११ व्यवसायीलाई दण्ड


 

प्रशान्त वली, काठमाडौं
मापदण्ड विपरीत सञ्चालन भएका विभिन्न प्रकृतिका ११ वटा व्यवसाय बन्द गरिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बताएको छ। साउन २२ गतेदेखि ३२ गतेसम्म भएको संयुक्त विशेष अनुगमनका क्रममा ती पसलहरूको सञ्चालनमा रोक लगाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

अनुगमन टोलीले डेन्टल गुड क्लिनिक बाँसबारी अखण्ड पोलिक्लिनिक बत्तीसपुतली, धनान डेन्टल क्लिनिक, बत्तीसपुतली, साझा आयल स्टोर काभ्रे, अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको क्यान्टिनलगायतको सञ्चालन प्रक्रियामा रोक लगाएको विभागले जनाएको छ।

आवश्यक कागजपत्रविना मेडिकल सञ्चालन गरेको, आवश्यक लिटरमा चाहिने मात्राभन्दा कम पेट्रोलियम पदार्थ बिक्री गरेको, क्यान्टिन खानाका लागि उपर्युक्त नभएको कैफियत भेटिएपछि कारबाही गरिएको बताइएको छ। यस्तै २ सय ५० वटामध्ये १ सय ८ वटा सवारीसाधन अनुगमनका क्रममा कारबाही परेका छन्। यात्रुबाट बढी भाडा लिएको भन्दै प्रति सवारीसाधन ३ हजारदेखि ५ हजार रुपियाँसम्म जरिवाना गरिएको बताइएको छ। यस्तै, बासी सडेगलेका मासु बिक्रीवितरण गर्न लागेको भन्दै २ सय ६० किलोग्राम मासु नष्ट गरिएको विभागका निर्देशक श्रेष्ठले बताउनुभयो।

विभागका निर्देशक श्रेष्ठले भन्नुभयो– ‘२२ गतेदेखि संयुक्त विशेष अनुगमन चलिरहेको छ। हामीले उपभोक्ताको अधिकारका लागि अनुगमलाई निरन्तरता दिएका हौं। क्षेत्रगत निकायले समेत अनुगमन गर्न जरुरी देखिएको छ। स्वयम् सेवाग्राही र गुणस्तरीय वस्तु बिक्रीवितरणमा व्यापारीसमेत जिम्मेवार हुनुपर्छ।’
विभागले औषधि व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग, ट्राफिक, गुणस्तर तथा नाप तौल विभाग र उपभोक्ता अधिकारवादीको समन्वयमा अनुगमनलाई तीव्रता दिएको छ।

विभागले पछिल्लो अवधिमा माछा मासु, दुग्ध, अस्पताल, खाद्य, निर्माण सामग्री, यातायात क्षेत्रको अनुगमनलाई तीव्र बनाएको छ। उपभोक्ता अधिकारकर्मी दर्शन आचार्यले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘वस्तु तथा सेवामा कुनै पनि उपभोक्ता कुनै पनि तरिकाले ठगिनु हुँदैन। यदि कुनै व्यवसायी वा सेवा प्रदायकबाट उपभोक्ता ठगिएको छ भने ठगी गर्नेलाई कानुनबमोजिम कारबाही गर्न राज्य प्रतिबद्ध हुनुपर्छ। अब बजार अनुगमन सुधारात्मक होइन दण्डात्मक हुन जरुरी देखिएको छ। सरकारी निकायले पनि अनुगमनलाई देखावटी बनाउनुहँुदैन। प्रभाव पर्ने गरी अनुगमलाई अगाडि बढाउनुपर्छ।’