि पेस गरिसकेको छ।

राष्ट्रिय जनता पार्टीको माग सम्बोधन गर्नका लागि सरकारले संविधान संशोधन विधेयक संसद्मा निर्णयार्थ पेस गर्न लागेको हो। नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधान संशोधन विधेयक निर्णयार्थ पेस हुने बताउनुभयो।

उहाँले प्रमुख प्रतिपक्षी दल एमाले कुनरूपमा प्रस्तुत हुन्छ तर सरकार संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्ने तयारीमा रहेको बताउनुभयो। सत्ता पक्ष र प्रमुख पतिपक्षी दलको विवादका कारण संविधान संशोधन विधेयक विगतमा पेस भएर पनि असफल भएको थियो। तर, प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनअघि नै संविधान संशोधन विधेयक सरकारले निर्णयार्थ पेस गर्न लागेको हो।