भत्काउन थालिए दरबार


ईश्वरराज ढकाल, काठमाडौं
सरकारले राणाकालीन दरबार भत्काउन शुरू गरेको छ। पछिल्लो समय शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना एकाइले भूकम्पले क्षतिग्रस्त भएकामध्ये ८ वटा राणाकालीन दरबारको सम्पूर्ण प्रक्रिया पूरा गरी ३ वटा दरबार भत्काएर नयाँ बनाउने र बाँकी रेक्ट्रोफिट गर्ने योजना अघि बढाएको छ।

एकाइले पुरातत्व विभागको सहमतिअनुसार दरबार भत्काउन र रेक्ट्रोफिट गर्न लागेको हो। एकाइका आयोजना प्रमुख तपेन्द्रबहादुर खड्काले अन्य दरबारको विषयमा अध्ययन जारी रहे तापनि तत्काल बालुवाटारस्थित राष्ट्र बैंकको मुख्यालय रहेको सीता भवन र थापाथलीस्थित सिंह महल भत्काउन शुरू गरिसकेको छ। एकाइले चन्द्र शमशेरको पालामा निर्मित हरिहर भवनसमेत भत्काउने भएको छ।

‘हाललाई तीनवटा राणाकालीन दरबार भत्काइने भएको छ, बाँकीको विषयमा अध्ययन गरिरहेका छौं’ –एकाइ प्रमुख खड्काले भन्नुभयो। उहाँका अनुसार केशर पुस्तकालय रहेको केशरमहल, उपराष्ट्रपति कार्यालय र निर्वाचन आयोग रहेको बहादुर भवन, सिंहदरबारको पश्चिमी लङ, बबरमहल, नक्सालस्थित बाल संगठन रहेको बालमन्दिर (सीता महल), नेपाल प्रशासनिक प्रतिष्ठान रहेको जावलाखेल दरबारलाई रेक्ट्रोफिट गर्ने भएको छ।

३ वटा दरबार भत्काएर नयाँ बनाउने र बाँकी
रेक्ट्रोफिट गर्ने योजना अघि बढाएको छ।

नियोेक्लासिकल दरबारलाई भत्काउनुभन्दा रेक्ट्रोफिट गरेर जोगाउन सुझाव दिइरहेकै बेला सरकारले महत्वपूर्ण दरबार भत्काउन लागेको हो। राष्ट्रपति कार्यालय रहेको शीतल निवास र सिंहदरबारको अन्य भागमा के गर्ने भन्ने विषयमा अझै निर्णय हुन सकेको छैन।

राष्ट्रपति कार्यालय रहेको शीतल निवासलाई रेक्ट्रोफिट गरी संरक्षण गर्ने कि बस्न योग्य बनाउन पुनर्निर्माण नै गर्ने भन्ने विषयमा सरकार अन्योलमा रहेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सबै राणाकालीन दरबारलाई रेक्ट्रोफिट गर्ने जनाए तापनि रेक्ट्रोफिट गर्ने नसक्ने देखिएपछि भत्काउन लागेको हो।

पुरातत्व विभागको सहमतिमा सरकारले हाल तीनवटा दरबार भत्काउन लागेको हो। पुल्चोकको श्रीमहलको विषयमा डोलिडारले अध्ययन गरिरहेको छ। विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले प्राधिकरणको निर्देशन र वरिष्ठ इन्जिनियरको टोलीको अध्ययनपछि केही दरबार भत्काउन र केहीलाई रेक्ट्रोफिट गर्न लागिएको हो। काठमाडौं महानगरपालिकाको अधिकांश कार्यालय रहेको बाघ दरबारसमेत भत्काउने तयारी गरेको हो।

कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बाघदरबारलाई भत्काउने तयारी भइरहेको जानकारी गराउँदै सो स्थानमा सोही मापदण्डको भवन बनाउने तयारी भइरहेको बताउनुभयो। कामपाले बाघदरबारमा रहेको करिब एक दर्जन विभाग, महाशाखा र शाखालाई जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा सारिने भएको छ। उहाँका अनुसार भदौ १ गते बाघदरबारमा रहेको सबै कार्यालय जिल्ला समन्वय समितिमा सार्न लागिएको कामपाले जनाएको छ।

नेपालकै धरोहरका रूपमा रहेको दरबार बनाउने विषयमा सरकारलाई चासो नभएको कारण अधिकांश राणाकालिन दरबार खतरामा परेका हुन्। सरकारले भने रेक्ट्रोफिट गरेर जोगाउनै नसक्ने दरबारलाई भत्काउन लागेको दाबी गरेको छ। इकाइका प्रमुख खड्काले सरोकारवाला सबै निकायको अध्ययनपछि केही दरबार भत्काउन र केहीलाई रेक्ट्रोफिट गर्न थालेको जानकारी दिनुभयो।

भूकम्पले भत्काएका अधिकांश दरबारमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि राष्ट्रको ढुकुटी नेपाल राष्ट्र बैंक रहेको थियो। सय वर्ष नाघेका अधिकांश दरबारहरू मास्न वा भत्काउन परे विभागको स्वीकृति लिनुपर्छ। तर विभागकै स्वीकृतिमा दरबार भत्काउने र रेक्ट्रोफिट गर्ने निर्णय गरेको हो। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले प्राधिकरणले गरेको निर्णयअनुसार विभागले निर्णय गरेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘हामीले दरबार भत्काएपछि पुरानै शैलीमा निर्माण गर्ने गरी ड्रइङ डिजाइन तयार गरी पास गरेका छौं।’ विभागले नेपालको वास्तुकला जोगाउन दरबारहरूको उचाइ नघट्ने गरी, बाहिरी भागको स्वरूप नबिगारी जति क्षेत्रफल खाली छ, त्यही नै कायम हुनेगरी मर्मत गरेर मिल्ने भए बस्न पुरातत्व विभागले सल्लाह दिएको थियो।

पुरातत्व विभागले ड्रइङ र डिजाइन निर्माण गरी स्वीकृति लिएर मात्रै बनाउनुपर्ने व्यवस्था गरेको थियो। नेपाली सेनाको भैरवगण रहेको लक्ष्मी निवास, नारायणहिटी दरबार परिसरमा रहेको रणोद्दिपसिंहको दरबार, सिंहदरबारमा रहेको पुतली बगैंचा, दरबार हाइस्कुल, इन्जिनियरिङ क्याम्पसको प्रशासन भवन रहेको आनन्द निवास भूकम्पले क्षतिग्रस्त बनाएको थियो।