गाउँबाट धमाधम शहरमा सरुवा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
दरवन्दी मिलानका नाममा शिक्षा अधिकारीले शिक्षा समितिको बैठक र विद्यालय ब्यवस्थापन समितिको सहमति विपरित सरुवा गरिएका शिक्षकहरुको चौतर्फि विरोध भएपछि शिक्षा अधिकारीले पातलेखेतको हनुमान मावि लगायत ८ जना शिक्षकको काज सरुवा फिर्ता गरेका छन् ।

गाउँमा विद्यालय खाली गर्दै शिक्षकहरु धमाधम शहरका विद्यालयमा काज सरुवा मिलाएर थुप्रिएका छन् । शिक्षक सरुवाको विरुद्धमा धुलिखेल नगरपालिका र चौरीदेउराली गाउँपालिकाले लिखित रुपमै विरोध गरेको छ । उक्त स्थानीय तहहरुले काजमा सरुवा भएर आएका शिक्षकहरुको तलब रोक्का गर्ने जानकारी शिक्षा कार्यालयलाई गराईसकेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेले पनि ग्रैह्कानुनी निर्णय सच्याउन माग गर्दै शिक्षा कार्यालय, शिक्षा समितिका संयोजक, प्रमुख जिल्ला अधिकारी र शिक्षा विभाग मा ज्ञापनपत्र बुझाएका छन् । संगठनका अध्यक्ष श्यामप्रसाद पाण्डेयको नेतृत्वमा गएको शिक्षकहरुको टोलीले दरवन्दी मिलानका नाममा भएको ग्रैह्कानुनी सरुवा बदरको माग गरेको हो ।
‘गाउँका विद्यालय बन्द गराएर शहरका विद्यालय शिक्षकहरुले मात्रै भर्ने कार्यको हामी घोर विरोध र भत्र्सना गर्छाै’–अध्यक्ष श्याम पाण्डेयले भने–‘दरवन्दी मिलानमा हामी बाधक होईन साधक बन्छौं तर मनलाग्दी ढंगबाट गरिएको सरुवाको विरोध र्गर्छाै ।’ गाउँका विद्यालयको दरवन्दी सहितको सरुवाले दरवन्दी कटौती भई विद्यालयमा शिक्षक पुर्ति गर्न समस्या भएको पाण्डेले बताए । शिक्षा कार्यालयमा सेवाग्रही नआउँदा कार्यालयमा शिक्षा अधिकारी भेट्न नसकिने, निमित्त कसैलाई नतोक्ने, शिक्षा कार्यालयका कागजातहरु बाहिर लगेर विभिन्न खाले चिठीपत्र कार्यालयय बाहिर नै तयार पार्ने, शिक्षा समितिको बैठक नै नबोलाउने, बैठकले गर्ने निर्णय एक्लै गरेर अनियमिततालाई प्रश्रय दिने, सामाजिक संवाद समितिमा हुने छलफल बैठक नै नबोलाएर बन्द गराउने, आवश्यक प्रकृया पुरा भएको अवस्थामा समेत ढिलासुस्ति गरेर दुख दिने लगायतका काम भएको भन्दै संगठनले तत्काल सच्याउन माग गरेको छ ।
त्यस्तै विद्यालयहरुमा सम्पन्न भएको भौतिक निर्माण तथा मर्मत कार्य तत्काल फर्छैट सम्पन्न प्रमाणपत्र दिन समेत संगठनले माग गरेको छ । त्यसो नगर्दा करोडौ रकम विद्यालय निर्माणका नाममा विद्यालयहरुको बेरुजु देखिएको छ । स्थानीय तहको निर्वाचन पश्चात गरिएका काज सरुवाका शिक्षकहरुको सन्र्दभमा तत्काल शिक्षा समितिको बैठक राखेर छलफल गराउन संगठनले माग गरेको छ ।

विद्यालयमा रहेको रिक्त दरबन्दी वा अनुदान कोटामा गरिएको काज सरुवा दरवन्दी मिलानको निती विपरित नहुने भएका र शिक्षक काज सरुवा भएको विद्यालयमा हाजिर भईसकेको भए निजलाई काजमै रहेको विद्यालयमा पदस्थापन गर्न, विद्यार्थी संख्या शुन्य भएको विद्याmलयका शिक्षकलाई काज सरुवा गरिएकोमा जिल्लागत दरवन्दी मिलान नभएसम्म निजको दरवन्दी जिशिकाको पुलमा राखि निज विद्यालयको शिक्षकलाई काजमा लगाउन, दरवन्दी रित्त नभएको विद्यालयमा काज सरुवा भएको भएको भए उक्त शिक्षकलाई जिल्लागत दरवन्दी मिलान नभएसम्म निजको पदाधिकार भएको साविककै विद्यालयमा फर्काउन माग गरेको छ । साधारण दरवन्दीका शिक्षकहरुलाई अनुदान कोटामा वा अनुदान कोटामा रहेका शिक्षकहरुलई साधारण दरवन्दीमा काज सरुवा गरिएको भए दुबै विद्यालय ब्यवस्थापन समितिको सहमतिमा भएको भए जिल्ला शिक्षा समितिबाट अनुमोदन गराउन माग गरेको छ । विद्यालय ब्यवस्थापन समितिको सहमति बाहेकको अवस्थामा तत्काल यथास्थानमा राख्न संगठनले माग गरेको छ ।

शिक्षा अधिकारीले झण्डै २ सय ५० भन्दा धेरै शिक्षकहरु मनलाग्दी सरुवा गरेका थिए । शिक्षकहरुको सरुवा गरेर साउन १ गते देखि बेपत्ता भएका अधिकारी शुक्रबारबाट कार्यालयमा भेटिन थालेका छन् । कार्यालयमा आए लगत्तै उनले ग्रैह्कानुनी रुपमा गरेको सरुवाहरु भटाभट फिर्ता पनि हुन थालेको छ ।