संगीत साधक योञ्जनको सम्झना

0
Shares

 

संगीत साधक स्व. गोपाल योञ्जनको ७४औं जन्मजयन्ती मनाइएको छ। मधुरिमा नेपाल र सांस्कृतिक संस्थानले संयुक्तरूपमा सांगीतिक कार्यक्रम आयोजना गरी संगीतकार, गीतकार तथा गायक स्व. योञ्जनको जन्मजयन्ती मनाएका हुन्।

सो अवसरमा सांस्कृतिक संस्थानका विभिन्न कलाकारहरुले योञ्जनले रचना गरेका र संगीत दिएका गीतहरु गाएका थिए। बनेको छ छहराले बोलको गीत त्रिकाल एकेडमी र मधुरिमाका बाल कलाकार, मलाई माफ गरिदेउ बोलको गीत गायिका शिला विष्ट, सेलो भाका शैलीको गीत गायक प्रेम लोप्चन र गायिका इन्दिरा गोले, मखमली चोली चाहिँदैन बोलको गीत गायिका चाँदनी मल्ल, कहाँ पर्यो पूर्व बोलको गीत गायक आकाश थापालगायत अन्य कलाकारले प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि फिल्म लेखक, निर्देशक तथा गीतकार चेतन कार्कीले योञ्जनलाई कला, गला र कलमको धनी भएको प्रतिभाका रुपमा सम्झिए। योञ्जनसँग बिताएको तीन दशक स्मरण गर्दै कार्कीले भने– ‘परिस्थितिअनुसार कसरी चल्नुपर्छ भन्ने कुरा मैले योञ्जनबाटै सिकें। उमेरमा ऊ मभन्दा कान्छो नै भए पनि उसलाई मैले जीवनदर्शनको गुरू मान्छु।’ यसका साथै आफू सफल निर्देशकका रूपमा स्थापित हुनुमा योञ्जनको हात रहेको पनि उनले खुलाए।

कार्यक्रमका अर्का अतिथि संगीतकार दीपक जंगमले योञ्जनसँग बिताएको क्षण अविस्मरणीय रहेको उल्लेख गर्दै योञ्जन सरल, इमान्दार र असल व्यक्तित्वले भरिपूर्ण प्रतिभा भएको चर्चा गरे। जंगमले उनको गायन र संगीतलाई लिएर अनुसन्धान हुनुपर्नेमा समेत जोड दिए। नृत्यांगना तथा गायिका विमला राईले गोपाल योञ्जनको गीतले आफूलाई चिनाएको र त्यही गीत अहिले आफ्ना विद्यार्थीलाई सिकाउने गरेको बताइन्। त्यस्तै योञ्जनकै अनुयायी गायक किरण प्रधानले अहिलेसम्म पनि योञ्जनलाई सम्झिरहने गरेको बताए। २०५४ सालमा सदाका लागि बिदा भएका योञ्जनको योगदानको कदर गर्दै मधुरिमा नेपालले २०५५ सालदेखि निरन्तररूपमा कार्यक्रम गर्दै आइरहेको छ। मधुरिमा नेपालका संस्थापक अध्यक्ष प्रदीप बम्जनले आफ्नो संस्थाले सदैव योञ्जनलाई सम्झिरहने पनि बताए।