राहत संकलन र वितरण धमाधम

0
Shares

नेपाल समाचारपत्र, बाँके । बाढी पीडितका लागि राहत संकलनको काम धमाधम भइरहेको छ । संघ, संस्थादेखि राजनीतिक दल, तिनका भातृ संगठनहरु राहत संकलन र वितरणमा जुटेका छन् ।

राजनीतिक दलहरु कसले बढी दिने भन्ने होडमा लागेका छन् । बजार र दयालुबाट राहत संकलन गरेर नेताहरु आ–आफ्ना प्रभाव क्षेत्रमा पुगेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले रेडक्रसमार्फत राहत वितरण गरिरहेको छ ।
बाँकेमा न्यानो संसार अभियानले ६ लाख बराबरको राहत दिएको छ । विभिन्न ठाउँमा संकलन गरेको चामल, चिउरा, दालमोठ र पानी शुद्ध गर्ने पियुस अभियानले हस्तान्तरण गरेको हो । अभियानकी मध्य र सुदूरपश्चिम संयोजक धर्मिन्द्र शाहले जिल्ला कृषि विकास कार्यालयमा राहत सामाग्री हस्तान्तरण गर्नुभयो ।

शाहका अनुसार, ४० क्वीन्टल चामल, ४० क्वीन्टल चिउरा, १० क्वीन्टल दालमोठ र एक हजार पाँच सय पत्ता पियुस हस्तान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट सहयोग सामाग्रीको अभिलेख गरेपछि कृषि कार्यालयमा गएर बुझाइएको थियो ।
यस्तै, बाँकेका सन्तोष खड्का र झरना खड्काको जोडीले बाढीपीडितलाई ५० हजार रुपैया सहयोग गरेका छन् । खड्का जोडीले एमालेसम्बद्ध युवासंघ मार्फत बाढीपीडितलाई सहयोग गरेका हुन् । युवा संघले केही दिनदेखि नै राहत संकलन गरेर वितरण गरिरहेको छ । एमालेसम्बद्ध अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस इकाई कमिटिले पनि ८ हजार ५ सय ३१ रुपैया संकलन गरेर पार्टीलाई बुझाएको छ । कमिटिका अध्यक्ष हेमराज शाहीले पार्टीका बैकल्पिक केन्द्रीय सदस्य दिनेशचन्द्र यादवलाई रकम हस्तान्तरण गर्नुभयो ।

पार्टीले सबै ठाउँमा राहत उपलब्ध गराउने तयारी गरेको छ । पार्टीका उपाध्यक्ष निरक गुरुङले बाढी पीडितलाई राहत उपलब्ध गराउन संकलन अभियान चलेको बताउनुभयो ।  संघ र प्रदेशको चुनाव नजिकिदै जादा राजनीतिक दलहरु बाढीपीडितका घाउमा मल्हम लगाउन कस्सिएका छन् । कांग्रेस, माओवादी, मधेसवादी दललगायतका पार्टीहरु पनि राहत संकलन र वितरणमा सक्रिय भइरहेका छन् ।