कोशीब्यारेजको ढोका नेपालमा, चाबी भारतसँग, ढोका खोल्न किन मान्दैन भारत ?

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।
सन् १९६२ मा निर्माण भएको कोशी ब्यारेजको आयुु ५० वर्ष मात्र हो । आयूू लम्बिदै जाँदा यसको पानीको बहाब सहन क्षमता समेत कमजोर बनेको छ ।

यहीकारण ०६५ साल भदौ २ गते सामान्य बहाबमै कोशीको पूर्वी तटबन्ध भत्किएर बितण्डा मच्चिएको थियो । सो बेला ३२ जनालाई कोशीले बगाएको थियो भने ७ हजार ५६५ घरपरिवार पूर्ण विस्थापित बन्न पुुगेका थिए ।

निर्माणको मितिबाट हिसाब गर्ने हो भने कोशी ब्यारेजको आयुु ५५ वर्ष पूरा भइसक्यो । यसको अर्थ कोशी ब्यारेज जुनसुकै बेला भत्किनसक्ने खतरा रहेको भारतीय प्राविधिकहरुले नै बताउने गरेका छन् ।

ब्यारेज जुनसुकै बेला भत्किनेसक्ने यही खतरा बुुझेको भारतीय पक्षले कहिलेकाही आइएसले ब्यारेज उडाउने धम्की दियो भन्दै हल्ला फैलाउँछ भने कहिलेकाही ब्यारेज नै सार्नेसम्मको प्रस्ताव गर्छ । समग्रमा कोशी र कोशीको पानीतर्फ कर्के नजर लगाएको भारतसँग तल पर्न ५५ वर्षअघि गरिएको सम्झौताको पुनरावलोकन नभएसम्म कोशीको कहर र त्रास कम हुने अवस्था छैन ।

आयुु नै सकिइसकेको ब्यारेज धेरै बहाब थेग्न नसकेर भत्कियो भने त्यसले नेपालको सुनसरी र सप्तरीको अधिकांश भूूभाग तहसनहस बनाइदिन्छ ।

कोशी बहुलाउँदा ठूलो घाटा भारतलाई पनि छ । बिहारको मधुवनी, दरभंगा, पूूर्णिया, सहर्सा, कटिहार, सुपौलजस्ता क्षेत्रहरु समेत कोशीका कारण हरेक वर्ष प्रताडित बन्दै आएका छन् । ०६५ सालमा कोशी फुट्दा नेपालमा भन्दा बिहारका यी क्षेत्रमा बढी धनजनको क्षति भएको थियो ।

ढोका खोल्न किन मान्दैन भारत ?

कोशी ब्यारेजमा भारतीय प्राविधिक लगायतको कर्मचारीहरुको टोली सधैं कार्यरत हुन्छ । ब्यारेजमा उनीहरुले कार्यालय नै खोलेर कोशीको गतिविधिमाथि निगरानी गरिरहेका हुन्छन् ।

पानीको बहाब खतराको लेभल भन्दा माथि गइसकेपछि बढी भन्दा बढी ढोका खोल्न सकिए मात्र त्यसबाट नेपाली भूूभाग र बस्ती जोगाउन सकिन्छ । तर, कोशी कन्ट्रोल रुमका कर्मचारी त्यसो गर्दैनन् । सुनसरी र सप्तरी गरी दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सयौ अनुरोध गर्दा पनि उनीहरु मरिगए ढोका खोल्दैनन् ।

हरेक वर्षायाममा कोशीको ढोका खुलाउनका लागि परराष्ट्रमन्त्रीले नै प्रयास गर्नुपर्ने तीतो बिडम्बना छ । आज पनि त्यही भयो ।

कोशीमा पानी उर्लिएपछि सुनसरीको प्रमुख जिल्ला अधिकारी राजेश गिरीले गृहमन्त्रालयलाई लेखी पठाए र गृहले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेपछि भारतीय राजदूतलाई परराष्ट्रमन्त्री कृष्णबहादुर महराले तत्काल थप ढोका खोल्ने वातावरण बनाउन आग्रह गरे ।
|
थप ढोका खोल्न पहल गर्ने भारतीय दूतको प्रतिबद्धता आएको भनिए पनि यो आलेख तयार गर्दासम्म थप ढोकाहरु खोलिएका छैनन् ।

कोशी नदीलाई भारतीयहरु ‘बिहारको आँसु’ उपनामले चिन्छन् । यसको अर्थ हो, कोशी ब्यारेजको ढोका धेरै खोले पानी भारततर्फ जान्छ र त्यसले बिहार तहसनहस बनाउने डर हुन्छ ।

आफ्ना नागरिकलाई सुरक्षित बनाउने यही स्वार्थका कारण बरु नेपाली भूूभाग जति डूूबानमा परे पनि टुलुटुलुु हेर्दै बस्ने भारतीय कर्मचारी ब्यारेजको ढोका खोल्न कञ्जुस्याई गर्छन् ।

भारतीयहरु माथि पर्ने यही व्यवस्था र हाम्रो सरकारको बेवास्ताकै कारण केही वर्षअघि कोशीको तटबन्ध भत्किएर नेपाली बस्तीमा बितण्डा मच्चिएको थियो ।

हजारौं घरबारविहीन भएका थिए । कयौंले सो क्रममा ज्यान गुमाएका थिए ।