दिनभर खोज्दा पनि भेटिएन राहत , चौपायासँगै सुत्न बाध्य छन् बाढीपीडित


 

सञ्जय कार्की, रौतहट
पिपरा भगवानपुर–१ निवासी कान्ति पासवानको ७ दिनदेखि सडकमा बास हुँदै आएको छ।

उनी आफ्नो स–साना नातिनातिनासहित सदरमुकाम गौर वीरेन्द्र राजमार्गको पिपरा भगवानपुरस्थित सडकमा त्रिपाल टाँगेर बस्दै आएकी छिन्। आफ्नो परिवारसँग मात्र हैन उनी चौपायासँगै सुत्न बाध्य छिन्। उनीजस्तै रौतहटका बाढीपीडितको अवस्था यस्तै रहेको छ। पासपानझैं ३ घरपरिवारको सोही सडकमै बास भए पनि अहिलेसम्म उनीहरूले राहत नपाएको दुःखेसो गरेका छन्।

बाढीले घर पूर्णरूपमा क्षति भएपछि उनीहरूजस्तै रौतहटको ३० हजारभन्दा बढी घरधुरीका ३ लाख बासिन्दा प्रभावित बनेका छन् तर राहत सामग्री वितरणको प्रभावकारिता नहुँदा दैनिक ज्यालादारी गरेर खाने बाढीपीडितको कन्तबिजोग भएको छ। उनीहरू भन्छन्– ‘साहुका पनि काम पाइँदैन अहिलेदेखि नै ऋण लिएर आफ्नो बालबच्चासहितको ज्यान जोगाउँदै आएका छौं।’

पासवानले मात्रै छिमेकी साहु रामबाबु यादवसँग चामलसहित १ हजार ऋण लिइसकेको बताउँछन्। उनीजस्तै सदरमुकाम गौरमा राहत पाइन्छ भनेर दुइवर्षे छोरा च्यापेर दिनभर लाइन बसेकी गौर–१ की रजन देवी राज्यप्रति उदासिन रहेकी छिन्।

उनी भन्छिन् अहिलेसम्म केही सहयोग पाएकी छैन। ‘अब कसरी बाच्नु, आफनो र परिवारको अवस्था दयनीय रहेको छ’ उनी भन्छिन्। उता लक्ष्मीपुर बेलबिछवाका जयमंगल राय यादवले भने प्रशासनले तीन दिनअघि एक किलो चिउरा, दालमोट, बिस्कुट– र पानीको एउटा बोतल दिएपछि बस्तीमा नै नआएको बताउनुहुन्छ।

बाढीबाट ५ सय ७८ घरधुरी पीडित भए पनि प्रशासनले आधा पीडितलाई मात्र राहत दिएको बताइएको छ। बाढीपीडितहरू दिनमा राहतका लागि भौतारिए पनि रातमा पशु चौपायासंगै सुत्न बाध्य रहेका छन्। रौतहटका बाढीपीडितहरूको बस्तीहरूको चारैतिर अहिले पनि जलमग्न छ। घरहरू भत्किएर बिस्थापित भएका छन्। सडकमा नै त्रिपाल टागे पनि पशु चौपायासंगै सुत्न बाध्य रहेको नेपाल रेडक्रस सोसाईटी लक्ष्मीपुर बेलबिछवाका उपसभापति राम बिलास साहले बताउनुभयो।

‘राहत पाएनौं’

बर्दिया, (नेस)
बर्दियाका बाढीपीडितलाई विभिन्न स्थानीयले आफ्नै आन्तरिक स्रोतबाट साउन ३२ गतेसम्ममा २८ लाख ८५ हजार रुपियाँको बराबरको राहत वितरण गरेको बताए पनि पीडित जनता भने राहत नपाएर भोकै बस्नुपरेको गुनासो गरिरहेका छन्।

गुलरिया नगरपालिकाले २० लाख, बारबर्दिया नगरपालिकाले ५ लाख, मधुवन नगरपालिकाले ३ लाख, बाँसगढी नगरपालिकाले ५० हजार र ठाकुरबाबा नगरपालिकाले ३५ हजार रुपियाँ बराबरको राहत सामग्री वितरण गरेको दाबी गरेका छन्।

साथै जिल्ला दैवीप्रकोप उद्धार समितिले १ लाख ३५ हजार रुपियाँबराबरको खाद्य सामग्री बितरण गरेको जनाएको छ। तर बाढीपीडितहरूको ब्यथा भने अर्कै छ। उनीहरूले राहत नपाएको गुनासो गरेका छन्।

गुलरिया नगरपालिका १० रत्नापुरका राजकुमार बर्माले भन्नुभयो– ‘आज ५ दिन भइसक्यो, कुनै पनि निकायका मान्छे हाम्रो गाँउ पुगेका छैनन्, धेरैको घर भत्किएको छ। घरभित्रको सामान सबै बगाएको छ। गाँउ पुरै डुबानमा परेकोले खाने खाना, पिउने पानी, सुत्ने ठाँउ पनि छैन। राती बेस्सरी मच्छरले टोक्छ।

सोही गाँउका पुनितकुमार बर्माले पनि ‘गाउँ नै डुवान परेको कारण बिरामी परेका छन्। ‘निर्वाचित प्रतिनिधिहरू डुवान क्षेत्रमा पनि पुगेका छैन्। गाँउबाट जितेका आफै पीडित छन्। आफ्नै ब्यवस्था मिलाउन गाह्रो छ।’– बर्माले थप्नुभयो।