इन्डिजेनियस फेसन विक हुने

0
Shares

 

आदिवासी समुदायको मौलिकता झल्काउने पहिरनलाई विश्व समुदायमा समेत विस्तार गर्ने हेतुले यससम्बन्धी फेसन शो हुने भएको छ। यसका लागि वल्र्ड इन्डिजेनियस फेसन विक आयोजना गर्न लागिएको हो। फेसन विक आगामी सन् २०१८ मा आयोजना गरिने फेसन डिजाइनर उत्तम बनेपालीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

यसको तयारीका लागि छलफल गर्न मलेसियाबाट आदिवासी फेसनमा चासो राख्ने भारतीय नागरिक आर्बिन शर्माले आदिवासी पहिरनलाई प्राथमिकता दिन जोड दिए। वल्र्ड इन्डिजेनियस फेसन काउन्सिलका अध्यक्ष शर्माले नेपाली आदिवासी समुदायको पहिरन अन्य देशका आदिवासी समुदायको भन्दा फरक भएकाले विश्वस्तरमा यसको प्रवद्र्धन गर्नसमेत डिजाइनरहरूलाई सुझाए। ‘म यहाँ आउँदा यहीँका फेसन डिजाइनरहरुलाई आफ्नो संस्कृतिको बारेमा धेरै जानकारी नभएको पाएँ। अब डिजाइनरहरू जाग्ने बेला आएको छु, शर्माले भने– ‘राम्रो कन्सेप्ट बनाएर आदिवासी पहिरनको डिजाइन गर्नुपर्छ। आदिवासी पहिरनलाई प्रवद्र्धन गर्नुपर्छ।’ उनले पहिरनका रंग, डिजाइनलगायतका विषयमा ध्यान दिन पनि जोड दिए।

कार्यक्रममा फेसन विकको आयोजक संस्था फेसन फेडेरेसनका नेपाल अध्यक्ष नवीन लुइँटेलले नेपालमा हुने फेसन विकमा सात महादेशका डिजाइनर्स, वायर्स र विदेशी पाहुनाको उपस्थिति हुने बताए। फेडेरेसनका अनुसार यो वर्ष अफ्रिकाको सिसेल्स देशमा आयोजना हुने वल्र्ड इन्डिजिनियस फेसन विकमा नेपालका तर्फबाट फेसन डिजाइनरहरू सुस्मिता आले, सुभासिनी सिंह, कैलाश कुँवर, प्रेमकुमार देव र उत्तम बनेपाली सहभागी हुँदै छन्। उनीहरूले नेपालबाट विशेष किसिमको आदिवासी पहिरनको डिजाइनलाई त्यहाँ प्रस्तुत गर्ने बताइएको छ।