ब्लड बैंक नहुँदा बिरामी मर्कामा, सेना र सञ्चारकर्मिले नियमित रगत दिनुपर्ने बाध्यता


रविन भट्टराई,ताप्लेजुङ ।

ताप्लेजुङमा एक सरकारी सहित दुई वटा अस्पताल सञ्चालनमा रहेपनि रक्त संचार केन्द्र (ब्लड बैँक) नहुँदा बिरामी मर्कामा परेका छन् ।

उपचारका क्रममा आवश्यक रगत अस्पतालले बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र जटील उपचार गर्ने गरेको छ । बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामी मर्कामा परेका छन् ।

जिल्ला रेडक्रस शाखामा समेत रक्तसञ्चार केन्द्र नभएकाले रगत आवश्यक पर्ने बिरामीको उपचारमा समस्या हुने गरेको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ । अस्पतालमा विरामिलाई रगत आवस्यक परे स्थानिय सञ्चारकर्मि र नेपाली सेनाका जवानहरुले दिदै आएको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

गाउँबाट उपचारमा आएका कतिपय बिरामी तत्कालै शल्यक्रिया गर्नु पर्ने भएपनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ । गर्भवती, गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा परेका छन् ।

बिरामीका आफन्तले तत्काल रगत उपलब्ध गराउन नसक्दा नेपाल रेडक्रस सोसाईटि, नेपाल पत्रकार महाँसंघ र नेपालीमा सेनामा सम्पर्क गरी आपुर्ति टार्दै आएको रेडक्रसका सभापति गणेश अधिकारीले बताउनुभयो ।

विरामीको जटिल उपचारमा रगत अनिवार्य चाहिने भए पनि रक्त सञ्चार केन्द्र नभएकाले उपचारमा समेत ढिलो हुने समस्या रहेको डाक्टर भुपाल न्यौपानेले बताउनुभयो ।

रक्त सञ्चार केन्द्र नहुँदा रक्तकेसिका तथा इन्जायम मात्र उपचारमा आवश्यक भए पनि रगत नै दिनुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

आर्थिक रूपमा सक्षम समुदायले हेलिकप्टर चार्टर गरेर सहरका सुविधा सम्पन्न अस्पतालमा पुग्न सक्छन् । तर रगत अभावमा पिछडिएका, लक्षित, विपन्न वर्गको पहुँच नपुग्ने हुँदा मृत्युलाई भाग्यको खेल सम्झनुको विकल्प नभएको स्थानिय धर्म पौडेलले बताउनुभयो ।