एमटिभीमा नेपाली चेली

0
Shares

नेपाली चेली पनि कोहीभन्दा कम छैनन्। यसको पछिल्लो उदाहरण बनेकी छिन् मोडल ईशा खड्का चौधरी।

इशा भारतीय टेलिभिजन च्यानल एमटिभीबाट प्रशारण हुँदै आएको मनोरञ्जनप्रधान शाहसिक रियालिटी शो स्प्लिटस्भिल्ला१० मा चयन भएकी छिन्। विभिन्न देशबाट भएको अडिसनमा हजारौंमध्येबाट ईशा उत्कृष्ट १५ मा परी तीन सातादेखि स्प्लिटस्भिल्लाको यो दशौं शृंखलामा आएर ईशा नेपालबाटै पहिलोपटक चयन भएकी हुन्।
अभिनेत्री सन्नी लियोन र रणबिजयले सञ्चालन गर्दै आएको स्प्लिटस्भिल्ला एमटिभीकै लोकप्रिय रियालिटी शो मानिन्छ। एमटिभीको रोडिज र स्प्लिटस्भिल्ला सर्वाधिक लोकप्रिय रियालिटी शो मानिँदै आएको छ। जसमा आफू पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै अघि बढिरहेको बिहीबार मात्र काठमाडौं आएकी मोडल ईशाले जानकारी गराइन्।

दुई साता अघिबाट हरेक आइतबार बेलुका ७ः१५ एम टिभीमा प्रशारण भइरहेको यो रियालीटी शोमा भारतका चर्चित मोडल, गायक तथा सेलिब्रेटीहरु सहभागी छन्। उनीहरुसँग समूहमा ईशाले प्रतिस्पर्धा गर्दै उत्कृष्ट १२ को स्थान बनाइसकेकी छिन्।

ललितपुरको भैंसेपटी निवासी ईशाले विभिन्न फेसन शोमा भाग लिँदै आएकी छिन्। ललितपुरको सेन्ट मेरिज र भारतको देहरादुनबाट प्लस टु पूरा गरेकी ईशाले भारतकै नयाँ दिल्लीबाट मिडियामा डिप्लोमा गरेकी छिन्। उनी केही समयदेखि मुम्बईमा अभिनय सिकिरहेकी थिइन्।