आखिर किन छाड्दै छन नेइमारले बार्सीलोना ?


ब्राजिलका पाँच खेलाडीले अहिलेसम्म ८ पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । पहिलो पटक सन् १९९४ मा रोमारिओले जिते । रोनाल्डोले सन् १९९६, १९९७ र २००२ मा वर्ष खेलाडीको अवार्ड जिते ।

रिभाल्डोले सन् १९९९, रोनालडिन्होले सन् २००४ र २००५ तथा काकाले सन् २००७ मा यो अवार्ड जिते । अवार्ड जित्न लायक अर्का ब्राजिलियन खेलाडी हुन् नेइमार । तर उनले अहिलेसम्म फिफा वर्ष खेलाडीमा आफ्नो नाम लेखाउन सकेका छैनन् ।

बार्सिलोना तथा ब्राजिलबाट राम्रो खेलिरहेका नेइमारले अहिलेसम्म वर्ष खेलाडीको अवार्ड नजित्नु एक किसिमको छायाँको प्रभावको रुपमा पनि लिने गरिएको छ । अहिले आएर नेइमार स्पेनिस क्लब बार्सिलोना छोडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी० जाने तयारीमा छन् । आखिर उनी किन पिएसजीको बाटो लाग्दै छन् ?

मेस्सीको छायाँबाट बाहिर निस्कन
नेइमारले सन् २०१३ मा बार्सिलोना आएदेखि विश्व फुटबलमा आफूलाई निकै राम्रोसँग प्रस्तुत गरेका छन् । तर व्यक्तिगत रुपमा निकै महत्वपूर्ण मानिएको अवार्डमा अहिलेसम्म उनले नाम लेखाउन सकेका छैनन् । पछिल्लो दशक अवार्डमा लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको दबदबा छ । नेइमार मेस्सीको छायाँबाट बाहिर आएर विश्व फूटबलमा आफूलाई छुट्टै रुपमा स्थापित गराउन चाहन्छ, त्यसका लागि पिएसजी सार्थक बन्न सक्ने उनको बुझाइ हुन सक्छ । बार्सिलोनामा रहन्जेल मेस्सी नै केन्द्र विन्दुमा रहन्छन् भन्ने नेइमारले बुझेका छन् ।

मेस्सी वा नेइमार मात्रै केन्द्रमा रहनका लागि एकले क्लब छोड्नु पर्ने हुन्थ्यो । मेस्सीले केही समयअघि क्लबसँग नयाँ सम्झौता गरेपछि नेइमारले नयाँ बाटो रोजेको विश्लेषण गर्न सकिन्छ । बार्सिलोनाले अहिलेसम्म पनि नेइमारले क्लब नछोड्ने बताएपनि पिएसजी नेइमारलाई केन्द्रमा राखेर क्लब अघि बढाउन तयार देखिएको छ । आफू केन्द्रमा रहने र आफूलाई थप अवसर आउने कुराले नै नेइमारलाई पिएसजी तानेको विश्लेषण गर्न सकिन्छ ।

बिबिसी