यही हो स्मार्ट सिटी ?

0
Shares

 

स्थानीय तहको चुनावका क्रममा उम्मेदवारहरुले अधिकांश शहरी इलाकालाई स्मार्ट सिटी बनाउने नारा अघि सारेका थिए। तर, केही समयको अवस्थालाई हेर्ने हो भने विजेताहरुले आफ्नो चुनावी नारालाई कागजमा मात्रै सीमित गरेको र कतिपयले त बिर्सिसकेको भान पर्न थालेको छ।
सुरेश तामाङ, काठमाडौं

झन्डै २० वर्ष जनप्रतिनिधि विहीन रहेको स्थानीय तहमा २ चरणमा निर्वाचन भई जनप्रतिनिधि छानिए पनि अझै १ प्रदेशको निर्वाचन बाँकी छ। चुनावका बेला स्थानीय निकायमा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रतिनिधिहरुले आ–आफ्नो चुनाबी घोषणापत्रमा एउटा आकर्षक एजेन्डालाई प्रमुखताका साथ उठाएका थिए। त्यसमा थिए– स्मार्ट सिटीदेखि स्याटलाइट सिटीसम्म र माइक्रो रेलदेखि मोनोरेलसम्मका कुरा।


उनीहरुले आफ्नो घोषणापत्रमा नै सो कुरा उल्लेख गरेका थिए। तर, भइरहेको के छ त ? अन्त जानुपर्दैन, मुलुकको राजधानी काठमाडौं उपत्यकालाई हेर्दा यसको तस्वीर प्रस्टै आउँछ। खाल्डैखाल्डा, जताततै बिजुलीका तार असरल्ल, थोरै पानी पर्दा हिलो र घाम लाग्दा धुलैधुलो।

यहाँ स्मार्ट सिटीको त कुरै छोडौं, काठमाडौं उपत्यकालाई देशको राजधानी भन्न लायकसमेत नदेखिएको भन्दै बेलाबेला कुरा उठ्ने गरेको छ। उपत्यकाका विभिन्न भागमा ढल व्यवस्थापन, सडक निर्माण र विस्तार, खानेपानी, बिजुलीको खम्बा र तारलगायतले त्यस्तो भएको अधिकांशको गुनासो पाइएको छ।

ढलको व्यवस्थापन हुन नसक्दा वर्षात्को समय काठमाडौंका प्रायः भागमा जलमग्न भई जनजीविकामा समेत प्रभाव पार्दै आएको छ। गत ३० असारमा त सडक किनारका अव्यवस्थित ढलको पानीले बगाएर एक स्कुले बालिकाको ज्यानसमेत गएको थियो।

त्यस्तै ढल र सडकमा देखिएको खाल्डाले समेत यात्रुलाई सास्ती बढाएको छ। बिजुलीको खम्बा, केबल टिभि र इन्टरनेटको तारको असरल्ल जालोले शहरलाई कुरुप बनाइदिएको छ। नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तारमा असरल्ल परेको तारहरू प्राधिकरणको नभई केबल टिभी र इन्टरनेटको तार भएको भन्दै खम्बाको नाङ्गो तार प्राधिकरणको भएको जनायो। विदेशमा ठूला शहरमा अन्डरग्राउन्ड प्रणालीबाट तारको व्यवस्थापन गरिएको हुन्छ। तर, हामीकहाँ तिनै तारमा अल्झेर मान्छे घाइते हुने गरेका छन्।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यस्तो समस्या समाधानका लागि प्राधिकरणले रत्नपार्क र महाराजगन्ज वितरण केन्द्र मातहत पर्ने ठाउँको तार र मिटरलाई अन्डर ग्राउन्ड बनाउन लागिरहेको बताउनुभयो।

उहाँका अनुसार प्राधिकरणले वितरण प्रणालीलाई आधुनिकीकरण गर्न पाइलट प्रोजेक्टका रूपमा गरिरहेको यस कार्यका लागि यही अघिल्लो साता बोलपत्रसमेत आह्वान भइसकेको छ। प्राधिकरणले केबल टिभीका साथै विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थासँग समेत यस योजनामा सँगै समन्वय गरिरहेको प्राधिकरणका प्रवक्ता अधिकारीले बताउनुभयो।

जनसंख्याको तीव्र वृद्धिका साथै अव्यवस्थित रूपमा फैलिएको बस्तीले राजधानीलाई स्मार्ट सिटी बनाउन चुनौती पनि दिएको छ। अन्तर निकायबीच समन्वयको अभावले गर्दा कालोपत्रे गरिसकेको सडकमा ढल बिछइउने, सडक विस्तार गर्दा बिजुलीको पोल सार्न समय लाग्ने, समयअनुसार उचित ऐनको अभावलगायत पनि स्मार्ट सिटी बनाउन थप चुनौतीहरू हुन्।

यस्तै बेथितिसञहित घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे प्रायः हुने काठमाडौं उपत्यकामा स्मार्ट सिटी बन्न कत्तिको सम्भव छ त? काठमाडौं विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारी भन्नुहुन्छ– ‘काठमाडौंमा इच्छाशक्तिसहित काम गरे स्मार्ट सिटी बन्छ। स्मार्ट सिटी हुनलाई मान्छेहरू स्मार्ट हुनुपर्यो। सेवा सुविधा, विकासका पूर्वाधारहरू, न्याय, सुरक्षा सबै स्मार्ट हुनु पर्यो। त्यो सबै सम्भव छ।’

उहाँले काठमाडौं उपत्यकामा स्मार्ट सिटी बनाउन उचित ऐन कानुनका साथै विस्तृत तवरको गुरुयोजना आवश्यकता पर्ने बताउनुभयो। हुन त प्राधिकरण आफैले उपत्यकाका विभिन्न ४ स्थानमा स्मार्ट सिटी बनाउने भन्दै काम पनि थालिसकेको छ।

उहाँका अनुसार सरकारी सेवा सुविधाको जनताले चुस्त तरिकाले उपभोग गर्न पाउने, गरिब जनताको पनि सहज पहुँच हुने, पूर्वाधारयुक्त शहर, सुरक्षा व्यवस्थाको चुस्त प्रत्याभूति हुने, मानिसहरूको असल व्यवहार, शिक्षा, स्वास्थ्य, सञ्चार, सूचना प्रविधि, आवासको भरपुर उपभोग गर्न पाउने थलो नै स्मार्ट सिटी हो।

तर, काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहका प्रमुखहरूले जारी गरेको चुनावी घोषणा पत्रअनुसार उपत्यकालाई स्मार्ट सिटी बनाउन मानिसको बानी व्यवहारमा स्मार्टका साथै सूचना प्रविधिको भरपुर प्रयोग गरेर सेवा सुविधाको प्रत्याभूति दिलाउने थलोका रूपमा स्मार्ट सिटीलाई परिभाषा गरेको पाइन्छ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्थानीय परिवेश सुहाउने, मौलिक सांस्कृतिक सम्पदालाई पनि जीवन्त राख्दै स्मार्ट सिटीको परिकल्पना गरेको नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले संसार सूचना प्रविधिमा गइसकेकाले प्रविधिमैत्री सिटीको अवधारणामा जानुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामी प्रविधिमै जानुपर्छ भन्दै हामीले महानगरलाई सूचना प्रविधिमैत्री बनाउन खोजेका छौं।’

अब महानगर आईटीको अवधारणामा जान्छ। सेवाग्राहीले सूचना प्रविधिको प्रयोग गरी घरैबाट महानगरको सेवा सुविधा पाउने उहाँको भनाइ थियो। विकसित राष्ट्रहरूले इन्टरनेट सुविधा र प्राविधिक प्रगतिको प्रभावलाई आधार बनाएर नागरिकको सेवामा पहुँच, रोजगारी, किफायती आवास र स्वस्थ वातावरण पक्षहरूलाई प्राथमिकता दिँदै स्मार्ट शहरहरूको विकासमा जोड दिएका छन्। सामान्यतया ‘स्मार्ट सिटी’ त्यस्तो शहर हो, जहाँ भौतिक संरचना, सञ्चार र बजार अत्याधुनिक हुन्छन्।

स्मार्ट सिटीको परिभाषा विभिन्न विज्ञहरूले आ–आफ्नै तवरल दिने गरेको पाइन्छ। यसको वास्तविक परिभाषा सबै कुराका हिसाबले स्मार्टपन नै हो। हरियाली वातावरण भएको, सफा र स्वच्छ, दिगो विकास अँगालेको, अत्याधुनिक सेवा–सुविधा उपलब्ध र सबै सेवा–सुविधामा जनताको पहुँच भएको शहर नै ‘स्मार्ट सिटी’ हो। तर, राजधानी काठमाडौंको अवस्था हेरौं त? कहालीलाग्दो अवस्था रहेको छ। नयाँ स्थानीय पदाधिकारीले चुनावी नारामा मात्रै स्मार्ट सिटीको सपना बाँड्नुभएको हो कि काममा पनि देखिनेछ भन्ने कुरा विस्तारै थाहा होला नै। तर, बिहानी हेर्दा दिउँसोका अन्दाज गर्ने हो भने कार्यशैली त्यति राम्रो नभएको सम्बद्ध अधिकारहरू नै बताइरहेका छन्।

 

“मौलिक बनाउँछौं”
हाम्रो महानगरमा भएका घरहरु भत्काएर विदेशमा जस्तो आधुनिक स्मार्ट सिटी बनाउनेभन्दा पनि यहाँ हाम्रो स्मार्ट सिटी भनेको मौलिक हुन्छ। त्यसकारण भइरहेको शहरलाई पूर्वाधारसहित स्मार्ट सिटीमा ध्यान पुर्याइन्छ। हामीले नगरसभामार्फत नीति तथा कार्यक्रममै विस्तृत रुपमा यस सम्बन्धी उल्लेख गरेका छौं। काम पनि त्यहीअनुसार हुन्छ। भइरहेको पनि छ।

विद्यासुन्दर शाक्य
मेयर
काठमाडौं महानगरपालिका