फेडेरर सेमिफाइनलमा

0
Shares

 

लन्डन, (एजेन्सी)
रोजर फेडेररले स्पेनका रोबेर्टो बाउटिस्टा अगटलाई हराएर क्यानडाको मन्ट्रियलमा जारी रोजर्स कपअन्तर्गत सेमिफाइनलमा स्थान
बनाएका छन्।

यो ३६ वर्षीय फेडेररको लगातार १५औं जित थियो। स्विस खेलाडीले मात्र ६८ मिनेटमा सो खेल ६–४, ६–४ ले जितेका थिए। उनले फाइनल पुग्नका लागि वरीयताविहीन डच खेलाडी रोबिन हासेसँग खेल्नेछन्। फेडेररले उनको करिअरमा तेस्रो रोजर्स कप जित्ने लक्ष्य राखेका छन्। विश्व नम्बर एक एन्डी मुरे हिप इन्जुरीका साथै प्रतियोगिताबाट किनारा भएपछि फेडेररका लागि विश्व नम्बर एकमा पुनः उक्लने मौका हुनेछ। त्यस्तै अर्को सेमिफाइनल खेलमा क्यानडाका डेनिस सापोभालोभको जर्मनीका एलेक्सान्डर जेभेरेभसँग हुनेछ। सापोभालोभले बिहीबार विश्व नम्बर दुई राफाल नाडाललाई हराएका थिए।

यस्तै रोजर्स कपअन्तर्गत महिला सिंगल्समा क्यारोलिन वजनियाकीले विश्व नम्बर एक कारोलिना पिलिस्कोभालाई ७–५, ६–७, ६–४ ले हराइन्। डेनिस खेलाडी वजनियाकी पहिलो सेटमा ५–१ ले पछि थिइन् भने तेस्रो सेटमा ४–२ ले पछि परेकी थिइन्। चेक खेलाडीविरुद्ध खेल जित्न उनले करिब ३ घण्टा समय खर्चेकी थिइन्। उनले टोरोन्टोमा हुने सेमिफाइनल खेलमा अमेरिकाकी स्लोन स्टेफेन्ससँग खेल्नेछिन्। स्टेफेन्सले क्वार्टरफाइनलमा चेककी लुसी साफारोभालाई तीन म्याच प्वाइन्ट बचाएर ६–२, १–६, ७–५ ले पाखा लगाएकी थिइन्।