ठाउँठाउँमा कन्या पुजिए

0
Shares

 

मोतीराम तिमल्सिना, काभ्रे
बनेपा र आसपासका विभिन्न क्षेत्रमा कृष्णअष्टमीको अवसरमा कन्याहरू पुजिएका छन्। १ सय १५ वर्ष अघि शुरु भएको ऐतिहासिक बृहत्त कन्या पूजा बनेपामा सम्पन्न भएको छ।

अविवाहित तथा रजश्वला नभएका र बेल विवाह नगरिएका कन्याहरूलाई विभिन्न विधीका साथ पूजा गरिँदै आएको छ। ‘घरबाट शुरु गरिएको कन्या पूजा अहिले नेपालमै नमुना भएको छ’ –कन्या पूजा प्रबन्ध समितिका सचिव सुरकृष्ण वैद्यले भने, ‘बाजे बराजुले शुरु गरेको संस्कृतिलाई जतिसुकै खर्चिलो भए पनि पूरा गर्ने अभियान चलाएका छौं।’ बनेपा आसपास ७ गाउँका कन्याहरूलाई बनेपामा पूजा गरिँदै आएको परम्परालाई ब्यवस्थित गर्न समिति नै गठन गरिएको थियो। बनेपाको भोलाखाटोलबाट शुरु भएको बृहत्त कन्यापूजाको शुरुआतमा भोलाखा गणेशलाई पूजा गरी विधिअनुसार सुरकृष्ण वैद्यको घरबाट निस्किएको पूजा, टीका र जंजका(काँचो धागो) तेलले कन्यालाई स्वारी, मालपुवा, चकलेट, छोकडा, विस्कुटसहित पूजा गरिएको थियो।

भोलाखाटोलबाट पूर्वतिर भोलाखाटोल, स्वधाटोल र वकुटोलसिम्म बसिहरका कन्याहरूलाई पूजा गर्दै घुमेर, पश्चिमतिर फर्की वकुटोल, स्वधाटोल, भोलाखाटोल हुँदै दक्षुटोलसम्म दायाँतर्फका सडकको पेटीमा आसनमा बसिरहेका कन्याहरूलाई पूजा गर्दै लायकु ध्वाखासम्म आई, पूर्वतिर फर्केर दायाँतिरका पेटीमा बसिरहेका कन्याहरूले पूजा गर्दै भोलाखाटोल पुगेपछि विर्सजन भएको सचिव वैद्यले जानकारी दिए। निःशुल्क गरिएको कन्यापूजाका लागि पबन्ध समितिको करिब १५ लाख खर्च भएको छ। दाताहरूलाई दिएको केही रकमबाहेक अन्य खर्च समितिका पदाधिकारीहरूले नै ब्यहोर्दै आएको वैद्यले जानकारी दिए। जात्राको व्यवस्थापन गर्न अक्षयकोषको स्थापना गरी थप रकम संकलन गरिएको समितिका सदस्य प्रकाश कायस्थले बताए।

‘समितिको पहलमा शुरुमा ११ लाखको अक्षयकोषमा करिब केही रकम थप गरिएको छ’ –कायश्थले भने,‘केही दिन अघिदेखि ३०⁄४० जना मजदुरहरूद्वारा ८० हजार स्वारी, ८ हजार माल्पुवा पकाइएको छ।’ एउटी कन्याले ८ वटा स्वारी र एउटा माल्पुवा समितिको तर्फबाट पाएकी छिन् भने अन्य सामग्रीहरू करिब १ सयभन्दा धेरै ब्यक्तिहरूले पूजा गर्दा उपलब्ध गराएका छन्। कन्याहरूलाई पूजा गर्दा सुस्वास्थ्य, सुभमङ्गल र सुखमय जीवनको कामना गरिएको छ। बनेपा आसपास ७ गाउँबाट कन्याहरू पूजामा सहभागी भएका थिए। कन्याहरूलाई पूजा गर्दा उनीहरूको आर्शीवादका कारण मन हलुङ्गो हुने, आत्मसन्तुष्टि मिलेको, इच्छा पूरा भएको र केही हराएको बस्तु पाएकोजस्तो महशुस हुने गरेको विश्वास छ। बनेपाको अलावा, साँगा, बुडोल, नाला, चौकोट, धुलिखेल, पनौती, धनेश्वरलगायतका स्थानमा पनि कन्या पूजा गरिएको छ।