डा. बाङ्देलको सम्झना

0
Shares

 

नेपाली कलालाई अन्तर्राष्ट्रियरूपमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वको परिचय बनाएकी कला इतिहासकार, क्युरेटर, लेख डा. डीना बाङ्देलको निधनको १३औं दिनको तिथिमा नेपाल आर्ट काउन्सिलमा श्रद्धाञ्जली सभा गरियो।

कार्यक्रममा कलाको इतिहासमा डीनाको गहिरो र व्यापक रुचि र अध्ययन रहेको काउन्सिलका उपाध्यक्ष सागरशमशेर राणाले चर्चा गरे। ‘भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा कलासम्बन्धी इतिहासको निर्देशक पदमा रही विभिन्न राष्ट्रमा कार्यरत अनुभवी विशेषज्ञसँग सम्पर्क राखेर नेपालको कलालाई विश्व जगत्सम्म पुर्याउनुभएको थियो’ –उनले सुनाए। नेपाली कलालाई विश्वमा चिनाउन डीनाले महत्त्वपूर्ण योगदान दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले बताए। नेपाली परम्परागत, लोक, समसामयिक कलामा गहिरो रुचि राख्ने डीनाको निधनले नेपाली कला क्षेत्रले विशिष्ट व्यक्तित्व गुमाएको कलाकार तथा कला लेखक मदन चित्रकारले बताए। नेपाली कला क्षेत्रमा विशिष्ट योगदान दिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले बताइन्।

मृत्युलाई पत्याउनै मुश्किल परिरहेको चिराग बाङ्देलले बताए। नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाउँदै काउन्सिलका अध्यक्षसमेत रहेका सत्यमोहन जोशीले भने– ‘एउटा समीक्षक, इतिहासकारलाई नेपालीले गुमाउनुपरेको छ।’ कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागकी प्रमुखसमेत रहेकी डा. डीना बाङ्देलको साइनसबाट निधन भएको थियो। रुघाखोकी बिग्रिएपछि त्यसको शल्यक्रियाका लागि बाङ्देल दुई साताअघि अस्पताल भर्ना भएकी थिइन्। शल्यक्रियापछि भएको संक्रमणले उनमा मेनेन्जाइटिस देखिएको थियो।

ओहायो युनिभर्सिटी अमेरिकाबाट विद्यावारिधि गरेकी बाङ्देलले दक्षिण एसियाली समकालीन कला र सिनेमामा लैंगिक र पहिचानका मुद्दामा समेत अनुसन्धान गरेकी थिइन्। कलाकार लैनसिंह बाङ्देलकी एक मात्र सन्तान डीनाको ५४ वर्षको उमेरमा निधन भएको हो। अमेरिकाको भर्जिनिया विश्वविद्यालयले डा. बाङ्देललाई कला विभागको प्रमुख बनाएर कतार पठाएको थियो। ५ वर्षदेखि कतारमा रही प्राध्यापन कार्यमा सक्रिय बाङ्देलले नेपाली कलालाई अन्तर्राष्ट्रियरूपमा चिनाउन विभिन्न कार्यक्रसमेत गर्दै आएकी थिइन्। बाङ्देलकी आमा मनकुमारी, श्रीमान् बिभाकर शाक्य र दुई छोरा देवेन र नील छन्। कार्यक्रम नेपाल आर्ट काउन्सिलको आयोजनामा भएको हो। डा. डीना काउन्सिलको कार्यकारी सदस्यसमेत रहेकी थिइन्।