चर्या नृत्यमा वज्रयान विजयी

0
Shares

 

नृत्य निर्देशक संघ नेपालको आयोजनामा ललितपुरमा सम्पन्न जिल्लाव्यापी शास्त्रीय चर्या नृत्य प्रतियोगितामा वज्रयान चर्या मण्डल, श्रीवहालले प्रथम भएको छ।

१३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरेको मण्डलले वज्रयोगिता चर्या नृत्य प्रस्तुत गरेको थियो। आरती शाक्य, अञ्जु शाक्य, लहना शाक्य, अलस्का शाक्य, निस्ला शाक्यले प्रस्तुत गरेको नृत्यका निर्देशक नानीबाबु महर्जनले नै उत्कृष्ट नृत्य निर्देशकको पुरस्कार पनि चुमे।

प्रतियोगितामा सम्यक आजीविका अध्ययन केन्द्रका सिर्जना वज्राचार्य, स्मृति वज्राचार्य, समृद्धि वज्राचार्य, मिजला शाक्य, श्रृति शाक्यले राजु शाक्यको निर्देशनमा प्रस्तुत गरेको कुमारी नृत्य द्वितीय भयो। त्यसै गरी यशोधर महाविहार चर्या नृत्य मण्डलका एलिसा वज्राचार्य, आस्ना वज्राचार्य, श्रीया वज्राचार्य, यचु वज्राचार्य, श्रृष्टि वज्राचार्यले हेमरत्न वज्राचार्य (हेम गुभाजु) र माइला गुरुजुको निर्देशनमा प्रस्तुत गरेको पञ्चबुद्ध चर्या नृत्य तृतीय तथा नेपालभाषा मंकाः खलः यलका गरिमा महर्जनले प्रस्तुत गरेको मञ्जुश्री चर्या नृत्य सान्त्वना भएको छ।

पुरस्कृत प्रतियोगीहरुलाई प्रमाणपत्रसहित क्रमशः १५, १०, ५ र ३ हजार रुपियाँ प्रदान गरिएको छ। शिल्ड भने श्रावण २६ गते राष्ट्रिय नृत्य महोत्वस २०७४ को अवसरमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने आयोजक संघले जनाएको छ।
संघका केन्द्रीय उपाध्यक्ष सञ्जय शर्मा राजोपाध्यायको सभापतित्वमा सम्पन्न प्रतियोगिता ज्ञानबहादुर महर्जनको संयोजकत्वमा भएको थियो। प्रतियोगितामा नृत्य निर्देशक वीणा जोशी, चर्या गुरू यज्ञमानपति वज्राचार्य, नृत्य निर्देशक चन्द्रमान मुनिकार निर्णायक रहेका थिए। कार्यक्रममा शेरबहादुर महर्जन, कास्पल कपिल श्रेष्ठ र दृष्टिविहीन न्हुच्छे महर्जनले गीत प्रस्तुत गरेका थिए भने ललितपुर कल्चरका सनीषा महर्जन, सेरेना महर्जन र सेविकाले सुनीता महर्जनको निर्देशनमा नेपालभाषाको गीत लिक्क वया जितः धाल वंमा नृत्य प्रस्तुत गरिएको थियो। त्यस्तै ज्ञानशिखा बोर्डिङ हाइस्कुलका विद्यार्थी प्रशंसा महर्जन, रिया महर्जन, श्रीजा अवाले, मनीषा श्रेष्ठ, एलिना मगर, रोजिना पोखरेलले गौतम नकर्मीको निर्देशनमा त्यो डाँडामा कोइली करायो बोलको गीतमा तामाङ सेलो नृत्य प्रस्तुत गरिएको थियो।