सामा र छेकममा सात हिउँ चितुवा

0
Shares

 

सन्तोष अधिकारी, गोरखा
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले उत्तरी गोरखाका दुई हिमाली गाउँहरू सामागाउँ र छेकम्पारमा हिउँ चितुवाको संख्या सातवटा रहेको बताएको छ। प्राकृति संरक्षण कोष मनास्लु संरक्षण क्षेत्र आयोजनाको अध्ययनले सो तथ्यांक पत्ता लगाएको हो।

‘मनास्लु क्षेत्रमा सातवटा हिउँ चितुवा छ भन्ने चाहिँ हाम्रो प्राविधिक अध्ययनले पत्ता लगाइसकेको छ’, मनास्लु संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख नरेन्द्र लामाले भने– ‘केही पहिले गणना गरिएको हो। अहिलेसम्म सोही सातवटा नै रहेको अनुमान गरिएको छ। अरू पनि हुन सक्छ।’ एमक्यापले हिउँ चितुवाको संरक्षणका लागि नयाँ कार्यक्रम त्यसको आहाराको प्रजातिहरूको विषयमा पनि अध्ययन तथा अनुसन्धान गरिरहेको छ।
एमक्यापले समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रम पनि तीन तिनैवटा गाउँमा जारी राखेको छ। हिउँ चितुवा संरक्षणका लागि र त्यसको पहिचानका लागि स्थानीयलाई प्राविधिक तालिम पनि दिइसकेको मनास्लु संरक्षण आयोजनाले जनाएको छ।

त्यहाँका मानिसहरूलाई चितुवाले शिकार गरेको ठाउँ पहिचान गर्ने, जीपीएस चलाउन सिकाएर हिउँ चितुवाको वास्तविक तथ्यांक निकाल्ने काम गरिएको हो। एमक्यापले ती ठाउँका मानिसहरूलाई १५ वटा जीपीएस दिएर अनुसन्धान गरेको हो। समुद्री सतहबाट ३५ सय मिटरभन्दा माथिको उचाइमा पाइने सो हिउँ चितुवा गोरखामा ७ देखि १७ वटासम्म रहेको अनुमान यसअघिदेखि नै मनास्लु संरक्षण क्षेत्र आयोजनाले बताउँदै आएको छ।

उत्तरी गोरखामा हिउँ चितुवाले स्थानीयको घरपालुवा जनावर पनि खाएर दुःखसमेत दिने गरेको छ। मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार चितुवाले कसैको, घरपालुवा जनवार खाइदियो भने त्यसको क्षतिपूर्तिका लागि कोष पनि निर्माण गर्न लागिएको छ। सो बारे उत्तरी गोरखाका सिर्दीबास, ल्हो, प्रोक, छेकम्पार, विही, सामागाउँ, चुम्चेत गाउँमा स्थानीयलाई भेला गराएर संरक्षण क्षेत्र आयोजनाले छलफल कार्यक्रमसमेत गर्ने गरेको छ।

 

गोरखामा सातवटा रहेको हिउँ चितुवा नेपाल भर ३ सयदेखि ५ सयको संख्यामा रहेको अनुमान गरिएको छ। हिउँ चितुवा आहारको खोजीमा ३० देखि ४० वर्ग किलोमिटर टाढाको दूरीसम्म जाने भएकाले वास्तविक तथ्यांक निकाल्न समस्या भएको एमक्यापले जनाएको छ। यसअघि एमक्यापले छेकम्पारमा अध्ययन गर्दा एउटा माउ र दुईवटा पोथी हिउँ चितुवा प्रत्यक्ष देखेर नै गणना गरेको थियो। अरू चितुवाको भने दिसापिसाबको आधारमा गणना गरी संख्या यकिन गरिएको हो।

Skip This