डोलेश्वरमा अत्याधिक भक्तजनको भीड

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर । साउनको तेस्रो सोमबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भिड अन्य सोमबार भन्दा अत्याधिक रहेको छ । भगवान् शिवको आराधना, तीर्थ र व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको हो ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतले साउन महिनाको तेस्रो सोमबार भक्तजनहरुको चाप अत्याधिक रहेको भन्दै मन्दिरको गुरुयोजना कार्यान्वयन तर्फ अगाडि बढिरहेकाले सोचे जस्तो भक्तजनहरुका लागि उचित प्रबन्ध मिलाउन नसकेता पनि चापलाई ध्यान दिएर सक्दो ब्यवस्था मिलाई रहेको बताउनु भयो ।

मेलामा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजन दर्शन गर्न आएका छन् । मन्दिरमा बिहान ३ बजेदेखि भक्तजन पूजाआजा तथा मन्दिर दर्शनका लागि लाइनमा पालो कुरिरहेका थिए ।

साउनको महिनासँगै हरेक बर्ष श्रावणी मेला लगाउँदै आएको डोलेश्वर मन्दिरमा यो वर्ष पनि ३८ दिने साउने मेला सञ्चालनमा रहेको छ । मेलामा उपस्थित भक्तजनहरुले चढाएको भेटी रकमले मन्दिरको गुरुयोजना कार्यान्वयनमा थप आर्थिक भार सहज हुने समेत समितिले जनाएको छ ।
विसं २०६६ भदौ ६ गते केदारनाथको शिर घोषणा गरेपछि हरेक वर्षको साउन महिनाभर मन्दिरमा पूजापाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।