बहुभाषामा हिमआँधी बन्दै

0
Shares

 

बहुभाषिक फिल्म हिमआँधीको राजधानीमा आयोजित एक समारोहबीच शुभ मुहूर्त गरिएको छ। नेपालभाषा एकेडेमीका सदस्य सचिव मल्ल के. सुन्दरले निर्देशन, सिद्धिचरण प्रतिष्ठानका नरेन्द्रभक्त हाडाले क्ल्याप, डा. महेशमान श्रेष्ठले क्यामराको स्वीच अन तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नरिवल फुटाएर फिल्मको शुभ मुहूर्त गरेका हुन्।

मुहूर्त कार्यक्रममा मेयर शाक्यले मौलिक कथाबस्तुका फिल्म निर्माणमा जोड दिँदै भाषा र संस्कृतिलाई प्रबद्र्धन गर्ने खालका फिल्म निर्माणमा सहयोग गर्ने बताए। कार्यक्रममा फिल्मका पटकथा लेखक तथा परिकल्पनाकार ओमचरण अमात्यले फिल्मभित्र ऐतिहासिक परिवेश रहने जनाए। प्रदीप खड्गीको निर्देशन रहने फिल्मका लागि निकी महर्जन, सनिश शाक्य, सुरज व्यञ्जनकार, रुपेन श्रेष्ठ, राजेन्द्र महर्जन राजी, विनेश श्रेष्ठलगायतका मुख्य कलाकारले अभिनय गरेका थिए। फिल्ममा आशाकाजी थकू, राजेन्द्रमान शाक्य, मञ्जु श्रेष्ठ, पल्पसा डंगोल, सुशील राजोपाध्याय, राजेन्द्र महर्जन, सुरेश महर्जन, डोमा शेर्पालगायतले पनि अभिनय गर्नेछन्।

महाजु फाउन्डेसन भक्तपुरले नेपाली, नेपालभाषा, अंग्रेजी र चिनियाँ भाषामा हिमआँधी बनाउन शुरु गरेको हो। फिल्मको आगामी असोज २५ गतेदेखि तिब्बतको ल्हासा तथा काठमाडौंमा सुटिङ शुरु हुँदै छ। यसअघि मनाङ र मुस्ताङमा समेत सुटिङ भएको निर्माण समूहले जनाएको छ।