शव जलाउनै धौधौ


मधुसूदन रायमाझी, काठमाडौं ।
पशुपतिस्थित आर्यघाटमा शव जलाउन तीन घण्टा लाइन बस्नुपर्ने भएको छ। आफन्त गुमाएको पीडासँगै मृतकका आफन्तले शव जलाउने ठाउँमा तीन घण्टा कुर्नुपर्ने अवस्था सृजना भएको हो। पशुपतिस्थित आर्यघाटमा दाउराबाट दैनिक रुपमा ३० देखि ४० जनाको शव जलाउने गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ।

हाल आर्यघाटमा ११ वटा शव जलाउने स्थान रहेका छन्। जसअनुसार १ नम्बरमा पनि विशिष्ट व्यक्तिहरूको मात्र शव जलाउने गरिन्छ। दाउराबाट शव जलाउन महँगो र वातावरणीय दृष्टिकोणबाट पनि प्रदूषण हुने भएकाले पशुपति क्षेत्र विकास कोषले दुई वर्षबाट इलेक्ट्रोनिक शवदाह गृह सञ्चालनमा ल्याएको थियो। तर इलेक्ट्रोनिक शवदाहगृह विगत एक महिनादेखि बिग्रिएका कारण आर्यघाटमा मृतकका आफन्तले तीन घण्टासम्म कुर्नुपरेको हो।

पशुपति क्षेत्र विकास कोषका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘इलेक्ट्रोनिक शवदाह गृह बन्द भएको छ। कोषले बनाउन पर्याप्त ध्यान दिएको छैन, जसका कारण मृतकका आफन्तहरूलाई शव जलाउन तीन घण्टासम्म कुनुपर्ने अवस्था सृजना भएको छ।’ आफन्त गुमाएको पीडासँगै आर्यघाटमा ठाउँ नपाउँदाको पीडा थपिएको भन्दै कोषको क्रियाकलाप्रति त्यहाँ पुग्ने जो कोहीले असन्तुष्टि जनाउने गरेका छन्।


– आफन्त बितेर आर्यघाट पुग्नेहरू शव जलाउने पालो कुर्नका लागि ३ घण्टा सम्म लाइनमा बस्न बाध्य
– विद्युतीय शवदाह गृहको मर्मत समयमा नहुँदा मृतकका आफन्त यसरी पीडित हुनुपरेको हो।


पशुपति क्षेत्र विकास कोषले दुई वर्षअघि सञ्चालनमा ल्याएको इलोक्ट्रोनिक शवदाह गृह बन्द हुँदा मृतकका आफन्तले थप सास्ती पाएका छन्। दुई वर्षअघि कोषले दुईवटा इलेक्ट्रोनिक शवदाह गृह सञ्चालनमा ल्याएको थियो। मेसिनको मर्मत गर्नका लागि भन्दै एक महिनाअघि कोषले दस जनाको टोलीलाई घुम्न भारतको कोलकाता पठाएको थियो। तर, टोली फर्किए पनि इलेक्ट्रोनिक शवदाह गृह भने सञ्चालनमा आउन सकेको छैन।

पशुपति क्षेत्र विकास कोषले भारतको कलकतास्थित इन्टोमेन कम्पनीसँग खरिद गरेको मेसिनको तीन वर्ष ग्यारेन्टी रहेको छ। कम्पनीले मर्मत सम्भार गर्नुपर्ने सम्झौता गरे पनि कोषको बेवास्ताको कारण मेसिन मर्मतमा ढिलाइ हुँदै आएको बताइएको छ।

पशुपति क्षेत्र विकास कोषले शवदाह गृह सञ्चालनमा आएपछि के–के सामान चाहिन्छ कहिले कहिले मर्मत गर्ने सबै जानकारी भएर पनि बेवास्ता गरेको जोरपाटीका स्थानीय माधव पुडासैनीले बताउनुभयो। कोषले वार्षिक रूपमा मेसिन मर्मत र सामान खरिद गर्नका लगि बजेट छुट्याएर सामान खरिद गरे पनि मर्मत गर्न पनि विभिन्न बहानाबाजी गरिरहेको उहाँले बताउनुभयो।

दाउराबाट जलाउँदा एउटा शव जलाउन ३ घण्टा समय लाग्छ। समय धेरै लाग्ने र झन्झटिलो हुने भएकाले कोषले मेसिनसहित झन्डै १३ करोडमा इलेक्ट्रोनिक मेसिन सञ्चालनमा ल्याएको थियो। समय थोरै लाग्ने र शव जलाउन खर्च पनि कम हुने भएकाले पछिल्लो चरणमा मृतकका आफन्तहरूले इलेक्ट्रोनिक शवदाह गृहमा शव जलाउँदै आएका थिए।

इलोक्ट्रोनिक मेसिनमार्फत शव जलाउँदा ४५ मिनेटमा सकिने कोषले बताएको छ। गत वर्ष केही दिन मात्र समस्या आएको थियो। तर यस वर्ष एक महिना बितिसक्दा समेत कोषले मर्मत गर्न सकेको छैन। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले मेसिन मर्मत गर्ने कम्पनीले सामान ल्याउन ढिलाइ गरेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले छिटो गर्नुप¥यो भनेका छौं, मर्मत गर्ने कम्पनीले भोलि भोलि भनिरहेको छ।’

शव जलाउने कार्यमा सलग्न हुँदै आएका एक कर्मचारीका अनुसार इलेक्ट्रोनिक शवदाह गृहमा दैनिक १२ देखि १४ शव लगाइने गरे पनि बन्द हुँदा त्यसको असर आर्यघाटमा परेको हो। कोषले इलेक्ट्रोनिक शवदाह गृहमा शव जलाउँदा १० वर्षमुनिकालाई २ हजार र त्यसभन्दा माथिका लागि ४ हजार रुपियाँ शुल्क लिने गरेको छ।

त्यसैगरी दाउराबाट शव लगाउँदा महँगो हुने भएकाले पनि पछिल्लो समयमा  मृतकका आफन्तहरूले इलोक्ट्रोनिक शवदाह गृहमा लैजाने गरेका छन्। दाउरामार्फत शव जलाउँदा दसदेखि १४ हजार रुपियाँ खर्च हुने गरेको कोषले बताएको छ।