आधुनिक चिकित्सा विज्ञानलाई चुनौती

0
Shares

एक टुक्रा औषधि नखाई १ सय ४ वर्ष बाँचेकी छिन् लालमाया तामाङ

गणेश साम्पाङ, पाँचथर
घरको आगनमा सुकाएको धान हातले छामेर थुन्चेमा उठाइन्, सिकुवामा धान राखेर घरभित्र पसिन् अनि खाना पकाउने मेलोमेसोमा जुटिन १ सय ४ वर्षीया लालमाया तामाङ।

पाँचथरको साविक चोकमागु–९ हाल फिदिम नपा–५ सरसिउँला गाउँका वृद्धा तामाङ अहिले १ सय ४ वर्ष पुगिन्। यतिको उमेरमा पनि उनी आफैं तरकारी काट्छिन्, घर बढार्छिन् खाना पकाउँछिन्। यी सब काम यिनी हातले छामेर गर्छिन् अहिले पनि। म जन्मेको साल थाहा छैन भदौ महिनामा अरे आमाले भनेको सुनेको उनी भन्छिन्। २०९० सालको महाभूकम्प गएको बेलामा भूकम्पले हल्लाएर घरभित्रै लडेको याद स्मरण गर्ने तामाङको जन्म भने १९७० सालमा भएको भए पनि उनको नागरिकतामा भने १९७१ साल रहेको सो वडाका वडा नागरिक मञ्चका पूर्वसंयोजक सीमा तुम्बापो बताउनुहुन्छ।

सामान्य मानिस स्वास्थ्य समस्या लिएर वर्षमा २⁄३ पटक अस्पताल वा क्लिनिकसम्म जान्छन्। तर जीवन भरएक ट्याबलेट सिटामोल नखाई १ सय ४ वर्ष बाँच्नु आधुनिक चिकित्सा विज्ञानलाई चुनौतीका रूपमा लिन सकिन्छ। ‘मैले अहिलेसम्म एक दाना ओखती खाएको छैन सुई त झन् सम्झँदै डर लाग्छ त्यसैले अस्पताल देखेको छैन’ उनी भन्छिन्।

‘अहिलेसम्म हजुरआमाले औषधि खानुभएको मलाई थाहा छैन, साह्रै पर्यो भने धामीकहाँ जानुहुन्थ्यो त्यति धेरै बिरामी पनि हुनुभएको थाहा छैन’ –नातिनी शान्ति तामाङको भनाइ थियो।

जीवनमा एकपटक पनि मोटर नचढेको बताउने तामाङ अहिलेसम्म जुत्ता चप्पल नलगाएको र खाली खुट्टामै दुलही बनेको बताउँछिन्।

‘जीवनभर कुनै औषधि नै नखाई बाँच्नु निकै अनौठो नै हो जब मानिसको शरीरभित्र रहेका प्रतिरक्षा प्रणालीले काम गर्न सक्दैन अनि बिरामी हुन्छ अहिलेसम्म औषधी नै नखाई सय वर्ष बाँच्नुले उनको स्वास्थ्य अवस्था राम्रो रहेको मान्न सकिन्छ’ –जिल्ला अस्पताल पाँचथरका प्रमुख डा. पवनकुमार शाह भन्नुहुन्छ।

२०१२ सालमा श्रीमान्को मृत्यु भएपछि एक मात्र छोरा सिंहवीर तामाङसँग बस्दै आउनुभएका तामाङ सरकारले वृद्धा भत्ता किन दिएको अरूको सित्तैमा केही पनि खानुहँुदैन पाप लाग्छ भन्छिन्। ‘धेरै बाँच्नु राम्रो होइन रहेछ बूढो भएपछि आँखा देखिँदैन आँखा नदेखेपछि अपजस आउँछ म भात तिहुन पकाउँछु तर आँखा देख्दिनँ भातमा ढुंगा पर्छ कीरा पर्छ तर रिसाउनु पाइँदैन’ –उनको भनाइ थियो।

गाउँमा थुप्रैपटक बृद्ध नागरिकका रूपमा सम्मान भइसकेकी तामाङ आफूलाई हेर्न आउने सबैलाई अाँखा देख्ने गरी मात्र बाँच्नु भन्ने आर्शिवाद दिन्छिन्।