टोटनह्यामको विजयी शुरूआत

0
Shares

 

लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा टोटनह्याम हटस्पोरले विजयी शुरूआत गरेको छ।

विजयी शुरूआत गर्नेक्रममा टोटेनह्यामले न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको हो। पहिलो हाफसम्म गोलरहित टुंगिएको उक्त खेलको ४८औं मिनेटमा न्युक्यासल १० जनामा खुम्चिएको थियो। न्युक्यासलका सल्भे रातोकार्डको शिकार बनेका थिए। जसको फाइदा टोटनह्यामका डेल्ले अलिले ६१औं मिनेटमा गोल गर्दै उठाए। यसै गरी खेलको ७०औं मिनेटमा बेन डेभिसले अर्को गोल गरेपछि टोटनह्यामको जित पक्का बन्यो।

यसअघि शनिबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन चेल्सीले सिजनको पहिलो खेलमा नै पराजय भोग्नुपर्यो। ९ खेलाडीमा सिमित चेल्सीलाई उसैको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बर्नलीले ३–२ गोलअन्तरले हराएको हो। कप्तान ग्यारी काहिलले खेलको १४औं मिनेटमा नै रातो कार्ड देखेपछि चेल्सीलाई झट्का लागेको थियो। स्टेफन डेफोरलाई फाउल ट्याकल गरेकाले रेफ्रीले केहिललाई रातोकार्ड देखाएका थिए। बर्नलीले त्यसको फाइदा पहिलो हाफमा नै उठायो। १० जनामा सीमित चेल्सी पहिलो हाफमै ३–० ले पछि परेको थियो। स्याम भोक्सले खेलको २४औं मिनेटमा गोल गरेपछि बर्नलीको गोलको खाता खोलेका थिए।
यस्तै खेलको ३९औं मिनेटमा स्टेफन वार्डले उत्कृष्ट गोल गरेपछि बर्नलीको अग्रता दोब्बर बन्यो। खेलको ४३औं मिनेटमा भोक्सले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा डेफोरको क्रसमा हेडमार्फत् गोल गर्दै बर्नलीको गोल संख्या ३ पुर्याए।

दोस्रो हाफमा चेल्सीले सुधारिएको प्रदर्शन गर्यो। विलियन्सको पासमा अल्भारो मोराटाले खेलको ६९औं मिनेटमा गोल फर्काउँदै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, खेलको ८१औं मिनेटमा सेच फेब्रिगासले रातोकार्ड पाएपछि चेल्सी ९ खेलाडीमा सीमित भयो। तैपनि हारबाट जोगिने प्रयासलाई जारी राखेका चेल्सीको तर्फबाट खेलको ८८औं मिनेटमा डेभिड लुइजले गोल गरेपछि चेल्सीले गोलअन्तरलाई कम गर्यो। तर, उक्त गोल हारलाई भने टार्न भने पर्याप्त बनेन। योसँगै चेल्सीले सिजनको पहिलो खेलमा हार आत्मसात गर्दै निराशाजनक शुरूआत गर्न बाध्य बन्यो।

रुनीको गोलमा इभर्टनको जित

म्यानचेस्टर युनाइटेडबाट जारी सिजनमा एभर्टन पुगेका वायने रुनीको गोलमार्फत् स्टोक सिटी १–० ले पराजित भएको छ।

इभर्टनको घरेलु मैदानमा शनिबार भएको उक्त खेलको पहिलो हाफको इन्जुरी समयमा रुनीले हेडमार्फत् गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए। जुन खेलकै निर्णायक सावित बन्यो। प्रिमियर लिगमा रुनीको यो १ सय ९९औं गोल हो। १३ वर्षपछि एभर्टन फर्केका ३१ वर्षीय रुनीको विजयी गोलसँगै पछिल्लो ५ वर्षयता पहिलोपटक एभर्टनले सिजनको पहिलो खेलमा जित हासिल गरेका छन्।

सिटीको विजयी शुरूआत
यसै सिजन प्रिमियर लिगमा बढुवा भएको ब्राइटन एन्ड होभ आल्बिएनलाई २–० ले पराजित गर्दै म्यानचेस्टर सिटीले पनि जारी सिजनमा विजयी शुरूआत गरेको छ।

ब्राइटनको घरेलु मैदान एमेक्स रंगशालामा शनिबार खेलिएको उक्त खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो। सिटीको जितमा खेलको ७०औं मिनेटमा डेभिड सिल्भाको पास सदुपयोग गर्दै सर्जियो अगुएरोले पहिलो गोल गरेका थिए।
यस्तै खेलको ७५औं मिनेटमा सिटीले आत्मघाती गोलको मद्दतले अग्रता दोब्बर पार्यो। फर्नान्डिन्होको क्रसमा गाब्रियल जेससलाई रोक्ने क्रममा डिफेन्डर लेविसले आफ्नै गोलपोस्टमा बल छिराउन पुगेका थिए।

प्रिमियर लिगअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलहरूमा हर्डरफिल्डले क्रिस्टल प्यालेसमाथि ३–० को जित निकाल्दा वेस्टब्रुमबिचले बर्नमाउथलाई १–० ले हराएको थियो। यस्तै वार्टफोर्ट र लिभरपुलले ३–३ तथा साउथह्याम्टन र स्वान्सी सिटीले गोलरहित बराबरी खेल्दै अंक बाँडे।