कालीगण्डकीको तिरदेखि गलेश्वर मन्दिरसम्म बोलबम यात्रा (फोटो फिचर)

0
Shares

प्रताप बानियाँ, म्याग्दी । साउनको तेस्रो सोमबार आज म्याग्दीको सदरमुकाम बेनीबजारदेखि बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरसम्म बोलबम यात्रा भएको छ । म्याग्दी र कालीको सङ्गमस्थल पवित्र कालीगण्डकी नदीको जल लिएर गलेश्वर शिवालय मन्दिरसम्म बोलबम (जलयात्रा) गरिएको हो ।

विशेषगरी ईन्डियादेखि विभिन्न कामको सिलसिलामा म्याग्दी आई आफ्नो पेशा र व्यवसायमा संलग्न हिन्दुधर्मावलम्बीहरुले जलयात्राको आयोजना गरेका हुन् । बोलबम काँवरिया संघ बेनी, म्याग्दीको संयोजनमा म्याग्दीको बेनीदेखि गलेश्वरसम्म कालीगण्डकी नदीको जल लिएर खाली खुट्टा बोलबम यात्रा गरिएको संघले जनाएको छ ।

पवित्र कालीगण्डकी नदीको जल लिएर खाली खुट्टा हिँड्दा मन शान्ति हुने, समाजमा सकारात्मक सन्देश जाने र भगवान् शिवजीले सबैको रक्षा गर्ने विश्वासका साथ जलयात्रा गरिएको बोलबम काँवरिया संघ म्याग्दीका सचिव सञ्जय ठाकुरले बताउनुभयो । उहाँका अनुसार जलयात्रामा इन्डियादेखि बेनी आएका ठाकुर जाति, स्थानीयसहित हिन्दुधर्ममा आस्था राख्नेहरुले सहभागिता जनाएका छन् । निरन्तर रुपमा प्रत्येक वर्ष साउन महिनाको सोमबारका दिन बोलबम यात्रा गर्ने गरिएको सचिव ठाकुरले जानकारी दिनुभयो ।

यात्रामा सहभागीहरुले शुद्ध र चोखो भई कालीगण्डकीको जलले नुहाएर ‘बोल….बम…..बोल……..बम’ भन्दै धार्मिक गीतसङ्गीतमा नृत्य गरी गलेश्वर मन्दिरसम्म यात्रा गरेका छन् । उनीहरुले गलेश्वरमा पुगेपछि शिवालय मन्दिरको परिक्रमा गरी १०८ शिवलिङ्गमा कालीगण्डकी नदीबाट लिएर आएको जलअर्पण गरी पुजाआजा गरेको बताएका छन् । यसअघि बोलबम यात्रीहरुले बेनीस्थित भगवती मन्दिर, बेनी शिवालय र बेनीबजार तथा पर्वत बेनीमा समेत बोलबम यात्रा गरेका थिए ।

यसैबीच साउनको तेस्रो सोमबार पनि प्रसिद्ध गलेश्वर मन्दिर र बेनी शिवालयमा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । गलेश्वरमा यसवर्ष पनि विगतका वर्षमा झैं म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन, काठमाडौं, नवलपरासी, बाँके, बर्दिया लगायतका जिल्लाहरुबाट तीर्थयात्रीहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष पण्डित भीमनाथ पराजुलीले जानकारी दिनुभएको छ ।

खासगरी साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको प्रिय महिनाका रुपमा मानिने हुँदा यस समयमा पुजाआजा गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहिआएको छ । साउन महिनाको सोमबारमा हरियो चुरासहितको पहिरनमा सजिएर विवाहित महिलाहरु श्रीमान्को दिर्घायु र अविवाहितहरु योग्य बरको कामनासहित शिवालय जाने गर्दछन् ।