करोडौंको कर छलीको आरोपमा रोनाल्डो


 

मेड्रिड, (एजेन्सी)
करोडौं कर छलेको आरोप लागेका फुटबलर क्रिस्टियानो रोनाल्डो सोमबार स्पेनको अदालतमा उपस्थित भएका छन्।

अधिवक्ताहरूले रोनाल्डोमाथि १ करोड ७३ लाख डलरको कर छलेको आरोप लगाएका हुन्। रिपोर्टका अनुसार रियल मेड्रिडका यी खेलाडी विश्वमा सबैभन्दा धनी खेलाडीसमेत रहेका छन्। पूर्वसुनुवाइपछि उनीबाट वक्तव्य निस्कने आशा गरिए पनि उनी विनाशब्द अदालतबाट बाहिरिएको स्पेनी मिडियाले जनाए।

रोनाल्डोले पहिले नै यी आरोप अस्वीकार गर्दै आएका छन्। ३२ वर्षीय पोर्चुगिज स्टारले उनीमाथिको आरोप निराधार रहेको र उनी निर्दोष भन्दै प्रतिक्रिया दिँदै आएका हुन्। स्पेनी कर अधिकारीद्वारा आरोप लाग्नेमा रोनाल्डो पछिल्ला फुटबलर हुन्। यसअघि अर्जेन्टिना र बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीमाथि यस्तै आरोप लागेको थियो। जुन पछि साँचो ठहरिँदा गतवर्ष मेसीलाई २१ महिनाको जेल सजाय तोकिएको थियो।

मेसी र रोनाल्डोबीचको कर छलेको रकममा रोनाल्डोकै बढी रहेको छ। मेसीमाथि ४१ लाख पाउन्ड कर छलिएको आरोप लागेको थियो भने रोनाल्डो उनीभन्दा १ करोड ६ लाख पाउन्ड बढीको कर छलेको आरोपमा परेका छन्।

मुद्दा सुनुवाइमा गएको अवस्थामा छ यदि रोनाल्डो दोषी ठहरिएमा साढे तीन वर्ष जेलको सजाय तोकिनेछ। स्पेनी अदालतले उनलाई जेल सजायको साथै २ करोड ८० लाख पाउन्डको पनि जरिवाना निर्धारित गर्नेछ।