नेपालगञ्ज मेडिकल कलेजमा ढंगुरको रास, चिकित्साजन्य फोहोरले दुर्गन्धै दुर्गन्ध


नेपालगञ्ज मेडिकल कलेजमा ढंगुरको रास, चिकित्साजन्य फोहोरले दुर्गन्धै दुर्गन्धनेपाल समाचारपत्र, बाँके ।  नेपालगञ्ज मेडिकल कलेजबाट निस्किने चिकित्साजन्य फोहोरले दुर्गन्ध फैलाएको छ । मेडिकल कलेजको हाताभित्रै पोको पारेर फालिने फोहोरलाई राम्ररी व्यवस्थापन नगरिदा स्थानीय बासिन्दा दुर्गन्धबाट पीडित भएका छन् ।

अस्पतालले गेट अगाडि सार्वजनिक स्थल नजिक चिकित्साजन्य फोहोर फाल्ने गर्दछ । उसले फालेको फोहोरलाई नगरपालिकाको ट्याक्टरले कहिले उही दिन त कहिले तीन÷चार दिनपछि फाल्ने गरेको छ ।

‘फालेको दुई घण्टापछि नै गन्हाउन थाल्छ, स्थानीय सीएसटी होटल सञ्चालक टोपबहादुर थापाले भन्नुभयो, २÷३ दिन उठेन भने त बसिसक्नु हुँदैन ।’ मेडिकल कलेज सञ्चालकलाई स्थानीयले पटक–पटक फोहोर व्यवस्थापन गर्न अनुरोध गर्दा बेवास्ता हुँदै आएको छ ।

स्थानीय टोलवासीको एक समूहले शुक्रबार जिल्ला प्रशासन कार्यालय, बाँकेमा मेडिकल कलेजको चिकित्साजन्य फोहोर व्यवस्थापनका लागि ज्ञापनपत्र बुझाएको छ । तेजविक्रम शाहको नेतृत्वमा पुगेको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रको बोधार्थ नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयसमेत बुझाएको शाहले बताउनुभयो ।

मेडिकल कलेजले अस्तव्यस्त तरिकाले चिकित्साजन्य फोहोर थुपार्दा वरपरका वडावासीहरु दुर्गन्धित वातावरणमा बस्नु परेको र त्यसले गम्भीर असर पारेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । टोलवासीले मेडिकल कलेजको फोहोर सार्वजनिक स्थल नजिक फाल्न रोक लगाउनुपर्ने, हाल थुपारेको फोहोर तत्काल हटाउनु पर्ने, फोहोर थुपारेको ठाउँलाई सफा गर्नुपर्ने, हाल थुपारेको ठाउँमा पुनः फोहोर फाल्ने छैन भनेर लिखित प्रतिबद्धता गराउनुपर्ने माग राखेका छन् ।
टोलवासीले वर्षौदेखि मेडिकल कलेजका सञ्चालकलाई फोहोर व्यवस्थापनका बारेमा अनुरोध गर्दा बेवास्ता हुँदै आएको र अति नै भएपछि ज्ञापनपत्र बुझाएको शाहले बताउनुभयो । ‘हामीले मेडिकल कलेजका निर्देशकलाई पटक–पटक भन्यौ । उसले बेवास्ता ग¥यो, शाहले भन्नुभयो ।

मेडिकल कलेजले अप्रेसन गरेकादेखि सबै प्रकारका चिकित्साजन्य फोहोर पोको पारेर कलेजको हाताभित्रको एउटा कुनामा थुपार्ने गरेको छ । अत्याधिक गर्मी हुने नेपालगञ्जमा उक्त फोहोर केही घण्टामै गन्हाउन थाल्छ । ‘त्यो फोहोर हेरेपछि त कम्तीमा तीन दिन भात खान मन लाग्दैन, शाहले भन्नुभयो ।  ज्ञापनपत्र बुझेपछि सहायक प्रमुख जिल्ला अधिकारी खड्काले वास्तविकता के हो बुझ्ने आश्वासन दिनुभयो । ‘के रहेछ बुझ्छौं । आवश्यक परे बोलाउँछौं, खड्काले भन्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले बजारको फोहोर नै उही दिन व्यवस्थापन गर्न नसकेकाले उक्त चिकित्सकजन्य फोहोरको दुर्गन्ध फैलिने गरेको छ ।