अलीको ह्याट्रिकले इंग्ल्यान्डको जित

0
Shares

 

लन्डन, (एजेन्सी)
मोइन अलीले ह्याट्रिक गरेपछि इंग्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट २ सय ३९ रनले जितेको छ।

स्पिनरले ओभल मैदानमा डीन एल्गारलाई स्लिपमा क्याच गराएर आउट गरे भने कागिसो राबाडालाई सोहीअनुरूप आउट गरेका थिए। त्यसपछि मोर्ने मोर्केललाई रिभ्युबाट एलबीडब्ल्यूको धरापमा पारेर अलीले ह्याट्रिक बनाएका थिए। एल्गारले १ सय ३६ रन जोड्दा दक्षिण अफ्रिकी टोली मात्र २ सय ५२ रनमा अलआउट भएको थियो। इंग्ल्यान्डले ४ सय ९२ रनको लक्ष्य दिएको थियो।

अली ४५ रन खर्चेर चार विकेट लिन सफल भएका थिए। यो जितसँगै घरेलु टोली इंग्ल्यान्ड सिरिजमा २–१ को अग्रतामा रहेको छ। चौथो टेस्ट ओल्ड ट्राफोर्डमा खेलिनेछ। जुन शुक्रबारदेखि शुरू हुनेछ। दक्षिण अफ्रिकाका लागि सो टेस्ट जित्नै पर्ने दबाब छ भने इंग्ल्यान्डका लागि ड्रले पनि सिरिज जित्ने पक्का छ। दक्षिण अफ्रिकाले इंग्ल्यान्डमा टेस्ट सिरिज लगातार तेस्रो पटक जित्न नसक्ने भएको छ। टोलीले चौथो टेस्ट जिते पनि सिरिज बराबर हुनेछ भने हारेमा १९९८ पछि पहिलो पटक सिरिज गुमाउने स्थिति पनि रहेको छ।

दक्षिण अफ्रिका सात विकेटको क्षतिमा २ सय ५२ रनमा थियो। जब अलीले लन्चपछि उनको १५औं ओभरको बलिङ गरे त्यसपछि इंग्ल्यान्ड खेलमा फर्किएको थियो। एल्गारले लुज सट हान्दै स्लिपमा बेन स्टोक्सलाई क्याच थमाए। उनी आउट भएलगतै दक्षिण अफ्रिकाको आशा समाप्त भएको थियो। अर्को बलमा राबाडाले स्टोक्सलाई क्याच दिएर पवेलियन फर्के भने अली ह्याट्रिक निकट थिए। उनले मोर्केललाई रिभ्युमार्फत् एलबीडब्ल्यूको शिकारमा पारे।