रुबी भ्यालीमा फुल्दै फुलमानको नीरफूल

0
Shares

पत्रकार कवि एवं कथाकार फूलमान बलले नीरफूल नामक फिल्मको निर्देशन गरेका छन्। फिल्म युनिटले बिहीबार राजधानीमा पत्रकार सम्मेल गरी नीरफूलको धमाधम छायांकन भइरहेको जानकारी गराएको छ।

यसअघि सेलफोन नामक फिल्म निर्देशन गरिसकेका निर्देशक बलका अनुसार नीरफूलको ७० प्रतिशत छायांकन भइसकेको छ। भूकम्पले छिन्नभिन्न परिवारले पुनर्मिलनका लागि गर्ने संघर्षमा आधारित फिल्म गणेश हिमालमुनिको रुबी भ्याली र काठमाडौंमा छायांकन भइरहेको उनले जानकारी गराए।

फिल्मको मुख्य भूमिकामा दयाहाङ राईले अभिनय गरेका छन्। राईले फिल्मको पटकथा मन परेर आपूmले फिल्म खेलेको बताए। ‘अचेल म स्क्रिप्ट पारिश्रमिक हेरेर मात्रै काम गरिरहेको छुु पत्रकार सम्मेलनमा दयाहाङको भनाइ थियो ‘यो फिल्मको कथावस्तु निकै बलियो र मन छुने छ। यसमा मैले निकै फरक र चुनौतीपूर्ण भूमिका गरेको छु।’

फिल्ममा विशेष भूमिकामा देखिन लागेकी नायिका रेखा थापाले पनि यसको कथाले नै आफूलाई आकर्षित गरेको बताइन्। फिल्ममा दयाहाङको जोडीको रुपमा अभिनेत्री शान्ती वाइबा देखिंदै छिन्। उनले यसअघि एउटा फिल्मको सानो भूमिकामा दयाहाङकै पत्नी भएको खेलेको खुलाउँदै नीरफूलमा भने आफूले मन फुकाएर काम गर्न पाएको बताइन्। उनले रुबी भ्यालीको गोठमा आगो ताप्दै भेंडीको दूध खाएको रोचक अनुभव पनि शेयर गरिन्। बाल गायिका जिग्मे छ्योइकी घिसिङ फिल्मको मुख्य भूमिका मध्ये एकमा छिन्।

फिल्मको कथा, पटकथा र गीत निर्देशक वल स्वयंले नै लेखेका छन्। पटकथामा उनलाई एसोसिएट निर्देशक सचिन घिमिरेले सघाएका छन्। निर्देशक बलले दुई वर्षअघिको महाभूकम्पपछि कथा बनेको खुलाउँदै फिल्ममा राज्य प्रणालीको भ्रष्टता पनि उठाउन खोजिएको बताए। ‘यो धादिङ रुबी भ्यालीको एउटा परिवारको कथा हो’ –बलले भने ‘यो ठाउँको भूगोल, प्रकृति र संस्कृतिबारे अहिलेसम्म बाहिर आएको छैन। यस हिसाबले यो फिल्मले रुबी भ्यालीलाई पनि चिनाउने छ।’

फिल्मको निर्माणमा सहकार्यको मोडल अपनाइएको उनले जनाए फ्रेन्ड्स अफ नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता डोमा सोनाम हुन्। फिल्ममा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अशोक थापा निर्माता छन्।

बुद्धि तामाङ, पुष्कर गुरुङ, सरिता गिरी, राजन खतिवडा, सरोज अर्याल, मानस राज, लक्ष्मी बर्देवा, जीवन बराल, रोशन फ्युबालगायतका कलाकारले समेत अभिनय गरिरहेको फिल्ममा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको छ। फिल्म आगामी माघमा रिलिज हुने निर्देशक बलले जानकारी गराए।