थुमीमा दलित एकीकृत बस्ती निर्माण

0
Shares

 

सन्तोष अधिकारी, गोरखा
गोरखाको लाप्राक, बगुवासँगै आरुघाट गाउँपालिका–३ थुमीको जामुनेमा पनि एकीकृत बस्ती निर्माणले गति लिएको छ। भूकम्पले ध्वस्त जामुनेमा ५५ घरको एकीकृत बस्ती निर्माण गर्न लागिएको हो। सडक सञ्जाल नजोडिएको सो गाउँमा निर्माण सामग्री लैजानकै लागि सडक निर्माण गरी अहिले एकीकृत बस्ती निर्माण धमाधम भइरहेको छ। नेपाल सरकार पुनर्निर्माण प्राधिकरणको स्वीकृतिमा सहयोगी हातहरूको समूह (सहास) नेपालले एकीकृत बस्ती निर्माणको जिम्मा लिएको हो।

‘हामीले अहिले ५५ घर निर्माणको काम अघि बढाइसकेका छौं’, सहास नेपालका एकीकृत बस्ती निर्माण परियोजना संयोजकसमेत रहेका शिवराम पोखरेलले भने– ‘हामीले ५९ घर बनाउनुपर्ने थियो तर चार घरले भने नेपाल सरकारको अनुदानको रकम लिएर घर बनाउने भनेपछि हामीले ५५ घरको बस्ती बसाल्न लाएका हौं।’ सहास नेपालले जामुनेका हरेक घरलाई ३ लाख खर्च गरेर निर्माण गर्न लागेको हो। ३ लाखमा सामान ढुवानी खर्च पनि सहासले नै बेहोर्ने गरेको छ। अहिलेसम्म एउटा घर पूर्ण रूपमा पुनर्निर्माण भइसकेको छ। १८ वटा घरको डीपीसी स्तरको काम भइरहेको पोखरेलले जानकारी दिए।

स्थानीयको आफ्नै जग्गालाई सट्टापट्टी गरेर सम्याएर एकीकृत बस्ती निर्माणको काम शुरू भएको हो। सातवटा ब्लकमा ५५ घर जामुनेमा निर्माण हुँदै छन्। घर बनाउनका लागि स्थानीयहरू आफैंले श्रमदान गरेका छन्। गाउँका युवाहरू मुग्लान छिरेकाले दक्ष जनशक्तिको अभाव खेपिरहेको छ जामुनेले। ‘गाउँका युवाहरू कोही छैनन् सबै विदेश गएका छन्’, स्थानीय गोविन्द सुनारले भने– ‘गाउँका महिलाहरू र केही कर्मीदाइहरूले काम गर्नुभएको छ।’ गाउँको सबैको एकै खालका घर हुने भएकाले जामुनेका स्थानीय खुसी छन्।

‘हामी सबैको एकै खालका घर हुने भयो’, उनी भन्छन्– ‘को धनी को गरिब सबै एकै। हामीले आँटेर घर बनाउन सक्ने थिएनौं। सरकारले एकैचोटि दिन्थेन रे। हामीलाई सहासले खुसी दिएको छ।’ अहिले खेतीपातीको समय भएकाले जामुनेमा घर निर्माणको काम ठप्प छ। स्थानीयको रोपाइँ सकिएलगत्तै जामुने एकीकृत बस्ती पुनर्निर्माणले गति लिने प्राविधिक पोखरेल बताउँछन्। ‘भिरालो जग्गालाई सम्याएर बस्ती बसाल्न लागिएको हो’, पोखरेल भन्छन्– ‘गाउँलेको सहयोग राम्रो छ काम गर्न सहजै छ।’ सहासले घर निर्माणका लागि आवश्यक काठ पर्याप्त नभएपछि सबै घरमा चाहिने झ्यालढोका काठमाडौंदेखि झिकाइएको छ।

जामुनेमा ८ घर मगर, ८ घर बराम र बाँकी सबै घर दलित बस्ती रहेको छ। २०७३ सालको भदौदेखि निर्माण शुरू भएको जामुने पुनर्निर्माणको काम २०७५ सालको साउनसम्ममा स्थानीयलाई हस्तान्तरण गर्ने योजना रहेको पोखरेलले बताए।

Skip This