अश्लेषाको असलियत

0
Shares

 

अश्लेषा ठकुरी रजतपटमा बिलकुल नयाँ अनुहार हो, र पनि चर्चामा छिन्। प्रेमगीत–२ मा खेलेदेखि उनी चर्चामा आएकी हुन्।

फिल्म रिलिज आउनुपूर्व नै चर्चामा रहेकी अश्लेषाको चर्चा रिलिजपछि झनै बढेको छ। रंगकर्मीद्वय सुनील पोखरेल र वीरेन्द्र हमालको विद्यार्थी उनको चर्चा फिल्मको व्यापारिक सफलतासँगै बढेको छ। रिलिजअघि फिल्मको प्रचारका लागि देशभर आयोजना गरिएको कन्सर्टदेखि नै आकर्षणको केन्द्र बनेकी अश्लेषाले रिलिजपछि मनग्य शुभचिन्तक पाएकी छिन्। ‘पहिलो फिल्मबाटै यति धेरै चर्चा पाइन्छ भन्ने सोचेकी पनि थिइनँ’, अश्लेषाले दंग छिन्– ‘अन्य कलाकारले धेरै फिल्मबाट पनि नपाउने चर्चा मैले पहिलो फिल्मबाटै पाएकी छु। यो फिल्मसँगै मेरो करिअरले उचाई पाउँछ भन्ने विश्वास गरेकी छु।’ फिल्ममा अश्लेषा प्रदीप खड्काको जोडीका रूपमा देखिएकी छिन्। प्रदीप र अश्लेषाको केमेस्ट्री पनि जमेको छ।
प्रेमगीत–२ रामशरण पाठकको निर्देशन र लेखनमा निर्माता सन्तोष सेनले बनाएका हुन्। प्रेमकथामा बनेको फिल्म प्रेम, भ्रमण र बदलाको कथामा छ।
कल्याण सिंह, अलिस कार्की र रोहित जोन क्षत्रीको संगीत रहेको फिल्ममा प्रदीप र अश्लेषाका अलवा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाईंलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। फिल्म गत शुक्रबारदेखि रिलिजमा आएको हो भने यसले उत्साहजनक व्यापारसमेत गरिरहेको छ।