प्रशंसा र आर्यन च्याम्पियन


 

नेपाल समाचारपत्र
काठमाडौं
प्रशंसा मोक्तान र आर्यन गिरी प्रथम एएनएलटीए⁄जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको आ–आफ्नो स्पर्धामा बुधबार पहिलो भएका छन्।

प्रशंसा यु–१० गल्र्स तथा आर्यन यु–१२ ब्वाइज सिंगल्समा च्याम्पियन बनेका हुन्। सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले रोशनी लिम्बूलाई ७–५, ४–६ र १०–७ ले पराजित गर्दै प्रतियोगितामा दोहोरो स्वर्ण जितिन्। यसअघि प्रशंसाले यु–९ सिंगल्समा पनि पहिलो स्थान हात पारेकी थिइन्। अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१२ ब्वाइज फाइनलमा आर्यनले प्रणव मानन्धरलाई ६–४ र ६–० को सोझो सेटमा हराए।

चार खेलाडी सहभागी यु–१८ ब्वाइज सिंगल्सको राउन्ड रोविन लिगमा राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्यले प्रणव खनाललाई ६–३ र ६–२ को सीधा सेटमा पन्छ्याउदै लगातार दोश्रो जित निकाले। पहिलो खेलमा संरक्षकले साम्राज्ञ कट्वाललाई हराएका थिए। अब उनले निनवाम राईसंग खेल्न बाँकी छ। त्यस्तै प्रणवले साम्राज्ञ कट्वाल विरुद्ध भिड्ने छन्। प्रणवले पहिलो खेलमा निनलाई पराजित गरेका थिए। संरक्षक र प्रणव दुवैको खेल बिहीबार हुनेछ।

बिहीबारै विभिन्न तीन स्पर्धाको फाइनल खेल पनि हुनेछ। यु–१४ सिंगल्सको गल्र्समा प्रेरणा कोइराला र सलोनी तामाङ तथा ब्वाइजमा आदित सुवेदी र सम्यकभूषण वज्राचार्य उपाधिका लागि भिड्ने छन्। यु–१२ गल्र्स सिंगल्सको फाइनलमा रायना शाहले ईशाश्री शाह विरुद्ध प्रतिस्पर्धा गर्नेछिन्।