कहाँ हराउँछन् सांसद ?


काठमाडौं, (नेस)
शुक्रबारको व्यवस्थापिका संसद्को दर्शक दीर्घामा अपाङ्गता भएका व्यक्तिहरू ठूलो संख्यामा बसेका थिए। निकै खुसी अनुहार लिएर संसद् भवन पुगेका अपाङ्गता भएका व्यक्तिहरू निरास भएर फर्के। कारण थियो ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, २०७४’ शुक्रबार पारित हुनुपर्ने थियो।

कार्यसूचीमा उक्त विधेयक भएकाले उनीहरू सदनमा पुगेका थिए। तर सांसदहरू नै बेपत्ता भएपछि विधेयक पारित भएन र उनीहरू निरास भएर घर फर्के।

शुक्रबारको व्यवस्थापिका संसद् बैठकमा ४ सय ७७ सांसदले हाजिरी गरेका थिए तर बैठकमा निर्णयार्थ विधेयक पेस हुँदा जम्मा ९७ जना थिए। जसका कारण शुक्रबार पारित हुनुपर्ने तीनवटा विधेयक अलपत्र परेका छन्। संसद् सचिवालयका अनुसार संसद् बैठक शुरू हुँदा हाजिर गर्ने सांसदहरूको संख्या ४ सय ७७ तर कोरम यकिन गर्दा ९७ मात्र सांसद् बैठक कक्षमा भेटिए।

बैठकमा जातीय भेदभाव तथा छुवाछुत कसुरसम्बन्धी विधेयक संशोधन दर्ताका लागि अनुमोदनअघि नेमकिपाका डिल्लीप्रसाद काफ्लेले कोरमको प्रश्न उठाउनुभएको थियो। काफ्लेको ध्यानाकर्षणपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट जनाउ घन्टी बजाएर कोरम यकिन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको थियो।

संविधानको धारा ९४ को व्यवस्थाअनुसार प्रस्ताव निर्णयार्थ पेस गर्दा कम्तीमा एक चौथाइ सदस्य हुनुपर्छ। संसद्मा हाल कायम रहेको संख्याअनुसार प्रस्तावअघि बढ्न १ सय ४८ सांसद् हुनुपर्छ। हाल सदनमा ५ सय ९२ सांसद् छन्। सांसद्ले संसद् बैठकमा उपस्थित भई हाजिर गरेबापत बैठक भत्ता स्वरुप १ हजार रुपियाँ पाउने व्यवस्था छ।

तर, महत्वपूर्ण विधेयक पारितकै दिन सांसद् बेपत्ता भएका हुन्।

कोरम नपुगेपछि थारु आयोग, मधेसी आयोग र मुस्लिम आयोगको विधेयक पनि अलपत्र परेका छन्। संसद्को अर्को बैठक आइतबार १ बजे बस्नेछ।