भरतपुरमा रेणु


माओवादीकी रेणु दाहाल ४३ हजार १ सय २७ मत ल्याई विजयी हुनुभएको हो भने एमालेका देवी ज्ञवाली ४२ हजार ९ सय २४ मत ल्याएर पराजित हुनुभएको छ।

नेपाल समाचारपत्र
भरतपुर
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रेणु दाहाल निर्वाचित हुनुभएको छ। मेयर पदका नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई २ सय ३ मतले पछि पार्दै नेकपा माओवादी केन्द्रका दाहाल विजयी हुनुभएको हो। दाहालले ४३ हजार १ सय २७ मत ल्याउनुभएको छ भने ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याउनुभयो।

महानगरपालिकाका नवनिर्वाचित मेयर रेणु दाहालले पाँच वर्षभित्र भरतपुर महानगरपालिकालाई स्मार्ट सिटीयुक्त बनाइने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँगको कुराकानीका क्रममा भन्नुभयो– ‘भरतपुर नेपालकै मध्यक्षेत्रमा पर्ने शहर हो। भरतपुरलाई दक्षिण एसियाकै केन्द्र उन्मुख शहर बनाउने र त्यसका लागि आवास क्षेत्र, बजार व्यवस्थापनसहितका कार्ययोजना ल्याउनेछु। देशकै नमुना योग्य, सुन्दर महानगरपालिका बनाउने मेरो योजना छ।’

महानगरपालिकाका मेयर पदका उम्मेदवार नेकपा एमालेका देवी ज्ञवालीले राज्य सत्ताको दुरुपयोग गरी रेणु दाहाललाई जबरजस्ती जिताइएको बताउनुभयो। उहाँले सुरक्षा घेराका बीच मतदानको क्रममा रेणु दाहाललाई जिताउन अर्बौं रुपियाँ बँँडिएको आरोप लगाउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रहरीको सुरक्षाभित्र रहेर रेणुजीले हजारौं रुपियाँ बाड्नुभयो। प्रचण्डजी सबै नैतिक मूल्य मान्यता त्यागेर छोरीलाई जिताउन लागिपर्नुभयो। यति गर्दा पनि म प्रतिस्पर्धामा आउनु मैले जितेकैसरह हो। हार्नु र जित्नु ठूलो कुरा होइन। नजिर मुख्य कुरा हो।’
यस्तै उपमेयरमा कांग्रेस उम्मेदवार पार्वती शाह निर्वाचित हुनुभएको छ। शाहले ४७ हजार १ सय ९७ मत ल्याउनुभयो भने उहाँका प्रतिद्वन्द्वी एमालेकी दिव्या शर्माले ३९ हजार ५ सय ३५ ल्याउनुभयो।

वैशाख ३१ गते भएको भरतपुरको चुनावपछि मतगणनाका क्रममा माओवादी कार्यकर्ताले १९ नम्बर वडाको मतपत्र च्यातेपछि फेरि मतदान भएको हो। यही साउन १५ गते सर्वोच्च अदालतले उक्त वडामा पुनः मतदान गर्न आदेश दिएको थियो। पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुरमा वैशाख ३१ गते मतदान भएको थियो। २७ वटा वडाको मत गणना सकिएर १९ नम्बरको गणना भइरहँदा जेठ १४ गते मध्यरातमा गणनामा बसेका प्रतिनिधिहरूले मतपत्र च्यातेका थिए।

मतपत्र च्यातेको आरोपमा प्रहरीले तत्कालै माओवादी केन्द्रका मत गणना प्रतिनिधिहरू द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई पक्राउ गरेको थियो।
मतपत्र च्यातिएपछि गणना कार्य स्थगित भएको थियो।

 

चुनाव बहिस्कार गर्ने राजपाको निर्णय
बीपी साह, काठमाडौं
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको चार दिनसम्म चलेको पदाधिकारी बैठकले यथास्थितिमा निर्वाचन बहिष्कार गर्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन शनिबार पारित गरेको छ। निर्वाचन बहिष्कार गर्दै निर्वाचनका गतिविधिहरुमा अवरोध पुर्याउने पुरानो निर्णयलाई नै पदाधिकारी बैठकले सदर गरेको छ।
बैठकमा पार्टी संयोजक महन्थ ठाकुरले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनअनुसार नै पार्टी निर्वाचन बहिष्कारको पक्षमा देखिएको हो।

 

त्यस्तै बैठकले राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्ताबेजहरू संशोधनसहित पारित गरेको छ।

बैठकको समापनमा बोल्दै संयोजक ठाकुरले अहिलेकै अवस्थामा निर्वाचनमा सहभागी हुनु उपयुक्त नहुने बताउनुभयो। ठाकुरले भन्नुभयो– ‘राज्यले संघर्ष मागेको छ। हामी संघर्षबाट पछि हट्दैनौं। अहिलेको निर्वाचनले हामीलाई केही पनि दिनेछैन। त्यसकारण हामीसँग संघर्षबाहेकको विकल्प छैन।’

ठाकुरले निर्वाचनमा सहभागी भएका मधेस केन्द्रित दलहरूको अवस्था पनि ठीक नभएको बताउँदै मधेसी जनताले संघर्षबाट अधिकार खोजेको दाबी गर्नुभयो। उहाँले निर्वाचनमा सहभागी हुने अथवा नहुने अन्तिम निर्णय केन्द्रीय कार्यसमितिको बैठकबाट हुने पनि जानकारी दिनुभयो।

बैठकमा केही नेताहरूले संगठन बचाउन निर्वाचनमा सहभागी हुनुपर्ने तर्क गर्नुभएको थियो। तर, ठाकुरले आफूहरू संगठनका लागि नभई अधिकारका लागि संघर्षमा रहेकाले निर्वाचनमा सहभागी हुनु उपयुक्त नहुने दाबी गर्नुभयो।
पदाधिकारी बैठकको अन्तिमसम्म राजपाका असन्तुष्ट नेताहरू हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला र बृजेश गुप्ता सहभागी हुनुभएन। उहाँहरूले केन्द्रीय समितिको बैठकमा सहभागी हुने जनाउनुभएको छ।

यता राजपा दर्ता भएपछिको पहिलो केन्द्रीय समिति बैठक आजबाट बस्दै छ। बबरमहलस्थित कार्की बैंक्वेटमा केन्द्रीय समिति बैठक बस्न लागेको हो। बैठकबाट पार्टीको विधान र घोषणापत्र अनुमोदन हुने जनाइएको छ। साथै तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुने अथवा नहुने विषयमा अन्तिम टुंगो लाग्ने जनाइएको छ।