ग्रामीण सडकको कहालीलाग्दो यात्रा,घाम लाग्दा धुलोले छोपिने, पानी पर्दा हिलोमा चिप्लिने

0
Shares

हेटौंडा,(नेस) ।
गत साता थाहानगको खानीगाउँमा बस दुर्घटना भयो । दुर्घटनामा २ जनाको मृत्यु र ४० बढी यात्री घाइते भए ।

हेटौंडाबाट रासायनिक मल लिएर आग्रा जाँदै गरेको आइसर गाडीे थाहा नगरपालिका–३, लामचौरमा दुर्घटना भएको थियो ।

दुर्घटना खाल्डाखुल्डीका कारण भयो । दुर्घटनामा सामान्य घाइते चालक ठूलोकान्छा वाइबाले वर्षामा सडक मर्मत गर्नु नै दुर्घटनाको प्रमुख कारण रहेको बताए । ‘बेलामा सक्नुपर्ने कार्य ढिलासुस्तीले गर्दा हामी सास्तीबाट मुक्त भएनौं,’ उनले भने–ठेकेदारको ढिलाइले सडक मर्मत बेलैमा सम्पन्न नहुने हो भने कहाँ कतिबेला दुर्घटना हुने हो भन्ने डर छ ।

साँच्चै चै डरलाग्दो छ त्यहाँको यात्रा । उत्तरपश्चिम मकवानपुरको कैलाश गाउँपालिकामा रामराम जप्दै यात्रा गर्नुपर्छ । घामलाग्दा धुलैधुलो सडक, पानी पर्दा हिलैहिलो । लाग्छ, सडक हो कि हिलोको ताल ।

त्रिभुवन राजपथबाट थाहानगरस्थित पालुङ–डाँडावास–पकनी सडकखण्डमा हरेक दिनजसो दुर्घटना हुने गरेको छ । दुर्घटनाका कारण सामान्य घाइतेदेखि मृत्युका घटनासमेत हँुदै आएको पाइन्छ ।

त्रिभुवन राजपथको शिखरकोटबाट आग्राहँुदै कैलाशको पकनीसम्म पुग्न दुरीका हिसाबले करिब २५ किलोमिटर जति छ । तर, यात्रा गर्न करिब ३ घण्टा लाग्छ । ढल नहँुदा पानी सडकबाटै बग्छ, सडक पोखरीमा परिणत हुँदा पैदलयात्रु र सवारीसाधनलाई आवतजावतमा समस्या परेको छ ।

दामनदेखि डाँडाबास हँुदै कैलाशस्थित पकनीसम्म यात्रुबाहक बस सञ्चालनमा आएको ८ वर्ष बितिसकेको छ । बिग्रिएको हिलाम्मे सडक पार गर्दै खचाखच भरिएका बस दामन आइनपुग्दासम्म यात्रुको मन स्थिर हुन्न, मुटुमा ढ्यांग्रो ठोकिरहन्छ ।

‘सडक स्तरीकरण हुँदै जानुपर्ने हो, तर झन्झन् थोत्रो हुँदै गएको छ’, पकनीका राजन लामाले गुनासो गरे– थोत्रो बस, हिलो र बिग्रिएको बाटोमा ज्यानकै माया मारेर यात्रा गर्नुपर्छ । बेलामै सडक स्तरोन्नति नगर्दा सडकको बिजोग छ । सडक किनारमा निर्माण सामग्री थुपारेर राखिएका छन् ।

कैलाश र राक्सिराङ गाउँ जाने सडकको बिजोगले साविक १० गाविस पुग्ने यात्रु जोखिम मोल्न विवश छन् ।

चुनियाँ–नामटार–कालिकाटार सडकको अवस्था पनि उस्तै खराब छ । ‘यहाँ बस चल्न छाडेको दुई महिना भइसक्यो,’ कालिकाटारका नवीन रिजालले भने–सरकारले सडक त सबै ठाउँमा पु¥यायो, तर स्तरीकरण नगर्दा मोटर सञ्चालनमा समस्या हुने गरेको छ ।

असारे पानीमा काम गर्दा काम नसकिँदै सडक बिग्रने गर्दछ । जसले दुर्घटना हुने गरेका छन् । सडकको अवस्था हेर्ने हो भने पैदल यात्रा गर्नसमेत गाह्रो अवस्था छ । ज्यानको जोखिम मोलेर सवारी चलाउन वाध्य भएको उनले सुनाए ।

रिजालले भने–सडक बिग्रिएकाले गाडी कहाँ फस्ने हो भनेर तनाव लिएर यात्रा गर्नुपर्छ । कुटो, कोदालो र ढुंगालगायत सामान बसमै राखेर चालकहरु गाडी चलाउने गरेका छन् ।