आफूलाई चराठान्छन् राष्ट्रकवि

0
Shares

 

पवित्र आचार्य, काठमाडौं
‘केही काम नौलो नगरी नजाउ
अकालमै हे म मरी नजाउ।
आयु देउ, भविष्य देउ,
मभित्र जीवन्त मनुष्य देउ।
राष्ट्रकवि माधव घिमिरेको पुकार भगवान्ले सुने। जीवन्त मनुष्य दिए। त्यो पनि सिर्जनात्मक हृदय भएको। जो हामीले पढ्दा र सुन्दा अनौठौ लाग्ने उमेरसम्म। जुन राष्ट्रकविले पाउनुभएको छ।

कर्मयोद्धा राष्ट्रकवि घिमिरे नेपाली समाज र साहित्यका लागि एक युगिन दस्तावेज हुनुहुन्छ। वि.सं. १९७६ असोज ७ गते लमजुङको कुस्तुङमा जन्मिनुभएका घिमिरेले वि.सं. १९९४ मा पहिलो कृति नवमञ्जरीबाट साहित्यिक यात्रा शुरू गर्नुभएको हो।

वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञा प्रतिष्ठानमा लामो समय सक्रिय रहनुभयो। उहाँका कृतिहरूले दर्जनौं राट्रिय सम्मान र विभूषण दिलाएका छन्। नेपाली साहित्यका धरोहर राष्ट्रकवि घिमिरे कर्म र साहित्यिक साधनाले खारिएका एक योद्धा हुनुहुन्छ, नेपाली साहित्यका क्षेत्रमा।

जीवनको ९९औं खुड्किलामा पाइला टेक्दै गर्नुभएका राष्ट्रकवि घिमिरेको कलमले आज पनि साहित्यिक क्षेत्रमा उत्तिकै वाहवाही पाइरहेको छ। उहाँलाई भेट्नेहरू आजका दिनमा पनि उहाँलाई उस्तै पाउँछन्। जो हिजोका दिनमा पाउने गर्थे।
आफूलाई मन परेको काममा व्यस्त भइरहन पाउँदा अत्यन्त आनन्द र चराजस्तै सधैं रुखका हाँगाबिँगामा उडेजस्तै सम्झने गर्नुहुन्छ। ‘चिरबिर गर्दै यो हाँगाबाट त्यो हाँगामा पुग्ने पन्छीजस्तै महसुस गर्छु। तर, पहिले जस्तो नहुने। बूढो भइयो’ –उहाँले भन्नुभयो।

केही समयअघि सामाजिक सञ्जालमा उहाँको निधनको खबरसमेत फैलियो। जुन सर्वथा गलत थियो। ‘अचम्म भो। यही जुनीमा अर्को जुनी पाएँ। लाख–लाख नेपालीको मायाँ पनि पाएँ’, अनुहारमा हाँसो ल्याउँदै उहाँले भन्नुभयो– ‘म त त्यो भाग्यमानी रहेछु। जो–कोही नहोला। मैले मेरो मृत्यु जीवित हुँदै महसुस गर्न पाएँ।’
‘जीवित रहुञ्जेल मसँग रिस भएकाहरू पनि मेरो मृत्यृसँगै मर्ने रहेछन्। मलाई साँच्चै नै मायाँ गर्नेहरू हुनुहुँदो रहेछ, म जीवित रहुञ्जेल मेरोअघि मायाको नाटक गर्ने पनि हुनसक्थे तर त्यो पाइनँ। म साँच्चै नै सबैको प्रिय रहेछु। मेरो मृत्यृको समाचारपछि मैले ममाथिको मायाँको महसुस गर्न पाएँ। मेरो जीवनमा स्मरणीय घटना हो यो। विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीलाई हार्दिक प्रेम प्रकट गर्न चाहन्छु –उहाँले सुनाउनुभयो।

उमेरले असहज बनाएकाले उहाँ पहिला जस्तो हिँडडुल गर्न सक्नुहुन्न। ‘पहिले जस्तो कार्यक्रममा जान भने सक्दिनँ। त्यसैले नबोलाए हुन्थ्यो भन्ने लाग्छ। बोलाउँदा जान पाइएन भने आफैंलाई असहज महसुस हुन्छ’ –उहाँले भन्नुभयो।
नेपाली, हिन्दी र संस्कृत भाषामा पोख्त घिमिरेले काव्य अनुवादका साथै गीत रचना पनि उत्तिकै गर्नुहुन्छ। आजका अत्याधुनिक भनिने युवायुवतीको मोबाइलमा पनि उहाँका गीतहरू उसै गरी गुञ्जने गरेका छन्।

नेपाली हामी, फूलको थुंगा, सारंगी रेटे पनि, लाग्दछ मलाई, आज र राति, यो छायाँछवीलगायतका उहाँका चर्चितमध्येमा पर्ने गीत हुन् भने गौरी शोक काव्य उहाँले पहिली पत्नी बितेको शोकमा लेख्नुभएको हो। आजसम्म साहित्यमा उत्तिकै लगाव देखाउने घिमिरेलाई सबैले सम्मान प्रकट गर्छन्।
(प्रशिक्षार्थी)