हकप्रद र बोनसबाटै बीमा कम्पनीहरूको पुँजी वृद्धि

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं ।
बीमा कम्पनीहरू यतिबेला चुक्ता पुँजी वृद्धिको चटारोमा जुटेका छन्। बीमा समितिले बीमा व्यवसाय सम्बन्धी निर्देशिका जारी गर्दै चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै बीमा कम्पनीहरू सोका लागि लागि परेका हुन्।

बीमा कम्पनीहरू मर्जर तथा एक्विजिसनका लागि तयार नहुँदा उनीहरूका लागि बोनस शेयर, हकप्रद तथा एफपीओ नै चुक्ता पुँजी बढाउने हतियार हुने देखिएको छ। यसकारण आर्थिक वर्ष २०७४÷७५ मा बीमा कम्पनीहरूका कारण शेयर बजारमा बाढी ल्याउने पक्का देखिएको हो।

बीमा समितिको निर्देशनअनुसार बीमा कम्पनीले आव २०७४÷७५ को असार मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी पुर्याइसक्नु पर्नेछ। निर्देशनअनुसार जीवन बीमा कम्पनीले चुक्ता पुँजी २ अर्ब रुपियाँ पुर्याउनु पर्नेछ भने निर्जीवन बीमा कम्पनीका लागि सो १ अर्ब रुपियाँ तोकिएको छ। वृद्धि गर्ने समय १ वर्ष बाँकी रहँदा अहिले बीमा कम्पनीले धमाधम आफ्ना पुँजी वृद्धि योजना बीमा समितिमा पेस गर्न थालेका हुन्।

निर्देशन अनुसार बीमा कम्पनीहरूले अबको २ साताभित्र दिनभित्र पुँजी वृद्धिको स्पष्ट कार्य योजना र खाकासमेत पेस गरिसक्नुपर्नेछ।

बीमा कम्पनीले समितिमा बुझाएको कार्ययोजना अनुसार सबै बीमा कम्पनीले बोनस र हकप्रद शेयर जारी गरेर चुक्ता पुँजी पुर्याउने भएका हुन्। तीमध्ये १ जीवन बीमा कम्पनीले मात्र अहिलेसम्म तोकिएको चुक्ता पुँजी पुर्याइसकेको छ। अहिलेसम्म तोकिएको २ अर्ब चुक्ता पुँजी पुर्याउने जीबन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्यँेरेन्स मात्र रहेको छ।

यस्तै एसियन लाइफ इन्स्यँेरेन्सले १८ करोड ७४ लाख रुपियाँ बराबरको बोनस शेयर जारी गरेर २ अर्ब पुर्याउने योजना समितिमा पेस गरेको छ। कम्पनीको ५० प्रतिशत हकप्रद शेयर पनि यतिबेला धितोपत्र बोर्डको पाइपलाइनमा छ।

यस्तै सूर्य लाइफ इन्स्यँेरेन्सले ८८ करोड ८३ लाख रुपियाँ बराबरको एफपीओ अथवा हकप्रद जारी गरेर या विदेशी कम्पनीसँग समन्वय गरेर २ अर्ब रुपियाँ चुक्ता पुर्याउने योजना लिएको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले २९ करोड रुपियाँ बराबरको हकप्रद जारी गर्दैछ भने प्राइम लाइफले २०६९ सालदेखिको वासलात स्वीकृत भएपछि नाफा र शेयरधनी कोष एकीनपछि तोकेको चुक्ता पुँजी पुर्याउने योजना बनाएको छ।

यता, राष्ट्रिय बीमा संस्थानले भने कार्य योजना तयार गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको जानकारी दिएको छ। त्यस्तै प्राइम लाइफले २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरिसकेको छ।
नेसनल लाइफ इन्स्योरेन्सको र मेट लाइफ (एलिको) ले भने बीमा समितिमा पुँजी वृद्धिको योजना हालसम्म बुझाएका छैनन्। नेसनलले भने साउन २७ गते साधारणसभा गरी बोनस शेयर र बोनसपछि कायम हुने पुँजीबाट हकप्रद जारी गर्ने प्रस्ताव गरिसकेको छ।

यसैगरी निर्जीवन बीमा कम्पनीहरूले पनि पुँजी वृद्धिका लागि हकप्रद र बोनस शेयरकै सहारा लिने भएका छन्। तीमध्ये लुम्बिनी जनरल इन्स्यँेरेन्सले चालू आर्थिक वर्षमा १२ करोड ७० लाख रुपियाँ बराबरको बोनस शेयर जारी गरेर १ अर्ब रुपियाँ पुर्याउने भएको छ।

त्यस्तै एनबी इन्स्योरेन्सले पनि ४३ करोड २० लाख रुपियाँ बराबरको बोनस शेयर र ४ करोड ४६ लाख रुपियाँ बराबरको हकप्रद ल्याउने योजना बीमा समितिमा पेस गरेको छ। एनएलजी इन्स्यँेरेन्सले १२ करोड ३ लाख रुपियाँको बोनस र २९ करोड ५१ लाख रुपियाँ बराबरको हकप्रद जारी गरेर पुँजी वृद्धि गर्ने भएको छ।

यस्तै प्रुडेन्सियल इन्स्यँेरेन्सले १० करोड ७८ लाख रुपियाँ बराबरको बोनस शेयर जारी गर्नेछ भने नेको इन्स्यँेरेन्सले २३ करोड ५३ लाख रुपियाँ बराबरको हकप्रद जारी गरेर पुँजी पुर्याउने योजना बनाएको छ। शिखर इन्स्यँेरेन्सले पनि बोनस शेयर दिएर पुँजी वृद्धि गर्दैछ भने प्रिमियर इन्स्यँेरेन्सले पनि ४३ करोड ६३ लाख रुपियाँ बराबरको बोनस सेयर जारी गने भएको छ।

हिमालयन जनरल इन्स्यँेरेन्सलेले चालू आवको पहिलो त्रैमासभित्रै १ अर्ब २ करोड ७२ लाख रुपियाँ चुक्ता पुँजी पुर्याउने बीमा समितिलाई अवगत गराएको छ। यसले अहिले ६६ लाख २० हजार कित्ता हकप्रद शेयर आवेदन खुला गरेको छ। यो हकप्रद बिक्रीपछि कम्पनीले तोकिएको चुक्ता पुँजी पुर्याउने बताइएको छ। युनाइटेड इन्स्यँेरेन्सले बीमा समितिबाट आव २०७२÷७३ को वासलात स्वीकृत भएपछि योजना पेस गर्ने जनाएको छ।

नेपाल इन्स्यँेरेन्स, ओरियन्टल इन्स्यँेरेन्स, नेसनल इन्स्यँेरेन्स, राष्ट्रिय बीमा कम्पनी र सिद्धार्थ इन्स्यँेरेन्सले भने पुँजी वृद्धिको योजना अहिलेसम्म पेस गरेका छैनन्। उनीहरूले सो को लागि समय थप गर्न समितिसँग आग्रह गरेको समितिले बताएको छ। एभरेष्ट इन्स्यँेरेन्स र प्रभु इन्स्यँेरेन्सले पनि बोनस शेयर र हकप्रद जारी गरेर पुँजी वृद्धि गर्ने योजना बनाएका छन्।