म्याग्दीमा दशौं राष्ट्रिय सूचना दिवस मनाइयो

0
Shares

प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार दशौं राष्ट्रिय सूचना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सूचना दिवस मूल समारोह समिति बेनीको आयोजनामा सूचना दिवसको अवसर पारेर सरोकारवालाहरुबीच अन्तत्र्रिmया कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नागरिकले सूचना पाउनुपर्ने र सेवा प्रदायक संघसंस्था तथा कार्यालयले सूचना दिनुपर्ने बताए । उनले सूचनाको हक प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेको खण्डमा पारदर्शिता र सुशासन कायम हुने बताउँदै भ्रष्टाचार न्युनीकरणमा समेत सहयोग पुग्ने बताएका थिए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले विगतको समयमा सूचना पाउन अत्यन्तै कठिन अवस्था रहेको भन्दै पछिल्लो समय सहज वातावरणको सिर्जना भएको बताए । उनले सबै कार्यालयहरुले सूचना प्रवाह गर्नुपर्ने र सञ्चारमाध्यममार्फत सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताउँदै आम नागरिकलाई सुसूचित गराउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा सूचनाको हकको कार्यान्वयनको वर्तमान अवस्था, कार्यान्वयनका क्रममा देखापरेका समस्या तथा चुनौती एवं समाधानका उपायका विषयमा अन्तत्र्रिmया र छलफल गरिएको थियो । कार्यक्रममा सहभागी सूचना अधिकारीहरुले मौखिक रुपमा सूचना दिने गरिए पनि लिखित सूचना माग नभएको हुँदा अभिलेख नराखिएको बताएका छन् ।

उनीहरुले सूचनाको हकमा भएका ऐनको बारेमा तालिम र अभिमुखीकरणको आवश्यकता रहेको बताएका थिए ।  प्रजिअ अधिकारीको अध्यक्षता, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माको स्वागत र सचिव गोरखनाथ सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख÷प्रतिनिधि, सूचना अधिकारी र पत्रकारलगायतको सहभागिता रहेको थियो ।