गाँउलेलाई भैंसी, बालबालिकालाई शिशु स्याहार केन्द्र

0
Shares

धन बस्नेत,पोखरा ।

पोखरा—१८ सराङकोटमा प्रत्येक घरमा भैंसी पालिएको छ । भैंसी पालन स्थानीयबासीको आय अर्जनको मुख्य स्रोत बनेको छ ।

भैंसी पाल्ने प्रबन्ध भने गैर सरकारी संस्था ‘क्वालिटी अफ लाईफ नेपाल’ले मिलाईदिएको हो । संस्थाकै पहल र आर्थिक सहयोगमा सराङकोटमा १ सय ३८ परिवारले भैंसी पालन गरेका छन् ।

भैंसी पालनको लागि संस्थाले अहिलेसम्म ६५ लाख ७० हजार रुपैयाँ लगानी गरिएको संस्थाका संस्थापक रामचन्द्र शर्माले बताए ।

भैंसी पालनमा गरिएको लगानीको २५ प्रतिशत किसानलाई छुट दिइएको छ । ‘किसानले लगानी किस्ताबन्दीमा फिर्ता गर्नुपर्छ ।’

उनले भने—‘किस्ताबन्दीमा फिर्ता भएको रकम फेरी दोस्रो परिवारलाई लगानी गर्छौ ।’ संस्थाले विपन्न परिवारलाई मात्रै भैंसीपालनको लागि लगानी गर्दै आएको छ ।

राजनीतिक दल एवं विभिन्न क्षेत्रबाट सिफारिस भएका किसानलाई संस्थाले अध्ययन गरेपछि मात्रै उपयुक्त देखिए लगानी गर्ने उनको भनाई थियो ।

संस्थाले विपन्न परिवारलाई आयस्रोतको लागि मात्रै नभई शिशुस्याहार केन्द्रमा आउने बालबालिकाको स्वास्थ्यमा देखिएको समस्याले पनि लगानी गरिएको जनाएको छ ।

‘बालबालिकामा पौष्टिकताको अभाव देखिएको थियो । स्वास्थ्य सुधारसँगै आयआर्जनको स्रोत हुने उद्देश्यसहित भैंसी पालन गर्ने प्रोत्साहित गर्दै लगानी गरेका हौं ।’ उनले भने—‘दलित समुदायका बालबालिकामा कुपोषणको समस्या देखिएपछि भैंसी पालन अभियान अगाडि बढाइएको हो ।’ भैंसी पालन गरेका किसानलाई उत्कृष्ठ छनोट गर्दै पुरस्कृत समेत गर्दै आएको उनको भनाई थियो ।

सराङकोट देउराली पाटनमा शिशु स्याहार केन्द्र छ । केन्द्रमा ७६ जना बालबालिका छन् । केन्द्रको भौतिक पुर्वाधारमा ३८ लाख लगानी गरिएको छ ।

भौतिक पुर्वाधारको लागि संस्थापक शर्माले १४ वर्ष अघि बेल्जियममा सेलरोटी विक्री गर्दै आर्थिक संकलन अभियान थालेका थिए । उनको अभियानमा बेल्जियम, जर्मन, नेदरल्याण्डका नागरिकले सहयोग पु¥याए ।
‘विदेशीको सहयोगमा ६ वटा कोठाको भौतिक पुर्वाधार तयार पारियो ।’ उनले भने—‘ जहाँ ७६ जना बालबालिकाको लागि खेल्नेदेखि पढ्ने र स्वास्थ्य उपचारको लागि मेडिकलपोष्ट समेत स्थापना गरिएको छ ।’

तीनसय ५० भन्दा बढी विद्यार्थी अहिले संस्था मार्फत छात्रवृत्तिमा अध्ययनरत छन् । शिशु स्याहार केन्द्रमा दुईदेखि ६ वर्षसम्मका बालबालिका छन् । उनीहरुको शिक्षादेखि अन्य हेरचाहका लागि ६ जना स्टाफ राखिएइको छ । ‘बालबालिकालाई निशुल्क स्वास्थ्योपचार गरिन्छ ।’ उनले भने—‘त्यसबाहेक नर्सको व्यवस्था पोखरा महानगरपालिकाले गरिदिए स्वास्थ्यचौकीको सेवा उपलब्ध गराउन तयार छौं ।’

भैंसी पालन अभियानले बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ । संस्थाले किसानको लागि भैंसी पालन अभियानको लागि वर्षेनी लगानी गर्ने योजना छ । तर किसानको किस्ताबन्दी रकम पूर्णरुपमा चुक्ता नहुदाँसम्म दोस्रो चरणको कार्यक्रम गरिदैन् ।

संस्थाले सातौं पटक कार्यक्रम गरिसकेको छ । २०७० सालमा छैटौं कार्यक्रम गरेकोथियो । चार वर्षपछि २०७४ सालमा सातौंपटक कार्यक्रम गरेको हो । वर्षेनी कार्यक्रम गरिदाँ विपन्न परिवारलाई भैंसी पालनको लागि सहयोग गरिने संस्थाले जनाएको छ ।

त्यो बाहेक संस्थाले ९ वटा विद्यालयमा ई—लाईब्रेरी, फर्निचर, भवन निर्माणको लाििग सहयोग, खानेपानी व्यवस्थापन लगायतका गतिविधिमा सहयोग गर्दैआएको संस्थापक शर्माले बताए ।