जारको पानीमा बेइमानी


 

प्रशान्त वली, काठमाडौं
काठमाडौंमा जारको पानी भरिने स्थानमा प्रशस्तै अखाद्य सामग्रीहरू भेटिएका छन्। सरकारी निकायबाट अनुसन्धानका क्रममा यस्तो अवस्था पाइएको हो। पानी उत्पादन हुने क्षेत्रहरू नै प्रदूषित रहेको पाइएको छ। पानी उत्पादन हुने क्षेत्रको वरपरको वातावरण खुल्ला र अनुपयुक्त भएको भेटिएको हो। पानी उत्पादन गर्ने कम्पनीहरूले मेसिनरी अपडेट नगरेको, कार्वन फिल्टर र पाइप लाइन सफा नगरेको समेत भेटिएको छ।

यो अवस्थाले गर्दा किटाणुहरू पानीमा परी रोगहरूले आक्रमण गर्न सक्ने खतरा दिन प्रतिदिन बढ्दै गएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका अधिकृत रामकृष्ण श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। पानी राख्नका लागि आवश्यक पर्ने जारहरू टुटेफुटेको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त विशेष अनुगमन टोलीले विभिन्न कम्पनीका ६१ वटा जारहरू नष्ट गरेको थियो। ती जारहरू निकै पुराना र प्रयोग गर्नै घीन लाग्ने पाइएपछि नष्ट गरिएको हो।

जार सफा गर्ने मेसिन नराख्दा पानीमा किटाणु भेटिने भन्दै विभागले सचेत गराए पनि उत्पादक कम्पनीहरूले मनोमानी गर्दै आएका छन्।

पानी उत्पादक कम्पनीहरूले आफूहरूले उपभोक्तालाई स्वच्छ र सफा पानी उपलब्ध गराउँदै आएको भने पनि व्यवहारमा त्यस्तो नपाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत नारायण भट्टराईले जानकारी दिनुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत भट्टराईले भन्नुभयो– ‘हामीले उत्पादक कम्पनीहरूलाई योग्य र सफा पानी उपलब्ध गराउन आग्रह गरेका छौं। र, मापदण्डमा रहेर कम्पनी सञ्चालन गर्न आग्रहसमेत गर्यौं। यदि पानीजस्तो स्वास्थ्यसंग जोडिएको संवेदनशील विषयमा खेलवाड गरेको पाइए पुनः अनुगमनका क्रममा कम्पनीनै शिलबन्दी गर्न वाध्य हुनेछौं।’

अनुगमनका क्रममा काठमाडौंको गोंगबुमा रहेको आक्वा पिक कम्पनीमा जार सफा गर्ने मेसिन नभएको र खुला स्थानमा पानी उत्पादन कार्य भइरहेको भेटिएको छ। यसै गरी स्नो वेभरेज प्राइभेट लिमिटेड टोखामा पानी उत्पादनका लागि आवश्यक पर्ने मेसिनरी सामानहरू नभएको, कार्वन फिल्टर उपर्युक्त नभएको, पाइप सफा नभएको पाइएको छ। यस्तै, अक्वावा अविरल टोखामा जार राख्ने मेसिन नभएको र एप्रोनको उपर्युक्त प्रयोग नभएको पाइएको छ। गोगंबु क्षेत्रमा नजिकै रहेको साङले खोलाको पानीलाई उपयोग गर्ने उद्देश्यले १ सय २५ फिट गहिराइमा बोरिङ खनी पानी उत्पादन गरिएको विभागका अधिकृत श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। काठमाडौं उपत्यकामा नजिकै रहेका वागमती, विष्णुमती, मनोहरा, नख्खु, बल्खु, कर्मनासा, कोडकु, साङले, महादेव खोला र धोबी खोला भएको स्थानमा बोरिङको प्रयोग गरी पानी उत्पादन कम्पनीहरू स्थापना गरिएका छन्।

पानीका कारण झाडापखाला, टाइफाइड, बान्ता, हैजालगायतका रोगहरूको संक्रमण हुने भन्दै कम्तीमा १ सय डिग्री सेल्सियसमा पानी उमालेर खानुपर्ने डाक्टरहरूको सुझाव छ। उत्पादक कम्पनीहरूले पानी प्रशोधनको क्रममा एप्रोनहरू प्रयोग नगरेको समेत भेटिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागकाले जानकारी गराएको छ।

अटेर गरिए दूषित पानी बेच्ने कम्पनी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिने विभागका सह–प्रवक्ता मदन चापागाईंले जानकारी दिनुभयो। न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्रीवितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पहिलोपटक १ हजार रुपियाँदेखि २ हजार रुपियाँसम्म जरिवाना र दोस्रोपटकदेखि प्रत्येकपटक २ हजार रुपियाँदेखि ५ हजार रुपियाँसम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्नेछ।

दूषित खाद्य पदार्थ उत्पादन, बिक्रीवितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई ५ हजार रुपियाँदेखि १० हजार रुपियाँसम्म जरिवाना वा १ वर्षदेखि २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ। कुनै दूषित खाद्य पदार्थ खानाले कुनै व्यक्तिको मृत्यू हुने सम्भावना भएमा वा मृत्यू भएमा वा शरीरलाई अपूरणीय क्षति भएमा वा हुने सम्भावना भएमा त्यस्तो दूषित खाद्य पदार्थ उत्पादन वा बिक्रीवितरण गर्ने व्यक्तिलाई १० हजार रुपियाँदेखि २५ हजारसम्म जरिवाना र ३ वर्षसम्म कैद हुन सक्नेछ र बितरकले सो दूषित खाद्य पदार्थबाट प्रभावित व्यक्ति वा निजको हकदारलाई २५ हजार रुपियाँदेखि १ लाख रुपियाँसम्म क्षतिपूर्ति दिनुपर्नेछ।