बाँकेमा दुई शव भेटिए

0
Shares

नेपाल समाचारपत्र, बाँके । नालामा डुबेर मृत्यु भएका दुई जनाको शव भेटिएको छ । आमासँगै नाला तर्ने क्रममा मंगलबार बेपत्ता भएकी ६ वर्षकी सुनिता यादवको शव भेटिएको हो । बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ६, गंगापुरको कुदरबेटवास्थित घर जानका लागि सिंगैया नाला तर्ने क्रममा डुबेकी सुनिताको शव भेटिएको हो । सुनितासँगै डुबेर बेपत्ता भएकी आमा रामदुलारी यादव र दिदी अञ्जलीको शव भेटिसकेको छ ।

मंगलबार साँझ ६ बजेतिर जमुनीबाट घर फर्किने क्रममा छोटेलाल यादवका चारै जनालाई नालाले बगाएको थियो । यादव भने पौडी खेलेर बाँचेका छन् । श्रीमती र दुई छोरी बेपत्ता भएकोमा सबैका शव फेला परेको छ । त्यस्तै, खजुरास्थित किरण नालामा पौडी खेल्न गएका नेपालगञ्जका रवि शाहको डुबेर मृत्यु भएको छ । मंगलबार नै डुबेका शाहको बिहीबार शव फेला परेको हो । नेपालगञ्ज–१२ का शाह साथीहरुसँग पौडी खेल्न किरण नालामा पुगेका थिए । रवि डुबेपछि साथीहरु फर्किएका थिए । स्थानीयले मंगलबार नै एकजना डुबेको बताएपछि प्रहरीले खोजी गरेको थियो । तर, को भन्ने खुलेको थिएन । बिहीबार पौडी खेलेको स्थान नजिकै रविको शव भेटिएको हो । यी दुईसँगै बाँकेमा बाढीका कारणले मृत्यु हुनेको संख्या सात पुगेको छ । २०७१ पछिको ठूलो बाढीले बाँकेमा ठूलो धनजनको क्षति पु¥याएको छ ।