चिकित्साशिक्षा विधेयकबारे छलफल हुने

0
Shares

 

काठमाडौँ, १६ साउन । सरकारी वार्ता टोली र अनशनरत प्रा डा गोविन्द केसी पक्षबीच आजको वार्तामा चिकित्साशिक्षा विधेयकबारे सम्बन्धित मन्त्री र संसदीय समितिबीच थप छलफल गर्ने समझदारी भएको छ ।

आजको वार्तामा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले डा केसीको प्रमुख मागका विषय बनेको चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा बृहत् छलफल गर्नका लागि स्वास्थ्य मन्त्री र संसदीय समितिका सभापतिसँग मंगलबार बैठक आयोजना गर्ने समझदारी भएको बताउनुभयो ।

सो छलफलका लागि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संसद्को महिला बालबालिका ज्येष्ठ नागरिक समाजका सभापति रञ्जुकुमारी झा, तत्कालीन माथेमा आयोगका प्रतिवेदन तयारीमा मुख्य भूमिका खेल्ने पदाधिकारीसहितको बैठक भोलि मंगलबार बस्ने शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो ।

केसी पक्षका वार्ता टोली सदस्य डा अभिषेकराज सिंहले आजको वार्तामा मुख्य विषय चिकित्सा शिक्षा विधेयक र त्रिविका दुई पदाधिकारी बर्खास्त गर्ने विषयमा छलफल नभएकाले मंगलबारका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।

चिकित्सा शिक्षा विधेयक पारितलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा केसी गत ९ गतेदेखि शिक्षण अस्पताल महाराजगन्जमा ११ औँ पटक आमरण अनशनमा हुनुहुन्छ । रासस