निःशुल्क स्वास्थ्य शिविर चलाउँदै अमेरिकी सेना

0
Shares

 

सन्तोष अधिकारी, गोरखा
नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा गोरखा नगरपालिका–८ आहालेको सरस्वती माध्यमिक विद्यालय परिसरमा पाँचदिने निःशुल्क स्वास्थ्य शिविर चलिरहेको छ। अहिलेसम्म २ हजारभन्दा धेरै बिरामीले सेवा लिइसकेका छन्। भूकम्पको केन्द्र विन्दु रहेको गोरखामा अमेरिकन सेनाको रोजाइमै सोमबारदेखि निःशुल्क स्वास्थ्य शिविर चलेको हो। शिविरमा नेपाली सेना र अमेरिकन सेनाका विशेषज्ञ चिकित्सकहरूले सेवा दिइरहेको नेपाली सेनाकी डा. रेंकु जोशीले जानकारी दिइन्।

बालरोग, छाला तथा यौनरोग, दन्त, आँखा, सामान्य उपचारलगायतका सेवाहरू शिविरमा रहेको सेनाका मेजर प्रकाशबहादुर सिंहले बताए। ‘विशेष गरी आँखा, दाँत, रुघाखोकी, ज्वरोलगायतका रोगका बिरामीहरू शिविरमा आएका छन्’, उनले भने– ‘शिविरमा विभिन्न रोगका विशेषज्ञ नेपाली सेनाका ११ जना र अमेरिकन सेनाका ३१ जना डाक्टरले बिरामीको सेवा गरिरहेका छन्।’ सेनाका चिकित्सक टोलीसँगै सुरक्षा दल र प्राविधिक पनि सँगै छन्। शिविरमा आँखाका बिरामीलाई उपचारपछि चस्मा, दाँतका बिरामीलाई ब्रस, मञ्जनलगायत रोगअनुसार आवश्यक पर्ने औषधिहरू निःशुल्क रूपमा उपलब्ध गराइएको नेपाली सेनाले जनाएको छ। शिविरमा प्रायः वृद्धवृद्धाहरू स्वास्थ्य सेवा लिन आएका छन्।

नेपाल र अमेरिकाको सम्बन्धलाई अझ सुमधुर बनाउन यस शिविरले थप सहयोग मिल्ने अमेरिकन आर्मीका एयर फोर्सका प्रमुख सेनानी गेरी डजले बताए। ‘नेपाल सहयोगार्थ यो शिविरले नेपाल र अमेरिकाको सम्बन्ध सुधारमा थप सहयोग मिल्नेछ भन्ने विश्वास गरेको छु, उनले भने– ‘यस सम्बन्धलाई नेपाली सेनाको माध्यमबाट हामी निरन्तरता दिन चाहन्छौं। हामीले १० वर्षे समयमा प्यासिफिक एन्जल कार्यक्रममार्फत् नेपालका पोखरा, चितवनमा पनि स्वास्थ्य शिविर गरिसकेका छौं। अहिले भूकम्पको केन्द्र विन्दुसमेत रहेको गोरखा छानेका हौं। हाम्रो अर्काे उद्देश्य विपद्को बेला दुई देशका सेनाहरूले मिलेर कसरी काम गर्न सकिन्छ भन्ने अभ्यास पनि हो।’

सेनाका प्राविधिकहरूले जिल्लाका विभिन्न पाँच विद्यालयमा मर्मत, वायरिङलगायतका काम पनि गरिरहेका छन्। संसारी माबि गाँखु, महेन्द्र मावि कुन्दुर, गोरखा अस्पताल, छेवेटार स्वास्थ्यचौकीमा पनि वायरिङ, भवनहरू मर्मतलगायतका कार्य नेपाली सेना र अमेरिकन सेनाको संयुक्त टोलीले गरेको हो।

Skip This