कोरा शिक्षाले दक्ष जनशक्ति उत्पादन हुदैन : मन्त्री श्रेष्ठ

0
Shares

धन बस्नेत, पोखरा ।

उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले बर्तमान कोरा शिक्षाले देश बनाउन नसकिने भन्दै युवालाई व्यवसाकिय शिक्षा दिनुपर्ने औंल्याएका छन् । ‘कोरा शिक्षाले विद्यार्थी उत्पादन भएका छन् तर दक्ष छैनन् ।’ उनले पोखरामा मंगलबार गुरुङ समूदायको ट्होटे पर्वको उदघाटन गर्दै भने—‘अब व्यवसायिक शिक्षाको खाँचो छ । दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ ।’

उनले ५० लाख युवा पुस्ता विदेशिएको भन्दै अब व्यवसायिक शिक्षा प्रदान गर्दै दक्ष बनाउन सकिए आफनौ देशको विकासमा प्रयोग गर्नुपर्नेमा जोड दिए । ‘हामीले हङकङ बनायौं, सिंगापुर बनायौं, मलेसिया बनायौं ।’ उनले भने—‘अब आफनै देश बनाउनुपर्छ । त्यसको लागि शिक्षामा फड्को नमारी हुदैन् ।’ मन्त्री श्रेष्ठले व्यवसायिक शिक्षाको लागि भोकेशनल ट्रेनिङ समेत दिनुपर्ने स्पष्ट पारे ।

दक्ष नहुदाँ युवा पुस्ता साउदी कतार र मलेसियामा ‘डेन्जर’ प्रकृतिको काममा खटिएको उनको भनाई थियो । मन्त्री श्रेष्ठले सामुदायिक विद्यालयको शिक्षामा फड्को मार्नुपर्ने बताए । ‘शिक्षामा आमुल परिवर्तनको खाँचो छ ।’ उलने भने—‘ व्यवसायिक शिक्षा तर्फ नजाने हो भने विद्यार्थी उत्पादन हुन्छन् तर दक्ष हुदैनन् ।’ साउनको अन्तिम मंगलबार गुरुङ(तमु) जातिहरुले परम्परागत साँस्कृतिक ट्होटें मनाउँदै आएका छन् । समुदायले २०५२ सालदेखि साउन अन्तिम मंगलवार र चैत्र महिनाको अन्तिम मंगलवार सामुहिक रुपमा यो पर्व मनाउँदै आएका छन् ।

 

यस पटको उधौली ट्होटे पोखरा १ बगरस्थित टुडिखेलमा भेलाभई पुजाआजा गरी ट्होटें खेल्दै तमुहरुको नयाँ बजार स्थित तमु धिं मा खेली सेतीमा विसर्जन गरिएको थियो । ट्होटें पर्व मनाउनाले रोग, ब्यधा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास छ । साथै ट्होटें मनाएमा राक्षस, भूतप्रेत भाग्ने तथा कुसँस्कृति हट्छ भन्ने पनि पुरानो मान्यतालाई निरन्तरता दिदै गुरुङ् समुदायको साझा संस्था तमु धिं नेपालको पहलमा बाजागाजा र झाँकीसहित ¥याली प्रदर्शन गरेका थिए ।

र्यालीमा सहभागी भै भेषभूषा, बाजागाजा तथा झाँकीमा उत्कृष्ट हुनेलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ । ¥यालीमा पुरुषहरु भाङ्ग्रा, भोटो, आस्कोट, कछाडमा र महिलाहरु छिट्को गुन्यू, टिकिस, घलेक र पटुकामा चिटिक्क सजिएका थिए । विदाका कारण स्कूले विद्यार्थीहरुको पनि ¥यालीमा बाक्लो उपस्थिति थियो । केही सहभागीहरुको अनुहार विभिन्न रंगले पोतिएको देखिन्थ्योे भने केहीले रुखका हाँगाबिङ्गाहरुको कपडा लगाएर ढ्याँग्रो ठोक्दै नगर परिक्रमा गरेका थिए । गुरुङ्ग भाषमा ‘ट्हो’ को अर्थ राज्य र ‘टे’ को अर्थ धपाउने भन्ने हुन्छ । राज्यबाट शत्रुलाई भगाउनु तथा धपाउनुनै वास्तवमा ट्होटे हो । ग्रामीण भेगमा भने शत्रु तथा भूतप्रेत धपाउने पर्वको रुपमा यो पर्व चर्चित छ ।