नेपाली र अमेरिकी सेनाको सहकार्यमा गोरखामा स्वास्थ्य शिविर

0
Shares

सन्तोष अधिकारी, गोरखा । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा गोरखा नगरपालिका ८ आहालेको सरस्वति माध्यामिक बिद्यालय परिसरमा पाँच दिने निःशुल्क स्वास्थ्य शिविर चलिरहेको छ ।

शिविरस्थल सरस्वति माबिको मैदान स्तरउन्नती गर्नुका साथै भबनहरु मर्मत, रङरोगन, वायरिङलगायत कार्यहरु पनि गरिएको छ । यस्तै संसारी माबि गाँखु, महेन्द्र माबि कुन्दुर, गोरखा अस्पताल, छेवेटार स्वास्थ्यचौकीमा पनि वायरिङ, भबनहरु मर्मत लगायतका कार्यहरु नेपाली सेना र अमेरिकन सेनाको संयुक्त टोलीले गरेको हो ।

शिविरमा बिभिन्न रोग हेर्ने नेपाली सेनाका ११ जना र अमेरिकन सेनाका ३१ जना डाक्टरहरुले सेवाग्राहीको उपचार गर्दै आएका छन् । बालरोग, छाला तथा यौनरोग, दन्त, आँखा, सामान्य उपचारलगायतका सेवाहरु शिविरमा रहेको गोरखास्थित रणसिंहदल गणका सेनानी मनोज खड्काले जानकारी दिए ।

आँखा, दाँत, रुघाखोकी, ज्वरोलगायतका रोगका बिरामीहरु शिविरमा धेरै आएका छन् । आँखाका बिरामीलाई उपचारपछि चस्मा, दाँतका बिरामीलाई ब्रस, मञ्जनलगायत रोग अनुसार आवश्यक पर्ने औषधिहरु निशुल्क रुपमा उपलब्ध गराइएको नेपाली सेनाले जनाएको ।