मदिरा र जुवातास बन्द गर्नुपर्ने भन्दै श्रीकोटका महिला आन्दोलित

0
Shares

नेपाल समाचारपत्र, बैतडी ।
मदिरा र जुवातासले महिला तथा बालबालिकाहरुमाथि हुने हिंसाका घटनामा वृद्धि हुन थालेपछी बैतडीका महिलाहरु नियन्त्रण गर्न अभियानमा जुटेका छन ।

मदिरा र जुवातासले गाँउमा महिला हिंसाका घटना बढेको भन्दै मदिरा बेचबिखन बन्द गर्नुपर्ने माग राख्दै बैतडीको दोगडाकेदार ३ श्रीकोटका महिला आन्दोलित भएका छन ।

मदिरा र जुवातासले महिला तथा बालबालिकाहरुमाथि हुने हिंसामा वृद्धि हुन थालेको भन्दै संघर्षसमिति गठन गरी आन्दोलित भएका हुन ।

लक्ष्मी ओड अध्यक्षतामा महिला जागरण उत्थान समुह गठन गरेर आज डाङ, खोचलेक ,सिल्लेगडा हुदै घोडेधारसम्म नाराजुलुस सहित मदिरा र जुवातास बन्द गनुपर्ने माग गरेका हुन । करिव २०० बढी महिलाले दोगडाकेदार ३ श्रीकोटको वडा कार्यालय पनि घेराउ गरेको समुहका अध्यक्ष लक्ष्मी ओडले जानकारी दिनुभयो ।

आज पहिलोे दिन नाराजुलुससहित वडा कार्यालय घेराउ गरेको र भोली वडा कार्यालयमा मदिरा तथा जुवातास बन्द गनुपर्ने भनेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । आफुले राखेको मागको सम्वोधन नभएको जस्तोसुकै आन्दोलन गर्न तयार रहेको समेत श्रीकोटका महिलाले बताएका छन ।

दोगडाकेदार गाउँपालिका वडा नम्वर ३ का महिला वडा सदस्य हेमा कपाडी(भट्ट)ले महिलाहरुको मागलाई एक्यवद्घता जनाउदै यसको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

मदिरा तथा जुवातासले महिलामाथि हिंसा बढ्दै गएकोले महिलाको मागलाई आफुले सकारात्मक रुपमा लिएको दोगडाकेदार ३ श्रीकोटका वडा अध्यक्ष चन्द्रदेव जोशीले बताउनुभयो । महिलाको मागलाई सम्वोधन गर्न तयार रहेको समेत वडा अध्यक्ष जोशीले बताउनुभयो ।